कांग्रेस सिरहा जिल्ला अध्यक्षको आरोप – एसपीले मलाई मार्न पेस्तोल लिएर आएका थिए

कांग्रेस सिरहा जिल्ला अध्यक्षको आरोप – एसपीले मलाई मार्न पेस्तोल लिएर आएका थिए

जनकपुरधाम। नेपाली कांग्रेसका सिरहा जिल्ला सभापति रामचन्द्र यादव र जिल्ला प्रहरी कार्यालय सिरहा प्रमुख एसपी हीराबहादुर पाण्डेबीच सरुवाको विषयमा विवाद भएको छ।

सभापति यादवले एसपी पाण्डे आइतबार मध्यराति आफ्नो घरमा आएर गोली हान्न खोजेको आरोप लगाएका छन्। उनले भने, “एसपी सापसँग मेरो खासै कुनै त्यस्तो ठूलो विवाद वा मतभेद थिएन। तर, राति मलाई मार्छु भनेर पेस्तोलसहित मेरो घरमा आउनुभएको रहेछ।”

सभापति यादवले यस विषयमा आफूले सोधीखोजी गरिरहेको बताए। भने, “मेरो घरमा पेस्तोल लिएर मार्छु भन्दै आएका एसपी पाण्डेलाई सीडीओ लालबाबु कवारी र सशस्त्रका एसपी दीपेन्द्र गिरीले फर्काएर लिएर जानुभएको रहेछ। मैले अहिले मात्रै थाहा पाए। यो विषयमा सोधीखोजी गर्दैछु।”

केहि दिन अघि सभापति यादव संग विवाद हुँदा सरुवा गरिदिने धम्की दिएको र प्रहरी प्रधान कार्यालयले एसपीलाई हेडक्वार्टर तानेपछि उनि सभापति यादवसँग आक्रोशित हुँदै मार्छु भन्दै उनको घरमा पुगेको बताइएको छ।

यस विषयमा एसपी पाण्डेले भने आफूहरूबीच कुनै विवाद नभएको र उनलाई मार्छु भनेर घरसमेत नगएको दाबी गरेका छन्। एसपी पाण्डेले भने, “उहाँसँग मेरो कुनै विवाद भएको होइन, कर्तव्य ज्यान मुद्दाका अभियुक्त पक्राउ गरेपछि उहाँ (यादव) ले मलाई मेरो सरुवा गर्छु भन्नुभएको थियो र सरुवा पनि भयो।”

११ कात्तिकमा किसन धामीलाई गोली हानी हत्या गरेको अभियोगमा सुशील यादव र प्रमोद यादवलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका उनीहरू अहिले पुर्पक्षका लागि जेलमा छन्। एसपी पाण्डेले यही केसमा सभापति यादवले आफूलाई ती अभियुक्तहरूलाई समातेपछि छोड्न आफूलाई दबाब दिएको बताए। एसपी पाण्डेले भने, “यही मात्र विवाद हो, उहाँसँग अरू कुनै कुरा केही छैन र मेरो सरुवाको विषयमा म उनको घरमा समेत गएको हैन।

सिरहाका प्रमुख जिल्ला अधिकारी कवारीले पनि एसपी पाण्डे राति गस्तीमा गएकोबाहेक अरू थप केही आफूलाई थाहा नभएको बताए।

असार ८ गते सिरहा सरुवा भएर आएका एसपी पाण्डेलाई ६ महिनामै प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएको छ र उनको ठाउँमा एसपी अर्जुन तिमिल्सिनालाई सिरहा पठाइएको छ।

यता केही दिनदेखि सीके राउत नेतृत्वको जनमत पार्टीले समेत सिरहामा किसान आन्दोलनको नाममा बन्द, हडताल गर्नुका साथै सवारी साधनहरूमा तोडफोड र आगजनी गरी क्षति गरिरहेको अवस्थामा एसपीको सरुवालाई अर्थपूर्ण रुपमा हेरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved