फाल्गुनन्द सुकिलुम्बामा तारा एयरको उडान शुरू

नेपालभ्युज

फाल्गुनन्द सुकिलुम्बामा तारा एयरको उडान शुरू

इलाम । तारा एयरले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा व्यवसायिक उडान शुरू गरेको छ। विमानस्थलको धावनमार्ग सम्पन्न भएपछि एयरलाइन्सले आज (बुधबार)बाट व्यवसायिक उडान भरेको हो।

तारा एअरको नाईन एनएलओ टुइनअटर वायुयान बिहान १०ः४० बजे त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थलबाट उडेर ११ः२७ मा सुकिलुम्बा एअरपोर्टमा अवतरण गरेको थियो।

तारा एअरले नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका र पर्यटन व्यवसायीको सहकार्यमा यो उडान गरेको एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनुज रिमालले बताए। उनले निरन्तर उडानका लागि समेत प्रतिवद्ध रहेको बताए।

प्रमुख कार्यकारी अधिकृत रिमालले भने, ‘कमर्सियल फ्लाइट आजबाट शुरु भएको छ, त्यसलाई निरन्तरता दिनेछौँ । तपाईहरुको उपस्थिती, जहाज आउँदाको उत्सुकता देखेँ, मलाई झनै प्रतिवद्ध हुने उत्सुकता जाग्यो। इलामवासीको साथ र सहयोग भए निरन्तर उडान भर्न सकिन्छ।’
त्यस्तै तारा एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले विभिन्न पर्यटन व्यवसायी, पर्यटन बोर्ड र इलाम नगरपालिकाको सहकार्यमा मात्र उडान सफल भएको बताए। उनले आगामी दिनमा निरन्तर उडान भर्नका लागि अध्ययन भइरहेको र इलामवासीले सहयोग गरेर निरन्तर उडानलाई सहजता प्रदान गर्ने विश्वास रहेको बताए। उनले अबका दिनमा सो विमानस्थलमा आईतबार र बिहीवार दुई दिनको लागि उडान तालिका बनाएको पनि बताए।

प्रवक्ता बर्तौलाले भने, ‘इलामको फाल्गुनन्द सुकिलुम्बा एयरपोर्टको पिच गरिसकेपछि पहिलो व्यवसायिक उडान गर्न पाएकोमा तारा एयर एकदम हर्षित छ। यो फ्लाइट तारा एयर एक्लैको हिलमा भएको होइन। विभिन्न पर्यटन व्यवसायी, पर्यटन बोर्ड र इलाम नगरपालिकाको सहकार्यमा सबैको संयुक्त प्रयासले व्यवसायिक उडान गर्न सफल भएका छौँ। यहाँ उडान आजबाट शुरुवात भएपनि तारा एयरले आईतवार र बिहीवार दुई दिनको लागि सेड्युल राखेका छौँ। किनभने नगरपालिकाको अनुरोध अनुसार आईतवार आउनुभएका पर्यटक बिहीबार फर्किने र बिहीबार पुगेकाहरु आइतबार फर्किने भएकोले त्यही हिसावले सेड्युल मेन्टेन गरेका छौँ । यसलाई निरन्तर सञ्चालनका लागि नगरपालिका, मेयरसाबहरु सबै लागिरहनु भएको छ। निरन्तर उडान गर्ने हाम्रो योजना छ।’

पहिलो व्यवसायिक उडानमा पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, टानका अध्यक्ष अच्युत गुरागाई, होटल एशोसिएशनका उपाध्यक्ष विनायक शाहसहितका पर्यटन व्यवसायीलगायत यात्रु तथा तारा एअरका प्राविधिक टोली गरी १४ जना सहभागी थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved