बालुवाटार बैठकमा किन छुटे माधवकुमार नेपाल ?

बालुवाटार बैठकमा किन छुटे माधवकुमार नेपाल ?

काठमाडौं । आइतबार अपरान्ह सत्ता घटक दलका दुई प्रमुख नेता प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरे। एमसीसी, स्थानीय तहको निवार्चन र अवरुद्ध संसदको विषयमा छलफल गर्न बोलाइएको बैठकमा सत्ता घटकका अर्का नेता नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने उपस्थित थिएनन्।

तीन नेताबीचको बैठकमा नेकपा एमालेका महासचिव शंकर पोखरेल र सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की पनि उपस्थित थिए। नेकपा एमालेले नेपाल सहभागी हुने कार्यक्रममा सहभागी नहुने अडान कायमै राखेका कारण एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई बैठकमा सहभागी गराउन नसकेको बालुवाटार स्रोतले जनाएको छ।

कांग्रेस महाधिवेशनमा एउटै मञ्चमा

पछिल्लोपटक २४ मंसीरमा नेपाली कांग्रेसको १४ औँ महाधिवेशन उद्घाटन समारोहमा एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपाल एउटै मञ्चमा देखिएका थिए। पार्टी विभाजनपछि ओली र नेपाल एकै मञ्चमा देखिएको यो एकमात्रै कार्यक्रम हो।

आफ्नो पार्टीले कार्वाही गरेका नेपाल लगायत १४ संसदलाई सभामुख अग्निप्रसाद सापकोटाले कारबाही नगरेको भन्दै एमालेले संसद् बैठक अवरुद्ध गर्दै आएको छ। आज बसेको बालुवाटार बैठकमा पनि ओलीले आफ्नो पार्टीको माग पूरा गर्न आग्रह गरेको छन्। “सभामुखको बर्हिगमन वा पार्टीले कार्वाही गरेका सांसदलाई कार्वाही गर्नुपर्ने माग हामीले सत्तापक्षसँग राखेका छौँ,” बालुवाटार बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै एमाले महासचिव पोखरेलले भने।

त्यसो त ११ पुसमा काठमाडौंमा आयोजित माओवादी केन्द्रको आठौं महाधिवेशनमा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र एमाले महासचिव पोखरेल एउटै मञ्चमा सहभागी थिए। तर, सत्ता पक्षले बोलाउने औपचारिक बैठकमा एमाले सहभागी हुने गरेको छैन। त्यस्ता बैठकका विषयमा प्रश्न गर्दा एमालेको एउटै जवाफ हुने गरेको छ, ुुमाधवकुमार नेपाल सहभागी हुने बैठकमा हामी सहभागी हुँदैनौँ।”

चुनावपछि एमसीसी : प्रचण्ड

आइतबार बसेको तीन दलको बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्न ओली र दाहालसमक्ष आग्रह गर्दा दाहालले आगामी निवार्चनसम्म एमसीसीलाई पन्छाउने प्रस्ताव अघि सारे। “संसद अवरुद्ध रहेको अवस्थामा संसद् खोल्नुपर्नेछ। आगामी निवार्चनसम्म एमसीसी पछि सार्न सत्तापक्ष र प्रतिपक्ष मिलेर एमसीसी मुख्यालयलाई पत्रचार गरम्,” दाहालको प्रस्ताव थियो।

प्रधानमन्त्री देउवा र सत्ता पक्षका अर्का नेता दाहालको प्रस्ताव नै बाझिएपछि एमाले अध्यक्ष ओलीले भने, ‘‘ सत्तापक्षले संसदमा एमसीसी पेश गरेपछि मात्रै एमालेले त्यस विषयमा निर्णय लिनेछ।’’ त्यस्तै एमालेले स्थानीय तहको निर्वाचन ४ जेठमै गर्न पनि सत्तापक्ष समक्ष माग गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved