प्रदेश २ को नाम ‘मधेश प्रदेश’, कांग्रेस–एमाले–एसका १६ सांसदद्वारा ‘फ्लोर क्रस’

प्रदेश २ को नाम ‘मधेश प्रदेश’, कांग्रेस–एमाले–एसका १६ सांसदद्वारा ‘फ्लोर क्रस’

जनकपुरधाम । गठन भएको चार वर्षपछि प्रदेशसभा बैठकले ‘प्रदेश २’ को नाम ‘मधेश प्रदेश’ राखिएको छ । प्रदेशसभाको सोमबारको बैठकले दुईतिहाई मतले ‘मधेस प्रदेश’ राख्ने प्रस्ताव पास गरेको हो।

प्रदेशसभाको अपरान्ह बसेको दोस्रो बैठकमा भएको मतदानमा ९९ सांसद सहभागी भएका थिए, जसमध्ये ८० जनाले ‘मधेश प्रदेश’ को पक्षमा मत दिएका थिए। प्रदेश सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा), सत्तारुढ गठबन्धनको नेकपा (माओवादी केन्द्र) र विपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले संयुक्त रुपमा ‘मधेश प्रदेश’ प्रस्ताव गरेका थिए ।

पक्षमा जसपाको ३९, माओवादीका ८ र लोसपाको १६ गरी ६३ जना सांसद थिए । एक जना सदस्य रहेको ‘नेपाल संघीय समाजवादी पार्टी’ ले पनि मधेशमा समर्थन जनाएको थियो । प्रदेशसभामा भएको गोप्य मतदानमा अरु दलका १६ सांसदले पार्टी नीतिविपरीत ‘फ्लोर क्रस’ गरी ‘मधेश प्रदेश’ को पक्षमा मतदान गरेका कारण पारित भएको हो।

प्रदेशसभामा कांग्रेसले ‘मिथिला भोजपुरा’, नेकपा एमाले र नेकपा (एकीकृत–समाजवादी) ले ‘जानकी’ र तथा कांग्रेसकै सांसद राजेश्वर साहले ‘मध्य मधेश’ नाम प्रस्ताव गरेका थिए। दुई वर्षअघि २०७६ चैत ३ गते भएको मतदानमा कुनै नामले दुईतिहाई जुटाउन सकेको थिएन। त्यसअघि सोमबारै बसेको पहिलो बैठकले प्रदेशसभाले स्थायी राजधानी जनकपुरधाम भनी टुंगो लगाएको छ।

जनकपुरको पक्षमा ७८ जनाले मत दिएका थिए। प्रदेश २ को राजधानी तथा नामाकरण सम्बन्धी अध्ययन विशेष समितिले स्थायी राजधानीका लागि सुरुमा ७ वटा प्रस्ताव गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved