सात महीनामा १० खर्ब नाघ्यो व्यापार घाटा

नेपालले यस अवधिमा भारतसँग मात्रै पाँच खर्ब ८९ अर्ब ८८ करोड ६० लाख रुपैयाँ बढीको व्यापार घाटा व्यहोरेको छ।

सात महीनामा १० खर्ब नाघ्यो व्यापार घाटा

काठमाडौं। चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महीनामा मुलुकको व्यापार घाटा १० खर्ब रुपैयाँ नाघेको छ। यस अवधिमा एघार खर्ब बढीको आयात हुँदा ३८ दशमलव ४५ प्रतिशतले व्यापार घाटा बढेको छ।

चालु आवको सात महीनामा नेपालले १० खर्ब १५ अर्ब ८० करोड ८४ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार घाटा व्यहोरेको छ। गत आवको सोही अवधिमा नेपालको व्यापार घाटा सात खर्ब ३३ अर्ब ७२ करोड ६१ लाख रुपैयाँ थियो।

नेपालले यस अवधिमा भारतसँग मात्रै पाँच खर्ब ८९ अर्ब ८८ करोड ६० लाख रुपैयाँ बढीको व्यापार घाटा व्यहोरेको छ। भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ। चीनबाट सात महीनामा एक खर्ब ६५ अर्ब २३ करोड ७७ लाख रुपैयाँ बराबरको आयात भएको छ भने ४८ करोड ७९ लाख १५ हजार रुपैयाँको मात्र निर्यात भएको छ। चीनसँग मात्र मुलुकको व्यापार घाटा एक खर्ब ६४ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ रहेको छ।

चालु आवको सात महीनामा आयातमा वृद्धि भएको छ। सात महीनामा ४२ दशमलव ७८ प्रतिशतले आयातमा वृद्धि हुँदै  ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख रुपैयाँभन्दा बढीको आयात भएको छ। तथ्यांकअनुसार गत आवको सोही अवधिमा  आठ खर्ब तीन अर्ब ६४ करोड ३१ लाख बढीको आयात भएको थियो।

नेपालमा १४५ देशबाट रु ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख बढीको आयात भएको छ। तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ। सात महीनामा नेपालले भारतबाट रु छ खर्ब ९६ अर्ब २४ करोड ४३ लाख बढीको आयात भएको छ भने रु एक खर्ब छ अर्ब ३५ करोड ८३ लाख बराबरको निर्यात भएको छ।

यस अवधिमा निर्यात पनि बढेको छ। भन्सार विभागद्वारा आज सार्वजनिक तथ्यांकअनुसार ८८ दशमलव ३० प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको हो।

सात महीनामा एक खर्ब ३१ अर्ब ६५ करोड ६० लाख रुपैयाँ बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ। गत आवको सोही अवधिमा नेपालबाट ६९ अर्ब ९१ करोड १७ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved