सुरक्षा प्रमुखहरुलाई गृहमन्त्रीको निर्देशन- एमसीसीविरुद्ध प्रदर्शन हुनसक्छ, सतर्क रहनू

पोखरेलले भने, “यो बैठकले अहिलेको समसामयिक सुरक्षास्थिति के छ, त्यसबारे छलफल गर्छ र त्यो बारेमा आज पनि छलफल भयो। अहिलेका हाम्रा सुरक्षा इस्यूहरु के हुन्, ती इस्यूहरुलाई कसरी सम्बोधन गर्ने विषयमा छलफल भयो।”

नेपालभ्युज

सुरक्षा प्रमुखहरुलाई गृहमन्त्रीको निर्देशन- एमसीसीविरुद्ध प्रदर्शन हुनसक्छ, सतर्क रहनू
फाइल तस्वीर ।

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले देशभर सुरक्षा अवस्था चुस्त दुरुस्त राख्न निर्देशन दिएका छन्। अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा प्रदर्शन हुनसक्ने भन्दै उनले सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका हुन्।

गृह मन्त्रालयमा आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा मन्त्री खाँणले एमसीसीविरुद्ध प्रदर्शन हुनसक्ने भन्दै सतर्क रहन र सुरक्षा व्यवस्था तयार राख्न निर्देशन दिएका हुन्।

साथै, बैठकमा आगामी स्थानीय निर्वाचनमा सुरक्षा निकायले कसरी सुरक्षा प्रदान गर्ने भन्ने विषयमा पनि छलफल भएको छ। बैठकमा निर्वाचन केन्द्रीत सुरक्षा योजना तयार गर्ने र आवश्यक जनशक्तिको व्यवस्थापनको विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले बताए।

“प्रधानमन्त्री र निर्वाचन आयोगबीच जेठ ४ गते चुनाव गर्ने अनौपचारिक रुपमा कुरा भइराखेको रैछ। अब हामीले सुरक्षा कसरी निर्वाचनमा, कुन किसिमले सुरक्षा गर्ने, सबै सुरक्षा निकायबाट त्यसको फिडब्याक लिएर अगाडि बढ्ने भन्ने विषयमा छलफल भयो।” पोखरेलले भने, “निर्वाचन केन्द्रित सुरक्षा योजना कसरी तयार गर्ने, जनशक्तिको व्यवस्थापन लगायतको विषयमा छलफल भयो।”

बैठकमा सुरक्षा निकायहरुबाट आवश्यक पृष्ठपोषण लिएर अगाडि बढ्ने पनि निष्कर्ष आएको पोखरेलले बताए। उनले भने, “यो बैठकले अहिलेको समसामयिक सुरक्षास्थिति के छ, त्यसबारे छलफल गर्छ र त्यो बारेमा आज पनि छलफल भयो। अहिलेका हाम्रा सुरक्षा इस्यूहरु के हुन्, ती इस्यूहरुलाई कसरी सम्बोधन गर्ने विषयमा छलफल भयो।”

बैठकमा गृहमन्त्रीसहित गृहसचिव टेकनारायण पाण्डे, प्रहरी महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल र नेपाली सेनका रथी बालकृष्ण कार्कीको सहभागिता थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved