मोदीको आरोप – अर्थमन्त्री शर्माले राम्रो काम गर्न खोज्दा गभर्नर भने असफल बनाउन लागिपरे

नेपालभ्युज

मोदीको आरोप – अर्थमन्त्री शर्माले राम्रो काम गर्न खोज्दा गभर्नर भने असफल बनाउन लागिपरे

काठमाडौं। सत्तासाझेदार नेकपा (माओवादी केन्द्र) सांसद अमनलाल मोदीले गभर्नर महाप्रसाद अधिकारी अर्थमन्त्री जनार्दन शर्मालाई असफल बनाउन लागि परेको आरोप लगाएका छन्।

सांसद मोदीले विभिन्न समाचार माध्याममा आएको समाचारलाई उधृत गर्दै गभर्नर अधिकारीले आफ्नो पार्टीका नेता समेत रहनु भएका अर्थमन्त्री शर्मालाई असफल बनाउन प्रयास गरिरहेका बताए।

आइतबार सिंहदरबारमा आयोजित सार्वजनिक लेखा समितिको बैठकमा मोदीले माओवादीबाट मन्त्री बन्नुभएका शर्माले राम्रो काम गर्ने देखेपछि त्यसलाई असफल बनाउन राष्ट्र बैंकले खोजेको समाचार बाहिर आएको भन्दै सत्य के हो ? भनी गभर्नर अधिकारीसँग प्रश्न गरे।

“ठूलाबडाले बैंकबाट ऋण पाइरहने, सर्वसाधारणले ऋण नपाउने जो स्थिति छ। त्यसलाई कसरी घटाउने ? जो खाडल छ। तलसम्म बैंक जाने कुरामा कसरी सोच्नु भएको छ ? अर्को एउटा पनि हल्ला छ। विभिन्न समाचार माध्यामबाट समाचार पनि आउने गरेका छन्। तपाइहरूको टयुनिङ पनि मिलिराखेको छैन। राष्ट्र बैंक, त्यसमा अर्थ मन्त्रालय, हामी त माओवादीको कार्यकर्ता। त्यसो भन्दाखेरि हाम्रो पार्टीका नेता मन्त्री। माओवादीको मन्त्रीले राम्रो काम गर्छ। उसलाई कसरी असफल बनाउने ? भनेर खोजी राख्नुभएको छ भन्ने पनि न्युजमा, यहाँ, त्यहाँ सुनिराख्या छौं। यसलाई कसरी सोच्नु भएको छ ? बजारमा त्यो पनि हल्ला छ। तपाईहरूका टयूनिङ नमिलिसकेपछि विभिन्न राजनीतिक दृष्टिकोणले पनि हो कि ? के हो ? यसको बारेमा पनि एउटाचाहिँ आइरहेको छ।”

सांसद मोदीले पहुँचवालालाई बैंकले ऋण दिने तर सर्वसाधारणलाई ऋण नदिने अवस्था आएको भन्दै आक्रोश समेत व्यक्त गरे।

यता, जवाफमा गभर्नर अधिकारीले ब्युरोक्रेट्सहरूले, संस्था चलाउनुपर्ने व्यक्तिहरूले त्यस्तो खालको सोचाई कहिल्यै नराख्ने तर्क गरे। गभर्नर अधिकारीले अर्थ मन्त्रालय र आफूबीच हरेक काममा तादम्यता नहुने भन्ने कुनै नहुने बताए।

गभर्नर अधिकारीले आफूहरूले बुझाउन नसकेको कारण गर्दा पनि मिडियाहरूले मन्त्री शर्मा र आफूबीच मतभेद रहेको भनेर गलत समाचार बनाएको दाबीसमेत गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved