राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिस र आर्मीको विजयी शुरुआत

शुरुआती खेलको जितसँगै पुलिस क्लब र आर्मी क्लबले दुई–दुई अंक जोडेका छन्।

नेपालभ्युज

राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिस र आर्मीको विजयी शुरुआत

काठमाडौं। नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी शुरुआत गरेका छन्।

सोमबारदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा जितेन्द्र मुखियाको उत्कृष्ट बलिङको मद्दतले आर्मीले कर्णाली प्रदेशलाई ६३ रनको फराकिलो अन्तरले पराजित गर्‍यो।

अघिल्ला संस्करणमा एकदिवसीय फर्म्याटमा खेलाइने यो प्रतियोगिता यो पटक आउँदो टी-ट्वान्टी विश्वकपको छनोटको तयारी स्वरुप टी-ट्वान्टी फर्म्याटमा खेलाइएको थियो।

त्रिवि खेल मैदान कीर्तिपुरमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मी क्लबले खासै राम्रो प्रदर्शन गर्न नसक्दा अन्तिम पाँच बल खेल्नु अगाडि ११६ रनमा अलआउट भएको थियो। जसका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक २९ रनको योगदान दिएका थिए। बलिङतर्फ कर्णालीका प्रकाश जैशीले तीन विकेट लिए।

जवाफमा ११७ रनको सहज लक्ष्य पछ्याएको कर्णालीको इनिङलाई जितेन्द्रले धरापमा पारे। प्लेयर अफ दी म्याच घोषित उनले चार ओभरमा मात्र १५ रन खर्चेर चार विकेट नै लिएपछि कणार्ली मात्र ५३ रनमा अलआउट भयो।

कर्णालीका दुई खेलाडीबाहेक अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन्।

त्यसैगरी, मुलपानी खेल मैदानमा भएको अर्को प्रतिस्पर्धात्मक खेलमा पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई दुई रनले पराजित गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले पनि आफ्नो इनिङमा राम्रो प्रदर्शन गर्न नसक्दा २० ओभरमा आठ विकेट गुमाउँदै मात्र ९३ रन जोड्न सकेको थियो।

पुलिसका लागि ओपनरद्वय कुशल भुर्तेलले २१ र पवन सर्राफले २० रन जोडेका थिए। बलिङतर्फ नारायण जोशी र आदित्य महताले तीन–तीन विकेट लिएका थिए।

जवाफमा आरिफ शेखले घातक बलिङ गर्दै चार ओभरमा मात्र नौ रन दिएर चार विकेट लिएपछि ९४ रनको सहज विजय लक्ष्य पूरा गर्न मैदानमा उत्रिएको सुदूर ९१ रनमा समेटियो।

निर्धारित ओभरको पूरै खेल खेलेर ९ विकेट गुमाएको सुदूर जितबाट मात्र तीन रनले वञ्चित रह्यो। शुरुआती खेलको जितसँगै पुलिस क्लब र आर्मी क्लबले दुई–दुई अंक जोडेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved