प्रचण्डको दबाबले पछि हटे देउवा, सत्तागठबन्‍धन चरम संकटमा

प्रचण्डको दबाबले पछि हटे देउवा, सत्तागठबन्‍धन चरम संकटमा

काठमाडौं । बुधबार जसरी पनि प्रतिनिधिसभामा एमसीसी टेबल गर्ने मुडमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी अध्यक्ष प्रचण्डको काउन्टरपछि एकाएक ब्याक भए। प्रचण्डले बुधबार विहानै माओवादी केन्द्रको संसदीय दलको बैठक गरेर एमसीसीको विपक्षमा उभिने निर्णय मात्रै गरेनन्, कांग्रेसले एक्लौटी रुपमा एमसीसी अगाडी बढाए सरकारवाटै बाहिरिने निर्णय समेत गरे।

संशोधन बिना एमसीसी अगाडी बढाउन नहुने, एमसीसीमा राष्ट्रिय सहमतिको खोजी गर्नुपर्ने र सत्ताघटकमध्ये कसैले एकलौटी एमसीसी अघि बढाए सरकारबाट बाहिरिने माओवादीको निर्णय थियो। यस निर्णयपछि प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन्। जसरी पनि एमसीसी टेबल गर्ने मुडमा रहेका प्रधानमन्त्री देउवा प्रचण्डको यस कदमपछि एकाएक ब्याक भए, जसकारण संसद्मा एमसीसी बुधबार टेबल भएन।

भेटपछि प्रधानमन्त्रीले बिहीबारका लागि सर्वदलीय बैठक बोलाएका छन्। कानूनमन्त्री दिलेन्द्रप्रसाद बडुका अनुुसार प्रचण्डले सर्वदलीय बैठकको प्रस्ताव राखेका थिए, उनले शुक्रबारको संसद् बैठकमा एमसीसी टेबल हुने बताए। ‘६ गतेको बैठकमा हामी अब एमसीसी टेबल गर्नै पर्छ भन्नेमा छौ’ बडुले भने, ‘त्यतिबेलासम्म हामी पुनः सत्तागठबन्धनदेखि प्रतिपक्षी एमालेसँग छलफल गर्ने प्रयासमा छौं।’

सत्तागठबन्धनमा खतरा

यद्यपी, सत्तागठबन्धनभित्र सहमति हुने सम्भावना न्युन देखिएको छ। पछिल्ला केहि समययता एमसीसीबारे लगातार छलफल हुँदै आएपनि सत्ता घटकहरू फरक–फरक अडानमा छन्। सत्तारुढ प्रमुख दल नेपाली कांग्रेस जसरी पनि एमसीसी टेबल गरेर अघि बढ्नु पर्ने पक्षमा छ भने माओवादी केन्द्र र नेकपा एस संशोधन नगरी एमसीसी पास नगर्ने अडानमा छन्।

त्यसैगरी, राष्ट्रिय जनमोर्चाले कुनै हालतमा एमसीसी पास गर्न नहुने अडान राखेको छ। जसपा नेपालमा पनि एमसीसीलाई लिएर दुुई धार देखिएको छ। संघीय परिषद् अध्यक्ष बाबुराम भटराई एमसीसी पास गर्नुपर्ने पक्षमा छन् भने उपेन्द्र यादव पक्षले यथास्थितीमा पास गर्न नहुने अडान राखिरहेको छ।

प्रतिपक्षी एमाले भने मौन छ। सभामुखको भूमिकालाई लिएर संसदमा विरोध गर्दै आएको एमालेले एमसीसीबारे सत्तागठबन्धनका दलहरूबीच समान धारणा आएपछि मात्रै आफ्नो धारणा अघि सार्ने बताइरहेको छ।
यसरी एमसीसीले सत्तागठबन्धनलाई बिस्तारै गम्भीर मतभेदतर्फ अगाडी बढाउँदै लगेको देखिन्छ। माओवादी केन्द्रको बुधबार बिहानको निर्णयले गठबन्धन भत्कने संभावना पनि बढाएको छ।

गत आइतबार कांग्रेस, माओवादी र नेकपा एसले प्रधानन्याधिशमाथि महाभियोग लगाएपछि राजनीतिक वृत्तमा एमसीसी टेबल गर्न पनि यी दलहरूबीच सहमति जुटेको हुनसक्ने अनुमान लगाइएकोे थियो। कांग्रेस नेताहरुले माओवादी र नेकपा एस अनुपस्थित भएर पनि एमसीसी पास गराउन सकिन्छ भन्ने अभिव्यक्ती दिएपछि त्यस्तो अनुमानमा बल पुगेको थियो।

तर, मंगलबार साँझ संसद् सचिवालयले जारी गरेको बुधबारको प्रतिनिधिसभा बैठकको कार्यसूचिमा एमसीसी थिएन, जसकारण सहमतिको अनुमान गलत हुनसक्ने अर्कोथरीको विश्लेषण थियो।

कांग्रेसको जोडबल

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले मंगलबार साँझ पार्टी कार्यलयमा पत्रकारहरुसँग कुरा गर्दै बुधबार बस्ने कार्यसम्पदान परामर्श समितिको बैठकपछि एमसीसी टेबल हुने दाबी गरेका थिए । महतको उक्त दावीले एमसीसी अगाडी बढाउन कांग्रेस सभापति तथा प्रधानमन्त्रीले हतार गरिरहेको प्रस्ट हुन्थ्यों।

तर, बुधबार सभामुखले बोलाएको कार्यव्यस्था परामर्श समितिको बैठक अगावै माओवादी संसदीय दलले एमसीसी यथास्थितीमा पास नगर्ने निर्णय गरेपछि प्रधानमन्त्री ब्याक भए। यद्यपी, कार्यव्यस्था परामर्श बैठकमा कानूनमन्त्री दिलेन्द्रप्रसाद बडु र कांग्रेस प्रमुख सचेतक पुष्पा भुुसालले एमसीसी टेबल गर्नुपर्ने आफनो पार्टीको निर्णयबारे जानकारी दिएका थिए। यसका बाबजुद सभामुखले त्यसलाई कार्यसुचिमा चढाउन मानेनन्।

माओवादी प्रमुख सचेतक देव गुुरुङले एमसीसीको विषयमा राष्ट्रिय सहमतिको खाँचो रहेको बताए। ‘यसमा परिमार्जनको कुुरा हामीले सुुरुदेखि नै उठाउँदै आएका छौ’ गुुरुङले भने, ‘जर्बजस्ती गरेर हुँदैन ।’
बुधबार एमसीसीको विरोधमा भएको सडक प्रदर्शनमा देखिएको माओवादी संलग्नताले पनि एमसीसी रोक्न माओवादीले सिर्जना गरिरहेको दबाबको संकेत गरेको थियो, माओवादी नेता नारायणकाजी श्रेष्ठ बुुधबार बानेश्वरमा भएको प्रदर्शनमा उपस्थित भएका थिए।

एमसीसीविरुद्ध गलत अभिव्यक्ति दिएर माओवादीसहितका पक्षहरु जनता भड्काउन लागिरहेको कानूनमन्त्री बडु बताउँछन्। यसका बाबजुद सहमतिका लागि प्रयास गरिने उनले बताए। ‘हामी पुुन सहमतिको प्रयास त गर्छौ। तर अन्य दलहरु सहमत नभए पनि हामी आफनो अडान अनुसार अगाडी बढ्छौ’ बडुले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved