पाकरीखोला जलाशयको डीपीआर थालिने, सिँचाइ र जलाशयबाट पर्यटन प्रवर्द्धन गरिने

नेपालभ्युज

पाकरीखोला जलाशयको डीपीआर थालिने, सिँचाइ र जलाशयबाट पर्यटन प्रवर्द्धन गरिने

स्याङ्जा। चापाकोट नगरपालिका-९ मा रहेको पाकरी खोला जलाशयको सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) थालिने भएको छ।

जिल्लाकै समथर र उर्वरायुक्त स्थान चापाकोटमा विशेष गरी सिँचाइ र निर्मित जलाशयबाट पर्यटनसँग जोड्दै आर्थिक लाभ लिन सकिने सम्भावना भएकाले चापाकोट नगरपालिकाको पहलमा सम्भाव्यता अध्ययन र डीपीआर बनाउने भएको हो। “एउटै आयोजनाबाट यस क्षेत्रका बाँझो जमिन सिँचाइ गर्ने र पर्यटकीय क्षेत्र बनाउन सकिने देखिएकाले यसको सम्भाव्यता अध्ययनको काम शुरु गरेका छौँ”, नगर प्रमुख शिवकुमार गिरीले भने, “स्थानीयको पनि माग भएकाले यससम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाएका हौँ।”

इञ्जिनियरको टोलीद्वारा यसको सम्भाव्यता अध्ययन गर्नुका साथै योजनाको अनुमानित लागत आएपछि त्यसैलाई आधार मानेर थप अगाडि बढिने नगरप्रमुख गिरीले बताए। “यो योजनाले चापाकोटका सिँचाइ नपुगेका बाँझा जमिनमा सिँचाइ पुर्‍याउन सहज हुने र उत्पादनमा वृद्धि हुने विश्वास लिएको छु”, प्रमुख गिरीले भने, “कृषि र पर्यटनसँग प्रत्यक्ष जोडिएकाले पनि यसलाई पूरा गर्न नगरपालिकाले आगामी योजना बनाउनेछ।”

जलाशय बनाउन उक्त ठाउँ उपयुक्त भएको चापाकोट टार सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष कृष्ण सुवेदीले बताए। “यो योजना यस क्षेत्रकै गौरवको योजना पनि हो, तसर्थ निर्माण कार्यका लागि सबैले सहयोग गर्नुपर्ने देखेको छु”, अध्यक्ष सुवेदीले भने, “सिँचाइ अभावमा बाँझै रहेका जमिनबाट उब्जाउ लिन सकिने सम्भावना छ।” चापाकोट-९ को पाकरी भन्ने स्थानमा बाँध बाँधेपछि करिब एक किलोमिटर लामो र औसतमा ५० मिटर चौडाइको जलाशय बन्नसक्ने वडाध्यक्ष शङ्करभक्त भण्डारीले बताए।

“नगरपालिकाकै गौरवको योजना हुने भएकाले यसलाई शुरु गर्न सके निकै फाइदा पुग्ने थियो”, अध्यक्ष भण्डारीले भने, “जलाशय निर्माणले यहाँको कृषि, पर्यटन र रोजगारीमा फड्को मार्ने विश्वास लिएको छु।” नगरकै गौरव गर्न मिल्नेमध्ये र त्यो पनि नमूनाका रूपमा रहेकाले यसको सम्भाव्यता अध्ययन गरी प्राप्त प्रतिवेदनमाथि सरोकारवालालाई राखेर बहस हुनुपर्नेमा स्थानीयले जोड दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved