अर्थतन्त्र आयातमुखी हुनुको प्रमुख कारण श्रम निर्यात : अर्थमन्त्री शर्मा

नेपालभ्युज

अर्थतन्त्र आयातमुखी हुनुको प्रमुख कारण श्रम निर्यात : अर्थमन्त्री शर्मा

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र आयातमुखी हुनुको प्रमुख कारण ‘श्रम निर्यात’ रहेको बताएका छन्।

नेपाल निर्यात परिषद् (इकोन) को २४औं साधारणसभा तथा छैठौँ निर्यात दिवसको उद्घाटन कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले नेपालबाट ठूलो श्रमशक्ति विदेश गइरहेको र त्यसले नेपालको उत्पादनमा असर गरेको बताए।

अर्थमन्त्री शर्माले त्यो श्रमशक्तिलाई रोक्न उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने बताए। भने, “उत्पादनमूलक क्षेत्रमा लगानी गरेर रोजगारी श्रृष्टि गर्नु नै समस्याको समाधान हो। हामीले वस्तु निर्यात गर्नुपर्ने ठाउँमा श्रम निर्यात गरेका छौँ। यही नै मुख्य समस्या हो। संकटको कारण यही हो”

यसलाई समाधान गर्न उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु र व्यवसायलाई वृद्धि गर्नु अनि रोजगारी श्रृष्टि गर्नुको अर्को विकल्प नभएको उनले बताए।

विभिन्न वस्तुहरूको पहिचान गरी कतिपय वस्तु आत्मनिर्भर र केही वस्तु निर्यातका लागि उत्पादन गर्नुपर्ने उनको भनाइ छ। त्यसका लागि सरकार र निजी क्षेत्रले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए। नीतिगत, संरचनागत, व्यवहारिक र व्यवसायिक क्षेत्रमा हातेमालो गर्नुपर्ने उनले बताए।

मन्त्री शर्माले इकोनले निर्यातको सानो ‘डोरेटो’ निर्माण गरेको भन्दै संस्थाको प्रशंसा गरे। “इकोनले निर्यातको डोरेटो बनाएको छ। यसलाई हाइवेमा नबदलेसम्म हाम्रो व्यापार घाटा अन्त्य हुन सक्दैन”, उनले भने, “डोरेटो तयार भएकाले अब हामी हाइवेमा बदल्न नयाँ ढङ्गले सोचौँ।”

नीतिगत र संरचनागत सुधारका लागि सकार सधैँ प्रतिबद्ध रहेको पनि उनले स्पष्ट पारे। विगतमा बनाइएका आर्थिक नीति तथा सन्धि सम्झौताहरूको समीक्षा गर्ने समय पनि आएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved