आन्दोलन दबाउन कजाखस्तान पुग्यो रूसी सेना

कजाखस्तानका राष्ट्रपतिले गरेको अनुरोध स्वीकार गर्दै रूस नेतृत्वको गठबन्धन सेना आन्दोलन नियन्त्रणमा लिन त्यहाँ पुगेको छ।

नेपालभ्युज

आन्दोलन दबाउन कजाखस्तान पुग्यो रूसी सेना
कजाखस्तानको व्यापारिक शहर अल्मातीको मूल चोकमा रूसी सेना। तस्वीरः मारिया गोर्देयेभा/रोयटर्स

कजाखस्तान। आन्दोलन हिंसात्मक बन्दै गर्दा रूसी सेना कजाखस्तान पुगेको छ। त्यहाँका राष्ट्रपतिलाई नियन्त्रणका लागि सघाउन मस्को नेतृत्वको सैन्य गठबन्धनको ‘शान्ति स्थापना’ मिसन अन्तर्गत वायु सेना त्यहाँ पुगेको रूसी समाचार एजेन्सीहरूले जनाएका छन्।

२१ पुस (५ जनवरी)का दिन कजाखस्तानका राष्ट्रपति कास्यम-जोमार्त तोकायेभले संयुक्त सुरक्षा सन्धी संगठन (सीएसटीओ) सँग सहयोग मागेका थिए। रूस, अर्मेनिया, बेलारूस, कजाखस्तान, किर्गिजस्तान र ताजिकिस्तान सम्मिलत गठबन्धन हो सीएसटीओ।

कजाखस्तानमा के कति हताहती भएको छ भन्ने विश्वसनीय तथ्यांक आइरहेको छैन। स्थानीय समाचार संस्थाहरूले त्यहाँको सबैभन्दा ठूलो शहर अल्मातीका प्रहरी प्रवक्तालाई उद्धृत गर्दै दर्जनौं मानिस मारिएको उल्लेख गरेका छन्। सरकारी कार्यालयहरूमा आक्रमण गर्ने क्रममा उनीहरू मारिएको बताइएको छ।

अल्माती शहरका अधिकारीहरूले तीन सय ५३ प्रहरी र सुरक्षाकर्मी घायल भएको र १२ जना मारिएको बताएका छन्।

आज (६ जनवरी) बिहान आन्दोलनकारी जत्था अल्मातीको मुख्य चोकमा उक्त सैन्य जत्था पुगेपछि गोली चलेको थियो। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै आज बिहान केही बख्तरबन्द गाडी र पैदल सेना त्यहाँ पुगेको र उनीहरू भिड नजिक पुग्नासाथ गोली चलेको जनाएको छ।

त्यहाँको स्थानीय टेलिभिजनले कजाखस्तानको राष्ट्र बैंकले सबै वित्तीय संस्थालाई काम गर्न रोक लगाएको जनाएको छ।

देशका अधिकांश ठाउँमा इन्टरनेट र मोबाइल फोन सञ्चालनमा छैनन्।

हिजो (५ जनवरी) मा अल्माती र अन्य शहरमा हिंसात्मक झडप भएको खबर प्राप्त भएको थियो। त्यस्तै प्रदर्शनकारीहरू हताहत भएको अपुष्ट भिडिओहरू सार्वजनिक भएका थिए।

साँझपख राष्ट्रपति तोकायेभले सीएसटिओसँग आफूलाई पुनः नियन्त्रण कायम गर्न सघाउन अनुरोध गरेका थिए। उनले अनुरोध गरेलगत्तै अर्मेनियका प्रधानमन्त्री निकोल पाशिन्यानले गठबन्धनले मध्य एशियाली देशमा ‘स्थिरता कायम गर्न’ सैन्य शक्ति पठाउने बताएका थिए।

सीएसटिओले कति संख्यामा सैन्य दस्ता परिचालन गरेको छ र ती कहिलेसम्म कजाखस्तानमा रहनेछन् भन्ने जनाइएको छैन। रूसी अधिकारीहरूले ‘कजाखस्तानका राष्ट्रपतिले आवश्यक ठान्दासम्म ती सेना त्यहाँ रहने’ जनाएका छन्। उनीहरू देशको पूर्वाधार जोगाउन खटिने बताइएको छ।

आन्दोलनलाई ‘आतंककारी’ गतिविधी भन्दै र देश विदेशबाट प्रशिक्षित दस्ताको ‘आक्रमण’को शिकार भएको भन्दै राष्ट्रपति तोकायेभले गठबन्धनसँग सहयोग मागेका थिए।

इन्धनको मूल्यवृद्धि भएको विरोधमा देशको पश्चिमी भूभागबाट शुरू भएको आन्दोलन सर्वत्र फैलिएको छ र त्यसले हिंसात्मक रूप लिएको छ। प्रदर्शनकारीहरूले विभिन्न सरकारी भवनमा कब्जा जमाएका छन्।

मूल्यवृद्धिविरूद्ध शुरू भएको आन्दोलन वर्तमान राष्ट्रपति र पूर्व राष्ट्रपति नुरसुल्तान नजरबाएभविरूद्ध लक्षित भएको हो। ३० वर्षसम्म शासन चलाएका नजबाएभले सन् २०१९ मा स्वेच्छाले पदत्याग गरेका थिए। यद्यपी उनी राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख थिए।

“नजरबाएभ र उनको परिवारले बैंक, सडकदेखि तेलसम्म सबै क्षेत्रमा कब्जा जमाएका छन्। यो आन्दोलन भ्रष्टाचारविरूद्ध हो”, आइतबारदेखि प्रदर्शनमा सहभागी ५५ वर्षीय जौरेश शेकेनोभाले भने।

“तेलको मूल्यवृद्धिविरूद्ध शुरू भए पनि यो आन्दोलनको मुख्य कारण जनताको दयनीय जीवन, उच्च मूल्यवृद्धि, बेरोजगारी र भ्रष्टाचारका कारण भएको हो”, आन्दोलनमा सहभागी नागरिक समाजका अभियन्ता दर्खन शारीपोभले भने, “मानिसहरू भ्रष्टाचार र नातावादबाट हैरान भइसकेका छन्। हामी राष्ट्रपति तोकायेभले वास्तविक राजनीतिक सुधार गरून वा निष्पक्ष निर्वाचन गरून् भन्ने चाहन्छौं ।”

युक्रेनमा रूसी हस्तक्षेप हुने सम्भावना बढ्दै जाँदा कजाखस्तानमा आन्दोलन शुरू भएको हो। रूस र कजाखस्तान एउटै आर्थिक संघका लामो सीमा जोडिएका देश हुन्।

अर्मेनिया, बेलारूस, कजाखस्तान, किर्गिजस्तान र ताजिकिस्तान – पूर्व सोभियत संघमा संलग्न यी मध्य एशियाली देशहरूमा किर्गिजस्तानमा बाहेक अन्यमा तीन दशकदेखि यस्तो आन्दोलन भएको थिएन। किर्गिजस्तानमा भने थुप्रै क्रान्तिहरू भएका थिए।

सोभियत संघबाट अलग्गिएपछि कजाखस्तानमा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू सहभागी भएको र स्वतन्त्र निर्वाचन भएको छैन।

देशव्यापी असन्तुष्टि भए पनि वर्षौंदेखि विरोधको आवाज नसुनिएबाट के पुष्टि हुन्छ भने त्यहाँ यो आन्दोलनलाई एकताबद्ध गर्ने कुनै व्यक्तित्व छैनन्। आन्दोलनले जनताको असन्तुष्टि अभिव्यक्त गरे पनि यो दिशाविहीन देखिन्छ।

द गार्जियनबाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved