कोरोना सँगसँगै अघि बढ्दैछ नेपाली खेलकुद

कोरोना सँगसँगै नेपाली खेलकुद पनि चलिरहेको छ। हालको तेस्रो लहरपछि केही प्रतियोगिताहरु रद्द वा स्थगित नभएका पनि होइनन्। कोभिडका कारण १५ माघदेखि आयोजन गर्ने भनिएको राष्ट्रिय महिला लिग फुटबललाई अर्को सूचना नआएसम्मको लागि एन्फाले स्थगित गरेको छ।

कोरोना सँगसँगै अघि बढ्दैछ नेपाली खेलकुद

काठमाडौं। कोभिडको कहरबाट विश्व खेलकुद जगत बिस्तारै तंग्रिँदै थियो। तर नयाँ भेरियन्टको रुपमा देखा परेको ओमिक्रोनको संत्रास फेरि एकपटक विश्वभर फैलियो। जसको प्रभावले अघिल्ला कोभिड लहरबाट चलायमान बन्न थालेको विश्व दैनिकी एक पटक फेरि खलबलिएको छ।

वर्ष २०२० मा विश्वका सबै क्षेत्रलाई कोभिड–१९ ले ठप्पप्रायः बनाएको थियो। वर्षभर जस्तो लकडाउन, निषेधाज्ञा र एक ठाउँबाट अर्को ठाउँ जान नसकिने भएपछि खेलकुद गतिविधि पनि बन्द नै थियो।

२०२० मा पूरै थलिएको विश्व खेलकुद २०२१ मा बिस्तारै चलायमान हुन थालेको थियो। सन् २०२१ मा टोकियो ओलम्पिक, टी–ट्वान्टी क्रिकेट विश्वकप, युरो कप जस्ता ठूला प्रतियोगिताहरु सफल रुपमा सम्पन्न भएका थिए।

हाल ओमिक्रोनको कारणले अन्य क्षेत्र जस्तै खेलकुद पनि प्रभावित हुने भैहाल्यो। जसबाट नेपाली खेलकुद पनि अछुतो रहन नसक्नु स्वाभाविक नै हो। नेपालमा पनि कोभिड संक्रमितको संख्या दैनिक १० हजार माथि पुगिसक्यो।

माघको दोस्रो, तेस्रो सातामा नेपालमा कोभिडको संक्रमण उत्कर्षमा पुग्ने सरकारको अनुमान छ। सो बेला दैनिक २० हजार कोभिडको केस पुग्नसक्ने पूर्वानुमान जनस्वास्थ्यविद्हरुको छ।

करिब दुई वर्ष कोभिडको चपेटा परेको विश्व समुदायले लकडाउन र निषेधाज्ञा मात्र यो समस्याको समाधान होइन भन्ने निष्कर्ष निकाल्यो। त्यसैले हालको ओमिक्रोन भेरियन्टले दैनिक लाखौँ नयाँ संक्रमीत भए पनि युरोपियन राष्ट्रहरु, अमेरिका र छिमेकी राष्ट्र भारतले समेत पूर्ण लकडाउन गरेका छैनन्।

यता नेपाल सरकारले पनि पूर्ण लकडाउन नगर्ने संकेत गरेको छ। हाल स्थान र अवस्था हेरेर स्मार्ट लक डाउन भनेर सीमित रुपमा निषेधज्ञा जारी भएको छ। त्यसैले अघिल्ला वर्ष जस्तो यो कोभिड लहरमा नेपाली खेलकुद ठप्प नहुने देखिन्छ।

अहिले विश्वभर नै खेलकुदका प्रतियोगिता आयोजना हुने देश र ठाउँको अवस्था तथा खेलको प्रकृतिलाई हेरेर तोकिएको स्वास्थ्य मापदण्ड पालना गर्दै खेलकुद गतिविधि सकेसम्म सञ्चालन भइरहेका छन्। हाल खेलकुदमा पनि भ्याक्सिन लगाएका व्यक्तिहरुलाई मात्रै संलग्न गराउने, सीमित दर्शक वा बिनादर्शक भए पनि प्रतियोगिता सञ्चालन गर्ने गरिएको छ।

त्यस्तै, खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाउन क्वारेन्टाइनमा बस्नुपर्ने, प्रतियोगिता अवधिभर ‘बायो स्याक्योर बबल’ (सुरक्षा घेरा) मा रहनुपर्ने जस्ता नियम बनाएर भएपनि खेलकुद भने रोकिएको छैन।

यसैगरि नै नेपाली खेलकुद पनि चलिरहेको छ। हालको तेस्रो लहरपछि केही प्रतियोगिताहरु रद्द वा स्थगित नभएका पनि होइनन्। कोभिडका कारण १५ माघदेखि आयोजन गर्ने भनिएको राष्ट्रिय महिला लिग फुटबललाई अर्को सूचना नआएसम्मको लागि एन्फाले स्थगित गरेको छ।

आइतबार मात्र राष्ट्रिय खेलकुद परिषद्ले कोभिडका कारण जिल्ला प्रशासन कार्यलयको आदेश बमोजिम सबै खेलकुद पूर्वाधार तत्कालका लागि बन्द गर्ने निर्णय पनि गरेको छ।

तर, ठूला प्रतियोगिताको कुरा गर्दा हाल पोखरामा मोफसलको सर्वाधिक सफल फुटबल प्रतियोगिता आहा रारा गोल्डकप बिनादर्शक आयोजना भइरहेको छ। प्रतियोगिताको सेमिफाइनल र फाइनल खेलमा भने पाँच हजार ५०० दर्शक राख्ने आयोजकले जनाएको छ।

एन्फाले शहीद स्मारक ए डिभिजन लिगमा पहिलो चरणदेखि नवौँ चरणसम्मको खेल पनि भर्खरै सकेको छ। यस दौरान नवौँ चरणमा च्यासल युथ क्लबका १९ खेलाडीलाई एकै पटक कोभिड देखिएपछि नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल स्थगित गरिएको थियो।

उता क्रिकेटमा पनि प्रधानमन्त्री कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता भर्खरै सम्पन्न भयो। प्रतियोगिता दौरान केही खेलाडीहरुले कोभिड संक्रमणकै कारण खेल गुमाएका थिए। तर प्रतियोगिता प्रभावित भएन।

अबको एक महीना नेपाली क्रिकेटका लागि निकै महत्वपूर्ण छ। उता फुटबलमा पनि अन्तर्राष्ट्रिय खेल हुँदैछ।

आगामी अक्टोबरमा अष्ट्रेलियामा हुने टी—ट्वान्टी विश्वकपको लागि नेपालले आउँदो महीना ओमानमा छनोट प्रतियोगिता खेल्दैछ। जसका लागि नेपाल क्रिकेट संघ (क्यान)ले १६ सदस्यीय टिमको घोषणा गरिसकेको छ। हाल उक्त नेपाली टिम बन्द प्रशिक्षणमा छ।

प्रधानमन्त्री कप दौरान र त्यसपछि पनि कोभिड संक्रमणमा परेका कारण केही खेलाडी अझै प्रशिक्षणमा उपलब्ध हुन सकेका छैनन्। कोभिड संक्रमणमा परेका केही खेलाडी रिकभर भइसकेको र दुई खेलाडी भने अझै आइसोलेसनमा रहेको नेपाली राष्ट्रिय टिमका व्यवस्थापक विनोद दासले नेपालभ्यूजलाई बताए।

विश्वकप छनोटका लागि पूरा गर्नुपर्ने कोभिड प्रोटोकलको बारेमा विनोद भन्छन्, “यहाँ नेपालमा कोभिडबाट बच्ने हाम्रो आफ्नै जिम्मेवारी हो। यहाँबाट ओमान पुगेपछि भने प्रतियोगिता आयोजकको दायित्व हुन्छ। यो पटक जाँदा शुरुमा क्वारेन्टाइन बस्नुपर्ने बाध्यता छैन। ओमान पुगेपछि सबै खेलाडीको पीसीआर टेष्ट हुन्छ। त्यसमा नेगेटिभ आए पुग्छ। तर ‘बायो स्याक्योर बबल’ (सुरक्षा घेरा) मा चाहिँ पूरै प्रतियोगिता अवधिभर बस्नुपर्ने हुन्छ।”

आउँदो १८ फेबु्रअरीदेखि ओमानमा विश्वकप छनोटको समूह ‘ए’को खेल हुँदैछ। जसको समूह चरणमा नेपालले आयोजक ओमान, क्यानडा र फिलिपिन्ससँग प्रतिस्पर्धा गर्नेछ। आठ टिम सहभागी प्रतियोगितामा फाइनल पुग्ने दुई टिम विश्वकपको लागि छनोट हुनेछन्।

त्यसअघि, नेपालले ओमानमा नै चारदेशीय टी—ट्वान्टी श्रींखला पनि खेल्दैछ। ११ फेबु्रअरीदेखि खेलिने यो श्रृंखलामा नेपाल, ओमान, आयरल्याण्ड र यूएईले प्रतिस्पर्धा गर्नेछन्। जसका लागि नेपाली टिम ९ फेबु्रअरीमा ओमान जानेछ।

यता, फुटबलमा नेपालले आउँदो १५ र १८ माघमा अफ्रीकी मुलुक मौरिसससँग घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।

जसका लागि एन्फाले बुधबार राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ। प्रमुख प्रशिक्षक अल्मुताइरीले बन्द प्रशिक्षणमा सहभागी ३४ जना नै खेलाडीलाई समेटेर दुई खेलका लागि दुई ओटा टिम बनाएका छन्।

नेपालसँग खेल्न मौरिससको टिम नेपाल आइसकेको छ। यसैबीच नेपाल र मौरिससबीचको मैत्रीपूर्ण खेलमा क्षमताअनुसार एकतिहाइ समर्थकले रंगशाला प्रवेश पाउने भएका एन्फाले जनाएको छ।

यो सबैलाई हेर्दा खेलकुद पनि कोभिडसँगै समानान्तर धारमा चलिरहेको छ। विश्वभर कोरोना भाइरसको संक्रमण महामारीबाट बिदाबारीतर्फ लागेको वैज्ञानिक धारणाहरु आइरहेको समयमा खेलकुदका गतिविधि पनि पूर्ण शुचारु हुनेमा आशावादी बन्न सकिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved