भारतमा एकै दिन डेढ लाख संक्रमित, मृतक संख्या पाँच लाख नाघ्यो

नेपालभ्युज

भारतमा एकै दिन डेढ लाख संक्रमित, मृतक संख्या पाँच लाख नाघ्यो

भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ४९ हजार ३९४ संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ। सोही अवधिमा थप एक हजार ७२ को कोरोना संक्रमणका कारण मृत्यु भएपछि भारतमा कोरोना शुरु भएदेखि हालसम्म यस रोगबाट ज्यान गुमाउने व्यक्तिको संख्या ५ लाख नाघेको सो मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको संख्या पाँच लाख ५५ जना पुगेको छ। कोरोना संक्रमणको कारण ज्यान गुमाउने सब भन्दा धेरै महाराष्ट्र राज्यका नागरिक रहेका जनाइएको छ।

महाराष्ट्रमा कोरोना संक्रमणको कारण एक लाख ४२ हजार ८५९ व्यक्तिको मृत्यु भएको छ। त्यसपछि केरलामा ५६ हजार ७०१, कर्नाटकामा ३९ हजार १९७ , तमिल नाडूमा ३७ हजार ६६६, दिल्लीमा २५ हजार ९३२ र उत्तर प्रदेशमा २३ हजार २७७ जनाको कोरोनाको कारण ज्यान गएको भारतीय सञ्चार माध्यमहरुले जानकारी दिएको छ।

हाल भारतमा कोभिड-१९ कूल संक्रमितको संख्या चार करोड १९ लाख ५२ हजार ७१२ जना पुगेको जनाइएको छ। ती मध्ये हाल सक्रिय संक्रमितको संख्या १४ लाख ३५ हजार ५६९ रहेका छन्। कूल संक्रमितको ३।४२ प्रतिशत सक्रिय संक्रमित रहेका पनि समाचारमा जनाइएको छ।

गएको २४ घण्टामा भारतमा दुई लाख ४६ हजार ६७४ कोरोनाबाट मुक्त भएका छन्। यसैसँगै कोरोना सुरु भएयता हालसम्म चार करोड १७ हजार ८८ जनालाई कोरोना संक्रमण निको भएको छ। यहाँ कोरोना भाइरस निको हुने दर ९५.३९ प्रतिशत रहेको जनाइएको छ।

कोरोना सुरु भएदेखि हालसम्म यहाँ ७३ करोड ५८ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ। यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो। सो समयदेखि हालसम्म एक अर्ब ६८ करोड ४७ लाखभन्दा बढी डोज खोप लगाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved