बागमती प्रदेशमा स्थानीय निर्वाचनको तयारी तीव्र

बागमती प्रदेशमा स्थानीय निर्वाचनको तयारी तीव्र

काठमाडौं। निर्वाचन कार्यालय बागमती प्रदेशले स्थानीय तहको निर्वाचनको तयारी शुरु गरेको छ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचन एकै चरणमा गर्ने सरकारको निर्णय आएसँगै प्रदेश तथा जिल्लास्थित कार्यालयहरूले पनि निर्वाचनको तयारी शुरु गरेका छन्। सामान्यतः १२० दिनको समय आवश्यक पर्ने भए पनि ९५ दिनमा नै निर्वाचन गराउने गरी तयारी शुरु गरिएको निर्वाचन कार्यालय बागमती प्रदेशकी सूचना अधिकारी सम्झना ढकालले जानकारी दिइन्।

निर्वाचन कार्यालयले अहिले मतदाता नामावली रुजु गर्ने काम गरिरहेको उनले बताइन्। “केही समय अघि हामीले मतदाता नामावली संकलनको अभियान नै लिएर सबै पालिकाहरूमा पुगेका थियौं,” उनले भनिन्,”अहिले त्यसरी संकलित मतदाता नामावली रुजु गर्ने काम भइरहेको छ। मतदाता नामावली संकलनको काम भने रोकिएको छ। निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली संकलनको काम रोकिएको हो।”

मतदाता नामावली संकलनको क्रममा नै धेरै त्रुटिहरू देखिएको उनले बताइन्। राजनीतिक दलहरूले यसमा ध्यान नदिँदा समस्या देखिएको कार्यालयको आरोप छ। “कतिपय नामावलीहरू दोहोरिएको छ। यसमा दलका नेताहरू आफैंले दोहोरो नामावली संकलन गराउन मतदाताहरूलाई ल्याएको देखियो,” उनले भनिन्,”केही अन्य त्रुटिहरू पनि छन्। त्यो सच्याउन समय लाग्छ। यसो हुँदा कति मतदाता थपिए भन्ने एकिन रिपोर्ट प्राप्त गर्न समय लाग्छ।” २ देखि ३ साताभित्र मतदाताहरूको नामावली प्राप्त भइसक्ने निर्वाचन कार्यालय बागमती प्रदेशले जनाएको छ।

हतारोमा कार्यालय

निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन कार्यालयले निर्वाचनसम्बन्धी कामको चाप थपिएको जनाएको छ। “अन्य अवस्थामा यहाँ भएका कर्मचारीहरू नै पर्याप्त हुन्छन्। फुर्सदमा नै पनि हुन्छन्,” सूचना अधिकारी ढकालले भनिन्, “तर निर्वाचनको मिति घोषणा भए पछि यहाँ भएका कर्मचारीहरू नै अपुग हुन्छ। नयाँ कर्मचारीहरू निर्वाचनको समयमा मात्रै आउँछन्। बाँकी तयारी यहीँ रहेका कर्मचारीहरूले गर्नु पर्छ। त्यो हुँदा कामको चाप अत्यन्त रहन्छ।”

स्थानीय तहको निर्वाचन हुने बित्तिकै मतदाता नामावली संकलनको कामलाई नियमितता दिने हो भने कार्यलयलाई चाप नपर्ने ढकाल बताउँछिन्।मतदाता नामावली संकलनबारे जनस्तरसम्म सचेतनाको कमी भएको कारणले गर्दा पनि दोहोरिनेको संख्या धेरै भएको उनले बताइन्।

राजनीतिक दल तथा निर्वाचन कार्यालयकै पनि यसमा केही कमजोरी रहेको ढकाल स्विकार्छिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved