गण्डकी छिर्ने नाकामा होल्डिङ सेन्टर बनाउँछौं : मुख्यमन्त्री नेपाली

नेपालभ्युज

गण्डकी छिर्ने नाकामा होल्डिङ सेन्टर बनाउँछौं : मुख्यमन्त्री नेपाली

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कोभिडको तेस्रो लहर रोकथाम र नियन्त्रणका लागि जनशक्ति, अक्सिजन प्लान्टदेखि अस्पतालको व्यवस्थापनमा प्रदेश सरकारले हरसम्भव प्रयास गरिरहेको बताएका छन् ।

कोभिडको तेस्रो लहर नियन्त्रणका लागि नेपाल सरकारले पुस ३० गते जारी गरेको आदेश कार्यान्यनका लागि प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गरेको भर्चुअल बैठकमा मुख्यमन्त्री पोखरेलले भने, ‘‘महामारी नियन्त्रणमा हामीले सक्दो प्रयास गरेका छौं, कहिँकतै जनशक्ति अभाव नहोस् भनेर त्यही अनुसार व्यवस्थापन गरेका छौं ।’’

नवलपुर लगायत जिल्लामा ल्याबको जनशक्ति नहुँदा पिसिआर परीक्षण रोकिएको खबर पाएलगत्तै २ कर्मचारी पठाएको र बिहीबारबाटै उनीहरूले काम थाल्ने मुख्यमन्त्रीको भनाइ थियो । तेस्रो लहरको नियन्त्रणकै लागि प्रदेश सरकारले ३ सय ५० जना स्वास्यकर्मी करारमा लिएर सम्बन्धित अस्पतालहरूमा पठाइएको उनले बताए ।

महामारीका बेला अक्सिजन प्लान्ट दुरुस्त राख्न, आइसोलेसन बेड र अपस्पतालहरू तयारी हालतमा राख्न पनि उनले निर्देशन दिए । प्रदेश प्रवेश गर्ने ठाउँ राम्दी र आँबुखैरेनीमा हेल्प डेस्क शुरु भइसकेको र अब छिटै नै होल्डिङ सेन्टर सञ्चालनमा ल्याइने पनि मुख्यमन्त्री पोखरेलेको भनाइ थियो ।

भारतबाट प्रदेश प्रवेश गर्ने त्रिवेणी नाकामा समेत कर्मचारी खटाएर हेल्प डेस्क शुरु भइसकेको छ । बाहिरी मुलुक खासरी भारतबाट गाडीमा यस प्रदेशमा आउनेको संख्या उल्लेख्य रहेकाले उनीहरूको स्वास्थ्य परीक्षण र खोप कार्ड निरीक्षणलाई सरकारले कडाइ गरेको छ ।

पोखराका केही अस्पतालहरूले कोभिडका बिरामीको उपचारका नाममा अहिले पनि ठूलो रकम असुल गरिरहेको अनौपचारिक तबरबाट खबर आएको भन्दै महामारीका नाममा कोही कसैले नाफा केन्द्रित कार्य नगर्न अनुरोध समेत गरे ।

मनाङमा अहिले शून्य संक्रमित रहेको र यस अवस्थालाई कायम राख्न सक्दो प्रयास भइरहेको मनाङका प्रजिअ रवीन्द्र आचार्यले बताए । मनाङमा एक्सरे मेसिन बिग्रिए पनि जडान हुन नसकेकोबारे उनले प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले प्रदेश सरकारले जनशक्ति व्यवस्थापनदेखि, होल्डिङ सेन्टर निर्माण, औषधी र उपचारको प्रबन्ध गरिहेको बताइन् । यो महामारी व्यवस्थापनका लागि ३ तहकै सरकार एकाकार भएर लाग्नुपर्ने भन्दै समन्वयका लागि प्रदेश सरकारले काम गरिरहेको उनको भनाइ थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विनोदविन्दु शर्माले अहिले बिरामीहरू होम आइसोलेसनमा बस्ने क्रम बढेको र उनीहरूलाई टेलिफोनमार्फत् सेवा प्रदान गर्दै आएको जानकारी गराए ।

स्वास्थ्य निर्देशनालयका निर्देशक खीमबहादुर खड्काले प्रदेशमा कोभिडको अवस्था र रोकथामका लागि सरकारका तर्फबाट गरिएको काम र तयारीका बारेमा जानकारी गराए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved