त्रिपालमुनि कठ्याङ्ग्रिँदै कैलालीका बाढीपीडितहरू

कुनै पनि सरकारले नागरिकलाई चिसोबाट बचाउन कार्यक्रम ल्याएनन्

सुदूरपश्चिमको तराईमा शितलहर र बाक्लो कुहिरो लागेको छ। चिसो अत्याधिक बढेको छ। घरबारविहीन भुकलीहरू त्रिपालमुनि चिसोले थरथर काँपिरहेका छन्।

त्रिपालमुनि कठ्याङ्ग्रिँदै कैलालीका बाढीपीडितहरू

धनगढी। भजनी नगरपालिका-५ लालबोझी ७० वर्षीया भुकली डंगौरा एउटा सानो त्रिपालभित्र कठ्याङ्ग्रिएर बसेकी छन्।

कैलालीमा केही दिनदेखि शितलहर र हुस्सुसँगै चिसो अत्यधिक रूपमा बढेको छ। तर, भुकली सडकछेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छन्।

गत १, २ कात्तिकमा आएको भारी वर्षाले उनको घरबास बगायो। घरबारविहीन भएपछि उनलाई नगरपालिकाले त्रिपाल सहयोग गर्‍यो। त्यो बेलादेखि उनी त्यही त्रिपालभित्रै गुजारा गरिरहेकी छन्। उदास भावमा उनले भनिन्, “नगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा यही त्रिपाल पाएकी हुँ। चिसो बढेको छ। सडकमा सुत्न बाध्य छु।”

मंगलबार रातिदेखि सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको छ। कैलाली, कञ्चनपुर, डोटी र डडेल्धुरामा वर्षा भएको छ। तराईमा शितलहर र बाक्लो कुहिरो लागेको छ। चिसो अत्याधिक बढेको छ। घरबारविहीन भएका भुकलीहरू त्रिपालमुनि चिसोले थरथर काँप्दै दिन काटिरहेका छन्।

भुकुलीजस्तै बाढीले घर बगाएर त्रिपालमुनि रात बिताइरहेका धेरै परिवार छन्। लालबोझी हरिमाया थारू भन्छिन्, “शित नपर्दासम्म त जसोतसो रात बितायौं, अहिले त शितलहर शुरु भयो बसिनसक्नुभएको छ।” अहिले उनको स-परिवार सडकछेउको त्रिपालमुनि रात बिताइरहेको छ।

सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा बिहीबारदेखि बाक्लो हुस्सु लागिरहेको छ। शितलहर चलिरहेको छ। विपन्न वर्गमाथि थप कष्ट थपिएको छ। चिसोबाट आम नागरिकलाई सुरक्षित राख्न भने प्रदेश र स्थानीय सरकारहरूले अहिलेसम्म कुनै ठोस योजना तथा कार्यक्रम ल्याएका छैनन्।

शितलहर र अत्यधिक चिसोबाट आममानिसलाई सुरक्षित राख्न सामाजिक विकास मन्त्रालयमा न्यानो कपडा वितरण गर्ने कार्यक्रम राखेको बताए पनि सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले भनिन्, “अहिले मन्त्रालयले सो कार्यक्रमलाई अघि बढाएको छ वा छैन भन्ने मैले जानकारी लिन पाएको छैन।”

मन्त्री जोशीले अहिलेसम्म शितलहरबाट यस प्रदेशमा कति जना प्रत्यक्ष रूपमा प्रभावित भएको बारे आफूसँग जानकारी नआएको बताइन्। विशेषतः मुक्तकमैया शिविर, बाढी तथा पहिरोबाट विस्थापित परिवार अहिले चिसोबाट प्रभावित भए पनि उनीहरूको विषयमा भने कुनै पनि सरकार गम्भीर बन्न नसकेको सरोकारवालाहरू बताउँछन्।

विपद् आएका बेला प्रभावित परिवारलाई राहत तथा विभिन्न सामग्री प्रदान गरिन्छ। जब घटना सामान्य बन्दै जान्छ उनीहरूको उचित बसोबास पनि भएको हुँदैन। “अन्य विपदबाट हुन सक्ने क्षतिको आकलन पनि गरिँदैन,” विपद् क्षेत्रमा काम गरिसकेका नेकपा (एमाले) प्रदेश सचिव धर्मराज पाठक भन्छन्।

विगतका वर्षहरूमा स्थानीय तहहरूले चोकचोकमा आगो बाल्नका लागि दाउरा वितरण, विपन्न असहाय परिवार तथा व्यक्तिलाई न्यानो कपडा वितरण गर्नेलगायत कार्यक्रम गर्दै आएका थिए।

स्थानीय तहमा जनप्रतिनिधिहरूले आएपछि सो कार्यक्रमले निरन्तरता पाएको थियो। तर, कोभिड-१९ को महामारीसँगै जारी निषेधाज्ञापछि दुई वर्षयता स्थानीय तहहरूले चोकचोकमा दाउरा वितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिएका छैनन्।

एमाले प्रदेश सचिव पाठकले विपदबाट हुने क्षति न्यूनीकरण गर्न प्रदेश तथा स्थानीय सरकारहरू गम्भीर नभएको बताए। तत्काल सरकारहरूले शितलहरबाट नागरिकलाई बचाउन गम्भीर हुनुपर्ने उनले सुझाव दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved