पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नेपालभ्युज

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सांकेतिक तस्वीर।

जनकपुरधाम । धनुषामा पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ भने एक युवक घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय ढल्केवरले जनाए अनुसार शुक्रबार राति पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका–५ ढल्केवरस्थित पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २-०२-००३ प ६४७२ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको पिकअपले ठक्कर दिँदा दुर्घटना भएको थियो। ठक्कर दिने पिकअप फरार रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर मोटरसाइकल चालक धनुषाको मिथिला नगरपालिका-६ ढल्केवरका अन्दाजी १८ वर्षीय मनीषकुमार थापा र मोटरसाइकलमा सवार सोही ठाउँका अन्दाजी १७ वर्षीय प्रेशिस थापा गम्भीर घाइते भएका थिए।

घाइते दुवै जनालाई विराटनगर स्थित न्यूरो अस्पतालमा उपचारार्थ लगेकोमा प्रेशिसको उपचारको क्रममा राति साढे १२ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए। उनका अनुसार अर्का घाइते मनीषको उपचार विराटनगरमा सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ।

ठक्कर दिने पिकअप सेतो रंगको रहेको भन्ने खुलेकाले एउटा पिकअपलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved