मुख्यमन्त्री भट्टको गुनासो : संघीय सरकारको पनि मनलाग्दी भयो

नेपालभ्युज

मुख्यमन्त्री भट्टको गुनासो : संघीय सरकारको पनि मनलाग्दी भयो

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संघीय सरकारको मनलाग्दी भइरहेको बताएका छन्। ७२ औँ प्रजातन्त्र दिवसको अवसरमा प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा उनले संघीय सरकारले साझा अधिकारका कानून निर्माणमा ढिलाइ गरेको र आफूअनकूल मनलाग्दी गरिरहेको आरोप लगाए।

“अहिले संघीय सरकारको पनि मनलाग्दी भइरहेको छ,” उनले भने, “प्रदेश सरकारमा आउने कर्मचारी कति बेला आउँछन् कति जान्छन् त्यो हामीलाई थाहा नै हुँदैन। संघीय सरकारको मन लाग्यो भने राख्छ मन लागेन भने राख्दैनन्। त्यस कारण म यही प्रजातन्त्र दिवसको अवसरमा संघीय सरकारलाई आग्रह गर्दछु। साझा अधिकारका विषयहरूलाई छिटोभन्दा छिटो कार्यान्वयन गर्दा नै सबैभन्दा उचित हुन्छ।”

कार्यक्रममा उनले प्रदेश गठन भएको चार वर्ष भइसक्दा पनि साझा अधिकार कार्यान्वयन नहुँदा सोचेअनुसार काम हुन नसकेको बताएका हुन्। प्रदेश सरकार गठन भएको लामो समय बितिसक्दा पनि साझा अधिकार नभएकै कारण प्रहरी समायोजन, कर्मचारी भर्ना गर्न नसकेको पनि बताए।

“संविधानले एकल र साझा अधिकार हामीलाई दिएको छ। अहिले पनि साझा अधिकारका कानुन बन्दा केही काम गर्न असहज भएको छ,” उनले भने, “जसका कारण हामीले प्रदेश सरकार गठन भएको लामो समय बितिसक्दा पनि प्रहरी समायोजन, कर्मचारी भर्नाजस्ता कार्यहरू गर्न सकिरहेका छैनौ।”

अहिले प्रदेश सरकारले तीन वटा सरकारका एकल अधिकार प्रयोग गरिरहेको र संघीय सरकार सुस्त भएकै कारणले प्रदेश सरकारले विभिन्न समस्या भोगिरहेको बताए। “अहिले हामी एउटा सोचले काम गरिरहेका छौँ। एकात्मक सोच। त्यो सोचको अन्त्य नगरीकन हामीले नागरिकलाई सेवा र सुविधा दिन सक्दैनौँ,” उनले भने।

सुदूरपश्चिम प्रदेश विकासमा विगतदेखि नै विकासमा पछाडि परेको स्मरण गराउँदै मुख्यमन्त्री भट्टले प्रदेशमा धेरै प्राकृतिक स्रोत भए पनि साधन स्रोत नभएकै कारणले प्राकृतिकलाई परिचालन गर्न नसकेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved