कांग्रेसलाई गठबन्धनभन्दा एमसीसी प्यारो, कार्यसम्पादन समिति बैठकमा सबै एकमत

नेपालभ्युज

कांग्रेसलाई गठबन्धनभन्दा एमसीसी प्यारो, कार्यसम्पादन समिति बैठकमा सबै एकमत

काठमाडौं। नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा एमसीसीका विषयमा गहन छलफल भएको छ। पूर्वाधार विकास, सडक र विद्युत् प्रशारण लाइन विस्तारका लागि एमसीसी उपयोगी रहेको भन्दै एमसीसी नेपालका लागि आवश्यक रहेको नेताहरूले बताएका छन्।

एमसीसी पारित गर्ने विषयमा कांग्रेसभित्र सबै एकमत देखिएका छन्। आज बसेको कार्यसम्पादन समितिको बैठकमा नेताहरू एमसीसीका विषयमा एकमत देखिएका हुन्। एमसीसी पारित गर्ने पक्षमा अधिकांश कार्य सम्पादन समितिका नेता देखिँदा गठबन्धन भंग हुने अवस्थामा पनि उनीहरू एमसीसीलाई अघि बढाउनुपर्ने पक्षमा रहेका थिए।

बैठकमा नेपाली कांग्रेसका नेता डा राम शरण महतले एमसीसीका विषयमा जनतामा रहेको भ्रम चिर्ने काम कांग्रेसले गर्नुपर्ने बताए। “जनतामा एमसीसीका विषयमा रहेको असमझदारी हटाउने काम कांग्रेसले गर्नुपर्छ,” महतले भने।

यस्तै बैठकमा स्थानीय तहको निर्वाचन, भ्रातृ संस्थाको निर्वाचनलगायत विषयमा पनि छलफल भएको थियो।

कार्यसम्पादन समितिको बैठककमा स्थानीय तहको निर्वाचनमा पार्टीले एक्लै प्रतिस्पर्धा गर्नुपर्ने पूर्वमहामन्त्री डा शंशाक कोइरालाको जोड थियो। भने, “भ्रातृसंस्थाको निर्वाचनका हकमा केहीको निर्वाचन स्थानीय तहको निर्वाचनअघि र केहीको पछि गर्ने विषयमा पनि छलफल भएको छ।”

आजै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी पार्टीनका अध्यक्ष माधव नेपालले एमसीसी पारित गर्न नसकिने प्रस्ट पारेका थिए।

गठबन्धन दलका दुई प्रमुख नेताले एमसीसी निर्वाचनअघि यथास्थितिमा पारित गर्न नसकिने बताउँदै गर्दा कांग्रेसको कार्य सम्पादन समिति भने गठबन्धन जोगाउनभन्दा एमसीसी पारित गर्ने पक्षमा उभिएको हो।

गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चा एमसीसीको विरोधमा सडकमा उत्रिसकेको छ। १ फागुनबाट नेकपा एकीकृत समाजवादी पार्टी पनि प्रदर्शनमा जाने भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved