वर्षाले कैलाली कञ्चनपुरका इँटा उद्योग र बालीनालीमा ठूलो नोक्सान

वर्षाले कैलाली कञ्चनपुरका इँटा उद्योग र बालीनालीमा ठूलो नोक्सान

धनगढी। हिउँदे वर्षाका कारण सुदूरपश्चिम प्रदेशका इँटा उद्योगमा ठूलो नोक्सानी भएको छ।

बिहीबार र शुक्रबार परेको हिउँदे झरीका कारण कैलाली कञ्चनपुरका इँटा व्यवसायीको करिब १४ देखी १५ करोड रुपैयाँ बराबरको काँचो इँटा र पकाउन रोखेको इँटा कामै नलाग्ने गरी नष्ट भएको छ।

सुदूरपश्चिम प्रदेश इँटा व्यवसायी संघका अनुसार प्रदेशमा रहेको ७० वटा फिक्स चिम्नी इँटा उद्योगका काँचो इँटालाई पानीले क्षति गरेको छ। झण्डै ४० देखि ५० लाख काँचो इँटा वर्षाले नष्ट भएको संघका अध्यक्ष वीरबल विकले जानकारी दिए। धेरथोर गरेर प्रायः सबै इँटा उद्योगमा रहेको काँचो इँटा नष्ट भएको उनले बताए।

घाममा सुकाउनका लागि राखिएका इँटा पानीले डुबेपछि कामै नलाग्ने भएको भन्दै अध्यक्ष विकले ७० वटै इँटा उद्योगमा गरी करिब १४ करोड रुपैयाँ बराबरको इँटा नोक्सान भएको बताए। “यो बेला भनेको इँटा उत्पादन र पकाउने सिजन हो,” उनले भने,  ‘यही बेला भएको वर्षाले हामीलाई ठूलो नोक्सान भएको छ।”

प्रदेशको कैलाली र कञ्चनपुरमा गरी दुई जिल्लामा इँटा उत्पादन उद्योग सञ्चालन हुँदै आएको छ। कैलालीमा ३० र कञ्चनपुरमा ४० वटा फिक्स चिम्नी इँटा उद्योग रहेका छन्। ७० वटा इँटा उद्योगमा करिब तीन अर्ब रुपैयाँसम्म लगानी भइसकेको जनाइएको छ।

एउटै इँटा उद्योग करिब तीनदेखि पाँच करोड रुपैयाँसम्म लगानी गरेर सञ्चालनमा आएका छन्। त्यसमा नेपाल–भारतका गरी झण्डै सात हजार कामदारले रोजगारी पाएका छन्। इँटा व्यवसायीले यो सिजनमा खुला आकाशमा इँटा बनाउने गर्दछन्। बनाएको इँटा खुला आकाशमै सुकाउने गरिएको छ।

हिउँदमा काँचो इँटा सुक्न एक हप्तासम्म लाग्ने गरेको जनाइएको छ। फिक्स चिम्नी इँटा उद्योगमा १० देखि २० लाखसम्म इँटा उत्पादन भएपछि पकाउनका लागि आगो लगाउने गरिन्छ। यो वर्ष आगो लगाउन नपाउँदै पानी परेपछि ठूलो नोक्सान व्यहोर्नुपरेको सेति महाकाली इटाँ व्यवसायी संघका अध्यक्ष विनोद शाहले बताए।

उनले सुदूरपश्चिममा अहिलेसम्मकै ठूलो क्षति भएको बताए। बनाएर पकाउन ठिक्क पारेको काँचो इँटा र पकाउन राखेको इटाँ समेत नोक्सान भएपछि यो वर्ष इँटा व्यवसायीले ठूलो नोक्सानि खेप्नु परेको बताए। यस्तै इँटाको मूल्य बढ्नसक्ने व्यवसायीहरू बताउँछन्। कैलाली, कञ्चनपुरमा उत्पादित इँटा पहाडी जिल्लामा समेत आपूर्ति हुने गरेको संघले जनाएको छ।

हिउँदे बालीमा पनि ठूलो नोक्सान

लगातार दुई दिनसम्म भएको वर्षाले हिउँदे बालीमा समेत ठूलो नोक्सान गरेको छ। हिउँदे झरीका कारण आलु, तोरीलगायत हिउँदे बालीमा नोक्सान भएको हो। अहिले तोरी र आलुबाली भित्र्याउने सिजन हो। यो बेला भएको वर्षाले भित्र्याउन तयार पारेको तोरी भिजाएको छ।

नकाटेको तोरीलाई वर्षाले खासै असर नगरे पनि काटेर भित्र्याउन नसकिएको तोरीलाई पानीले नोक्सान गरेको किसानको भनाइ छ। यसैगरी, भित्र्याउन बाँकी रहेको आलु बालीलाई पनि हिउँदे वर्षाले नोक्सान गरेको छ। त्यसो त, लामो समयसम्म घाम नलागेका कारण धेरै किसानको आलु खेती डढुवा रोगले प्रभावित भएको थियो। त्यसैमाथि भएको वर्षाले भएको आलु पनि खेतमै कुहिने अवस्था आएको धनगढी उपमहानगरपालिका–९ बङ्गराका कृषक सियाराम चौधरीले बताए।

“हाम्रो यता गहुँलाई त पानीले खासै समस्या गरेन”, उनले भने, “तर, तोरी र आलुमा ठूलो नोक्सान भएको छ।” उनले कैयौं किसानको तोरीलाई पानीले भिजाएको बताए। यो वर्ष पुस महिनामापनि वर्षा भएको थियो। यसैगरी, माघ महिनामा पनि वर्षा भइरहेको छ।

शुरुवाती वर्षाले हिउँदे कृषिबालीलाई फाइदा भए पनि अहिलेको वर्षाले बेफाइदा गरिरहेको किसानको भनाइ छ। गहुँबाली सिँचाइ गरिसकेको अवस्थामा भइरहेको वर्षाले खल्ला जमिनमा लगाइएको गहुँलाई पनि समस्या गरिरहेको छ। उँचो वा भिरालो जमिनमा लगाइएको गहुँ र मसुरो बालीलाई यो पानीले फाइदा गरे पनि तोरी, आलु लगायत खल्ला जमिनमा रहेको गहुँ, मसुरोलाई बेफाइदा गरेको प्रादेशिक कृषि निर्देशनालय डोटीले जनाएको छ।

पानी जम्ने ठाउँमा रहेका भित्र्याउन बाँकी आलु कुहिएर जाने र गहुँ पहेंलो हुने निर्देशनालयका प्रमुख यज्ञराज जोशीले बताए। “उँचो जमिनको गहुँलाई त फाइदै हुन्छ”, उनले भने। ‘तर, पानी जम्ने ठाउँका खल्ला जमिनको गहुँ पहेलो भएर बिग्रिन्छ।”

जोशीले कैलाली, कञ्चनपुरको दक्षिणी बेल्टमा प्रायःजसो खल्ला जमिन रहेको र सो क्षेत्रमा गहुँबाली प्रभावित हुन सक्ने बताए। यसैगरी, पानीले मसुरो बालीमा अझ बढी नोक्सान पुग्ने जनाइएको छ।

मसुरो कोसे बाली रहेका कारण यसले पानी सहनै नसक्ने कृषि प्राविधिकको भनाइ छ। पानी जमेको ठाउँमा केही दिनमा मसुरो मर्ने बताइएको छ। गएको कात्तिकमा भएको बेमौसमी वर्षा र आएको बाढीका कारण यो वर्ष हिउँदे बालीको खेती नै पछाडि धकेलिएको थियो। खेती नै पछाडि भएका कारण राम्ररी सप्रिन नपाएको हिउँदेबालीलाई हिउँदे वर्षाले प्रभावित गरेको छ।

सुदूरपश्चिमको तराईको दुई जिल्ला उर्वरभूमि हो। यी दुई जिल्लामा गहुँ ६५ हजार ७७५ हेक्टर, आलु सात हजार दुई हेक्टर र तेलहन बाली करिब २० हजार ८४८ हेक्टर जमिनमा लगाइने गरेको निर्देशनालयले जनाएको छ।

तर, हिउँदे वर्षाका कारण उत्पादन ह्रास हुन सक्ने बताइएको छ। यो हिउँदे वर्षाले समग्रमा खाद्यान्नमा असर पुग्ने निर्देशनालयका प्रमुख जोशीले बताए। उनले उत्पादन कम भइ खाद्यान्न समस्या बढ्न सक्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved