बेलायतका लागि नवनियुक्त राजदूत आचार्यसँग परिसंघको छलफल, निर्यात प्रवर्द्धन र लगानी अभिवृद्धिमा जोड

नेपालभ्युज

बेलायतका लागि नवनियुक्त राजदूत आचार्यसँग परिसंघको छलफल, निर्यात प्रवर्द्धन र लगानी अभिवृद्धिमा जोड

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाली वस्तुको निर्यात अभिवृद्धि गर्र्न बेलायतका लागि नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यसँग आग्रह गरेको छ। बेलायतका लागि नेपाली राजदूत नियुक्त भएका आचार्यसँगको छलफलमा परिसंघले नेपालको पूर्वाधार क्षेत्रमा लगानीको ठूलो आवश्यकता रहेको भन्दै त्यसतर्फ बेलायती लगानीकर्ता आकर्षित गर्न पहल गर्नुपर्नेमा जोड दिएको हो।

छलफलका क्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले विकासशील राष्ट्रमा नेपालको स्तरोन्नतीपछि नेपालले पाइरहेको व्यापार सुविधा कटौती हुन सक्ने भन्दै त्यसको निरन्तरताका लागि पहल गर्न राजदूत आचार्यसँग आग्रह गरे। उनले बेलायती पर्यटकका लागि नेपाल उत्कृष्ट भ्रमण गन्तव्य हुन सक्ने भएकाले पर्यटन प्रवद्र्धनमा काम गर्नुपर्नेमा पनि जोड दिए।

‘नेपाल र बेलायतबीच सिधा हवाई सम्पर्क स्थापित गर्न सक्दा त्यसले पर्यटन प्रवद्र्धन र नेपाली वस्तुको निर्यातमा योगदान दिन सक्छ,’ उनले भने, ‘नेपाललाई शैक्षिक गन्तव्यको रूपमा पनि विकास गर्न सकिन्छ, हामीसँग त्यसको पर्याप्त संभावना छ ।’

छलफलमा नवनियुक्त राजदूत आचार्यले नेपालमा उत्पादन हुने वस्तुहरूको बेलायती बजारमा प्रवद्र्धनका लागि आफूले काम गर्ने बताए। उनले बेलायती बजारमा नेपाली गलैँचा, हस्तकला, तयारी पोशाक, चिया, कफीजस्ता वस्तुको अधिक संभावना रहेको र नेपाली वस्तुहरूमाथि बेलायती नागरिकको विश्वास पनि रहेकाले त्यस्ता वस्तुको निर्यात प्रवद्र्धनमा निजी क्षेत्रसँग मिलेर काम गर्ने उल्लेख गरे।

छलफलमा परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले नेपालको जलविद्युत, खनिज, पर्यटन, शिक्षा र स्वास्थ्य गरी पाँचवटा क्षेत्र बेलायती लगानीकर्ताका लागि आकर्षक क्षेत्र हुन सक्ने औल्याए। यसैगरी परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाइ शाक्य, गलैँचा उत्पादक संघका महासचिव अशोक अग्रवाल एवं गलैँचा निर्यातकर्ता राहुल शाक्य र तयारी पोशाक उत्पादक एवं निर्यातकर्ता बलराम गुरुङले नेपाली उत्पादन प्रवद्र्धनका लागि बेलायतस्थित दूतावासमा प्रदर्शनी केन्द्र स्थापना गर्न आग्रह गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved