सिमकोट हवाई मैदानको हिउँ पन्छाइँदै

नेपालभ्युज

सिमकोट हवाई मैदानको हिउँ पन्छाइँदै

हुम्ला ।  हुम्ला जिल्लामा तीन दिनसम्मको हिमपातबाट सिमकोट हवाई मैदानमा जमेको हिउँ पन्छ्याउने कार्य जारी रहेको छ। सिमकोट हवाई उड्डयन कार्यालयको ट्र्याक्टरले आजदेखि हवाई मैदानको हिउँ फाल्ने कार्य गरिरहेको उक्त कार्यालयले जानकारी गराएको छ।

यस वर्ष यहाँ तीन फिट हिउँ जमेको छ। यो हिमपात यस वर्षको सबैभन्दा धेरै हो। उक्त हवाई मैदानमा हिउँ जमेकाले सबैभन्दा पहिला सिमकोटका सरकारी कार्यालय तथा गैरसरकारी संस्थाका कर्मचारीले हिउँ फाल्ने कार्य गरेका थिए।

त्यसपछि बाँकी रहेको हिउँ आज कार्यालयको ट्र्याक्टरले फाल्न थालेको छ। सदरमुकाम सिमकोटमा जताततै हिउँले सेताम्मै भएको हुनाले सिमकोट तथा बाहिरी जिल्लाको आवतजावत ठप्प भएको छ।
त्यस्तै उत्तरी भेगको नाम्खा गाउँपालिकामा भने एक गाउँदेखि अर्को गाउँ जानसमेत कठिनाइ भएको स्थानीयवासी तेञ्जिङ लामाले फोनबाट जानकारी गराउँदै उक्त ठाउँमा छ फिट हिउँ जमेको बताए।

हुम्ला जिल्लाको यातायात र हवाई सेवा पनि तीन दिन लगातार हिउँ परेपछि बन्द छ। हुम्ला जिल्लाको उत्तरी भेगमा रहेको हिल्सा नाकामा भारी हिमपात भएपछि सिमानामा खटिएका सशस्त्र प्रहरी बलको टोलीलाई खानेपानीको समस्या भएको छ। उनीहरुले कर्णाली नदीबाट पानी आपूर्ति गरेका सशस्त्र प्रहरी बलका निरीक्षक पूर्णबहादुर चन्दले फोनबाट जानकारी गराए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved