तनहुँका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन थालियो

नेपालभ्युज

तनहुँका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन थालियो

तनहुँ । जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको दोस्रो चरणको मोडर्ना खोप लगाउन शुरू गरिएको छ। १२ देखि १७ वर्ष उमेर समूहका बालकालिकालाई सोमबारबाट मोडर्ना खोपको दोस्रो मात्र लगाउन थालिएको हो।

खोप लगाउनको लागि जिल्लाका १० वटै स्थानीय तहमा सोमबारदेखि यही माघ २१ गतेसम्म विद्यालय खुलाइएको स्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी शङ्करबाबु अधिकारीले जानकारी दिए। जिल्ला कोरोना सङ्कट व्यवस्थापन समिति (डीसीसीएमसी)को बैठकले विद्यार्थीलाई मोडर्ना खोपको दोस्रो डोज लगाउन सोमबारदेखि पाँच दिन विद्यालय खोल्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए। विद्यालयमा भौतिक उपस्थितिमा विद्यालयका पठनपाठन भने माघ मसान्तसम्म नै बन्द गरिएको उनले जानकारी दिए।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका दशवटै स्थानीय तहका ३२ हजार ४०१ बालबालिकालाई सो खोपको पहिलो मात्रा लगाइएको छ। छुटको समेतका गरी करिब ३५ हजार बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।

दोस्रो डोज लगाउने बालबालिकाहरुले पहिलो डोज लगाएको कार्ड अनिवार्य रुपमा लैजानुपर्ने र पहिलो मात्रा खोप लगाउन आउने बालबालिकाले अनिवार्य रुपमा उमेर खुल्ने परिचयपत्र ल्याउनुपर्ने साथै खोप लगाउने समयमा अभिभावक तथा शिक्षक अनिवार्य रुपमा उपस्थित भइदिनुपर्ने शाखाले जनाएको छ। जिल्लामा गत पुस ८ देखि १३ गतेसम्म मोडर्ना खोपको पहिलो मात्रा दिइएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved