नयाँ दिल्लीसहित भारतका ठूला शहरमा क्रिसमस र नयाँ वर्षका कार्यक्रममा प्रतिबन्ध

नेपालभ्युज

नयाँ दिल्लीसहित भारतका ठूला शहरमा क्रिसमस र नयाँ वर्षका कार्यक्रममा प्रतिबन्ध

एजेन्सी। भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण फैलिने क्रम निरन्तर जारी छ। हालसम्म भारतमा ओमिक्रोन संक्रमितको संख्या २२८ पुगेको छ, जसमध्ये सबैभन्दा बढी संक्रमण महाराष्ट्र र नयाँ दिल्लीमा देखिएको छ।

ओमिक्रोनको बढ्दो संक्रमणलाई रोक्न भारतमा क्रिसमस डे र नयाँ वर्षका कार्यक्रममा प्रतिबन्ध लगाइएको छ। केन्द्र सरकारले ठूला जमघट र कार्यक्रममा प्रतिबन्ध लगाउन प्रान्त सरकारलाई निर्देशन दिएको छ। योसँगै नयाँ दिल्ली र मुम्बईसहित केही शहरहरूमा क्रिसमस डे र नयाँ वर्षका कार्यक्रममा प्रतिबन्ध लगाइएको छ।

ओमिक्रोनको संक्रमण तीव्र गतिमा बढ्दै गएपछि केन्द्र सरकारले मंगलबार सबै राज्य र केन्द्र शासित प्रदेशहरूलाई पत्र लेखेको छ। बढ्दो संक्रमण नियन्त्रणका लागि कडाइ गर्न निर्देशन दिएको छ। कोरोनाको परीक्षण र खोप बढाउनु बाहेक, केन्द्रले रातको समयमा कर्फ्यू लगाउन, ठूलो जमघटमा प्रतिबन्ध लगाउन, विवाह र अन्त्येष्टिमा मानिसहरूको संख्या सीमित गर्न सुझाव दिएको छ।

दिल्ली रोग व्यवस्थापन प्राधिकरणले ३१ डिसेम्बरसम्म केही प्रतिबन्ध लगाएको छ। होटल, बार वा रेष्टुरेन्टमा क्षमताभन्दा आधा मात्रै ग्राहक राख्न पाउने व्यवस्था गरिएको छ।

सबै प्रकारका राजनीतिक, सामाजिक, साँस्कृतिक, धार्मिक र जमघटमा प्रतिबन्ध लगाइएको छ। सीमित संख्यामा बैंक्वेट हलमा विवाह, बैठक, सम्मेलन र प्रदर्शनी बाहेकका कार्यक्रम रोक्न दिल्ली प्रहरीलाई निर्देशन गरिएको छ।

हल वा ठाउँको क्षमताअनुसार नयाँ वर्ष वा क्रिसमस मनाउने पार्टीमा ५० प्रतिशत मात्रै सहभागी हुन दिइनेछ। खुला स्थानको कार्यक्रममा क्षमताअनुसार २५ प्रतिशत मात्रै उपस्थितिका लागि अनुमति दिइएको छ भने १ हजार भन्दा बढी मानिस आउने कार्यक्रमका लागि अनुमति लिनुपर्नेछ।

यसैगरी कर्नाटक सरकारले पनि नयाँ वर्षमा सार्वजनिक स्थलमा सबै कार्यक्रममा प्रतिबन्ध लगाएको छ। ३० डिसेम्बरदेखि २ जनवरीसम्म राज्यमा कुनै पनि पार्टी वा सामूहिक कार्यक्रममा प्रतिबन्ध लगाइएको छ।

अन्य समयमा हरेक रात कर्फ्यू लगाउने निर्णय भएकोमा यहाँ २४ डिसेम्बर र क्रिसमस डे तथा नयाँ वर्षको दिन भने रातमा कर्फ्यू लाग्नेछैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved