नवघोषित ‘मधेश प्रदेश’ का मुख्यमन्त्री हुन्- लालबाबु राउत । उनको कार्यकाल चौथो वर्षमा प्रवेश गर्नैलाग्दा ‘प्रदेश २’ को नाम र राजधानी टुङ्गो लागेको छ। सभामुखको संयोजकत्वमा गठित समितिले समेत सहमति जुटाउन नसकेको नाम प्रदेशसभामा भएको ‘गोप्य मतदान’ बाट टुंगो लागेको छ। प्रदेशको नाम ‘मधेश प्रदेश’ भएको छ। स्थायी राजधानी जनकपुर तोकिएको छ।
प्रदेशको नाम र स्थायी राजधानी तोक्ने सफलताको जस पाएका छन्- मुख्यमन्त्री राउतले। तर, राउतको गृहनगर वीरगञ्ज आन्दोलित छ। मधेश प्रदेश नामसँग जनकपुर राजधानी साटेको आरोप लागेको छ उनीमाथि। राउत भने त्यसलाई अस्विकार गर्छन्। उनी भन्छन्, ‘मधेश आन्दोलनको उपलब्धि हो- मधेश प्रदेश। वीरगञ्ज राजधानी बनाउन म सक्दैनथेँ किनकि प्रदेशसभामा मेरो पनि एक भोट थियो।’
३ चैत ०७६ मा प्रदेशसभामा मतदान हुँदा पनि परिणाम आउन नसकेकोमा यसपटक कसरी सम्भव भयो त ? यसै विषयमा केन्द्रित रहेर मुख्यमन्त्री राउतसँग माधव ढुङ्गेलले गरेको संवाद :
‘मधेश प्रदेश’ भन्ने नाम चार वर्षपछि प्रदेशसभाबाट पारित भयो। असम्भवजस्तो रहेको विषय कसरी एकाएक सम्भव भयो?
मधेश आन्दोलनले यो देशमा संघीयता ल्याएको हो। यसले मुलुकमा ठूलो परिवर्तन ल्याएको छ। यो मुलुकको उत्पीडित समुदायलाई सत्तामा पुर्याउने काम गरेको छ। यहाँ समानुपातिक समावेशीता ल्याएको छ। र, मधेश आन्दोलनको महत्त्व सबै राजनीतिक दलका नेताहरूले बुझिराख्नुभएको छ।
जुनसुकै पार्टीका भए पनि काठमाडौं बस्ने केही नेताबाहेक तराई-मधेशमा बस्ने सबै नेताहरूले मधेश आन्दोलनको यो परिणाम बुझ्नुभएको छ। यही मधेश आन्दोलनका कारण स्थानीय तहले शक्ति पाएको छ। प्रदेशमा हामी सरकारमा छौँ। आफ्नो विकास आफैँ गर्ने जुन अवसर पाएका छौँ, त्यो मधेश आन्दोलनको परिणाम हो।
केही राजनीतिक बाध्यताले गर्दा उहाँहरू पार्टी नेताको दबाबमा अलि टाढा-टाढा जान खोज्नुभएको छ। हिजो जब प्रदेशसभामा प्रस्ताव पेश भयो, विभिन्न राजनीतिक दलका माननीयहरूले सहयोग नगरेको भए हाम्रो भोटले मात्र त ‘मधेश प्रदेश’ पास हुने थिएन। त्यसैले यसमा म सबै माननीयजीहरूलाई म बधाई दिन्छु। शुभकामना दिन्छु। र, उहाँहरूको निर्णयलाई म स्वागत गर्न चाहन्छु। उहाँहरूले आफ्नो स्वतन्त्रता प्रयोग गरेर मधेशप्रति जुन सद्भाव देखाउनुभएको छ, उहाँहरू स्वागतका पात्र हुनुहुन्छ।
यो निर्णय आउनमा कसरी सम्भव भयो ? तपाईंले गोप्य पहल गर्नुभएको होला, धेरै मेहनत गर्नुभएको होला। भन्न मिल्छ ?
एउटा सबैले बुझ्न जरुरी छ- हामीले सबै माननीयहरूलाई अनुरोध गरेका थियौँ। अहिले भएन भने भोलि पनि हुने सम्भावना त रहँदैन, दुईतिहाई त आउँदैन। संघीय र प्रदेशसभा निर्वाचनको जस्तो संरचना निर्माण भएको छ, मलाई लाग्दैन- भोलि पनि कसैको बहुमत आउँछ। बहुमत आउन बडा गाह्रो छ। हामी पनि आफ्नो प्रदेशमा रहन्छौँ। हामीसँग आबद्ध माओवादी पार्टी छ, यसको हिजोदेखिकै धारणा रहेको छ। लोकतान्त्रिक समाजवादी पार्टी जो छ, उहाँहरूको पनि मधेश प्रदेश रहन्छ।
सबै माननीयजीहरूले बुझ्नुभयो- यो अन्तिम मौका हो। यति लामो समय भइसक्यो, यो प्रदेशलाई ‘दुई नम्बरी’ ‘दुई नम्बरी’ कति राख्ने ? हामी एक नम्बरी मान्छेलाई ‘दुई नम्बरी’को जुन ‘ब्लेम’ लगाइएको छ, त्यो ट्यागलाई कसरी हटाउने ? सबै माननीयजीहरूले बहुत उत्साहका साथ सहभागी भएर हामीलाई जिताउनुभएको छ।
दुई वर्षअघि ०७६ चैतमा प्रदेशसभामा मतदान गर्दाको तपाईंहरूकै अनुभव थियो- असफलताको। त्यसबाट पाठ सिकेर यसपटक माननीयहरूलाई व्यक्तिगत रूपमा भेटेर देखिने-नदेखिने मेहनत पनि गर्नुपर्यो कि ?
एउटा कुरा के बुझ्नु जरुरी छ भने त्यस बेला पनि हामी निष्पक्ष थियौँ। केही राजनीतिक दलका नेताको त्यसमा प्रत्यक्ष दबाब थियो। नेकपा थियो- त्यस बेला। त्यस बेला नेकपा अध्यक्ष प्रधानमन्त्रीजी (केपी शर्मा ओली) को हामीमाथि दबाब थियो।
त्यसबेला प्रचण्डजीसँग भन्दा ‘हाम्रो अध्यक्ष केपीजी हुनुहुन्छ’ भन्नुभएको थियो। उहाँको पनि केही न केही पार्टीगत बाध्यता थियो। पछिल्लो समय नेकपाबाट एमाले र माओवादीकेन्द्र अलग भयो, माओवादी त शुरूदेखि नै हाम्रो एजेण्डासँग सहमत रहँदैआएको थियो। आठ जना माओवादीसँग विधिवत आए। उहाँहरू मधेश प्रदेशमा आउनुभयो।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र हाम्रो जनता समाजवादी पार्टी (जसपा) हाम्रो एजेण्डा एउटै थियो। अहिले हामी अलग-अलग पार्टी भए पनि मधेशको एजेण्डामा हाम्रा धारणा समान छन्। त्यसैले पार्टी फुटे पनि हाम्रो भावना एकै रहेको छ भन्ने देखिएको छ। यसमा हाम्रो विवाद रहेन।
लोसपा र राजपा तत्कालीन अवस्थामा एउटै थियो। अहिले लोसपा र जसपा भने पनि पार्टीको एजेण्डा एउटै छ। ६४ जना प्रदेशसभा सदस्य हामीसँग थिए। हामीबाहेक त कसैले प्रदेशको नाम बनाउनै सक्दैनथ्यो। त्यो बेला राजधानी बनाउन पनि गाह्रो थियो। नाम नभई राजधानी कसरी पास गर्ने भनेर त्यसबेला हाम्रै साथीहरूले पनि असहयोग गरेकाले यसअघि (३ चैत ०७६) को मतदानमा सफल भएनौँ।
यसपटक हामीले बुझ्यौँ- सबै राजनीतिक दलको चाहना होला। यसपटक हामी विवाद नगरौँ। अन्तर्आत्माको आवाज सुनेर मतदान गर्नुभयो।
पार्टी निर्णय नाघेर (फ्लोर क्रस) मधेश प्रदेशका पक्षमा मतदान गर्ने कुन-कुन दलका थिए, तपाईंलाई त थाहा होला नि !
‘फ्लोर क्रस’ गरेको भन्न मिल्दैन त्यो। पार्टीको अडान भनेको त काठमाडौंमा बस्ने केही नेताहरूको अडान होला। यहाँ त कुनै कोही नेताको अडान थिएन। पार्टी नेताको आवाज त ‘रोष्ट्रम’बाट बोल्नै पर्यो। उहाँहरूको ‘फिलिङ’ (भावना) त हामीसँगै थियो।
ए, त्यसो भए पार्टीनिर्णयभन्दा माथि उठेर मधेश प्रदेशको पक्षमा भोट दिने मात्र होइन, विपक्षमा भोट हाल्नेको पनि भावना मधेश प्रदेशमै थियो भन्न खोज्नुभएको ?
यसपालि सबै जना निकास दिऊँ भनेर सरकारमा रहने दलहरू वा सरकार बाहिरकाको पनि समान खालको सोच थियो।
अब मधेश प्रदेश र त्यसको स्थायी राजधानी जनकपुर भनेर पनि पारित भएको छ तर तपाईंकै शहर वीरगञ्जमा विरोध प्रदर्शन भइरहेको छ, होइन ?
वीरगञ्जबासी भएकाले मेरो पनि चाहना राजधानी वीरगञ्ज होस् भन्ने थियो नि त ! म मुख्यमन्त्री भए पनि मेरो पनि एउटा भोट हो, त्यो अवस्था त थिएन। बहुमत माननीयजीको समर्थन त यतै (जनकपुर) देखियो। पहिलेदेखि अस्थायी राजधानी पनि जनकपुर भयो। माननीयजीहरूको आकर्षण यही बढी भयो।
वीरगञ्जसहित यस क्षेत्रका माननीयहरू एकजुट हुनु स्वाभाविक छ। ९९ मध्ये ७८ जना राजधानी जनकपुरको पक्षमा हुँदा विपक्षमा २१ मत उतैबाट आयो नि ! फरक मतलाई के भन्ने ? वीरगञ्जवाला मत त दिएकै हो। मैले चाहँदैमा हुने हो र ?
वीरगञ्जको आक्रोशलाई कसरी सम्बोधन गर्नुहुन्छ नि ! कसरी गर्ने ?
सम्बोधन त गरेकै छ नि ! मधेश आन्दोलनमा जो लागेका छन्, त्यसलाई सम्बोधन गर्ने नै मधेश प्रदेशले हो। मधेश आन्दोलनमा जुन शहादत दिएका छन्, जो आन्दोलनबाट अगाडि आएका छन्, त्यसको उपलब्धि नै मधेश प्रदेश हो।
मधेश प्रदेश त भयो तर यसको इतिहास हुनुपर्ला। त्यसको अनुसन्धानदेखि संस्कृति, लिपिको अध्ययन र संरक्षणसम्मका प्रश्न छन् ?
अब त्यो सब अगाडि बढ्छ।
Facebook Comment
Comment