सुदूरपश्चिममा भारी हिमपात, राजमार्ग अवरुद्ध

नेपालभ्युज

सुदूरपश्चिममा भारी हिमपात, राजमार्ग अवरुद्ध

डडेल्धुरा। डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्लाका उच्च भेगमा मंगलबार रातिदेखि हिमपात शुरु भएको छ। हिमपातका कारण भीमदत्त राजमार्ग र जयपृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध बनेका छन्।

सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गको हगुल्टे र साहुखर्क क्षेत्रमा रातिदेखि हिमपात भएपछि यातायात अवरुद्ध छ। हिउँ परेपछि तराई–पहाडका जिल्लाका लागि गुडेका सवारीसाधन राजमार्गमै रोकिएका छन्। यात्रु बाटोमै अलपत्र परेको बताइएको छ।

मङ्गलबार बेलुकादेखि पानी पर्न शुरु भएसँगै रातिदेखि हिमपात भएको हो। भीमदत्त राजमार्गको साहुखर्क र हगुल्टेमा आज बिहानदेखि सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए।

सडक क्षेत्रको हिउँ पन्छाउन डोजर पठाइएको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नबलबहादुर मल्लले बताए। जिल्ला प्रहरीको टोली पनि त्यसतर्फ गएको छ।

डडेल्धुरा, बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुलाका उच्च भेगमा हिमपात शुरु भएसँगै चिसो बढेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved