के पुबुदु बन्लान् नेपाली क्रिकेटका संकट मोचक?

दुर्घटनामा परिन्छ भन्‍ने थाहा हुँदा हुँदै पनि खेलाडी र क्यानको द्वन्द्वले नेपाली क्रिकेट भीरमा पुगिसकेको छ। एउटै आशा, पुबुदुले उद्धार गरिदिन्छन् कि भन्ने हो। तर, उनी पनि अन्त्यमा ‘‘राम राम’ भन्दै त फर्कदैंनन्, चिन्ता यसैमा छ।

के पुबुदु बन्लान् नेपाली क्रिकेटका संकट मोचक?

काठमाडौं। पुबुदुृ दासानायकेलाई निकै हिम्मतिला व्यक्ति मान्नुपर्छ। उनी त्यस्तो संकटमा नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक भएर नेपाल आउँदैछन्, जुन समयमा टिम सम्हाल्न सायदै कसैले चाहलान्।

सन् २०११ मा पहिलो पटक नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकको जिम्मेवारी समाल्दा पुबुदका सामु नेपाललाई विश्वकपसम्म पुराउने एक मात्र चुनौती थियो। त्यो, उनले पूरा पनि गरे। नेपालले पहिलो पटक सन् २०१४ को टी–ट्वान्टी विश्व कप खेलेर इतिहास रचेको थियो।

दोस्रो कार्यकालमा पनि प्रशिक्षकको रुपमा उनको प्रमुख चुनौती फेरि नेपाललाई विश्वकप खेलाउने नै हो। तर त्योभन्दा पहिले उनले फोर्नुपर्ने चुनौती पहाडजस्ता छन्।
भड्खालोमा फस्‍न लागेको नेपाली क्रिकेटलाई अब कसैले पार लगाउन सक्छ भने त्यो सायद पुबुदु नै होलान्।

विवादले समस्या

नेपाल क्रिकेट संघ क्यान र राष्ट्रिय टिमका केही खेलाडीबिचको विवादले उग्ररुप लिइसक्यो। दुबै पक्ष विवाद समाधानका लागि टसमस पनि नगर्ने सोचमा रहेपछि नेपाली क्रिकेट नै दुर्घटना उन्मुख देखिन्छ। त्यसैले, नेपाली क्रिकेटमा परेको संकट मोचनको जिम्मा अब पुबुदुकै काँधमा छ।

सायद, विवाद मिलाउन सक्ने र खेलाडीलाई मनाउनसक्ने खुबी देखेरै क्यानको बोर्ड बैठकले सर्वसम्मतीमार्फत उनलाई नयाँ प्रशिक्षकको रुपमा छनोट गरेको हो। नेपाली क्रिकेटभित्रको राजनिति, विवाद र तनावलाई राम्रोसँग बुझ्ने थोरै मान्छे मध्येमा पुबुदु पनि एक हुन्।

किनकी कुनै समय उनी आफैं पनि यहाँको राजनीतिका कारण विवादमा तानिएका थिए। जसले समस्यालाई सही अर्थमा बुझेको हुन्छ, त्यसैलाई नै समस्याको समाधान खोज्न पनि सजिलो हुन्छ।

सन् २०१४ मा पहिलो पटक टी–ट्वान्टी विश्व कप खेलेर र त्यो विश्व कपमा उत्कृष्ट प्रदर्शन पनि गर्दै नेपाली टिम घर फर्केपछि राष्ट्रिय टिमका खेलाडीहरुले क्यानको बेथितीको विरुद्धमा मोर्चाबन्दी गरेका थिए। त्यतिबेला विवाद बढ्दै जाँदा क्यानविरुद्ध अख्तियारमा भ्रष्टाचारको उजुरी पर्‍यो।

विरोध र उजुरीको त्यो श्रृंखलामा खेलाडीलाई पुबुदुको राम्रै साथ र सहयोग थियो। क्यानविरुद्धको आन्दोलनमा खेलाडीहरुको पक्षमा उभिएपछि उनलाई नेपाल बस्न गाह्रो भयो, किनकी उनलाई नियुक्ती त क्यानले नै दिएको थियो।

सन् २०१६ मा आईसीसीले क्यानभित्रको आन्तरिक राजनीतिलाई कारण देखाउँदै नेपाली क्रिकेटलाई प्रतिबन्ध लगाउनुअघि नै पुबुदुले राजीनामा दिइसकेका थिए। र, यसको कारण क्यानका पदाधिकारीहरुले सुरु गरेको किचलो नै थियो।

नेपाली क्रिकेटभित्र र बाहिरको राजनीति, नेपालको क्रिकेट संस्कार, क्रिकेटको संरचना तथा खेलाडी र क्यानको हरेक अवस्थाबारे उनी त्यतिबेलादेखि नै जानकार छन्।
उनी नेपाली खेलाडीका राम्रो सारथी हुन्।

हरेक खेलाडीले उनलाई मान्ने गर्छन्। त्यसैले पनि क्यानले हाल आफु र खेलाडीबीचको असमझदारी हटाउने सेतुको रुपमा प्रयोग गर्न उनलाई छानेको हो।

अघिल्लो कार्यकालमा खेलाडीसँग लागेर क्यानविरुद्ध नै उत्रेकाले उनलाई फेरि प्रशिक्षक बनाउनु हुँदैन भन्ने तर्क पनि आइरहेका छन्। तर, हाल खेलाडी र क्यानबीचको विवाद पहिलेभन्दा फरक छ। अनि, क्यानका पदाधिकारी पनि फरक छन्।

हाल प्रशिक्षकका अन्तर्वार्ता दिने क्रममा पुबुदुले पुराना सबै कुरा भुलेर क्यान कार्यसमितिसँग मिलेर काम गर्ने संकल्प गरेका थिए। आफ्नो योजनाअनुसार काम गर्न राजी भएको र खेलाडीसँग पनि राम्रो सम्बन्ध भएकाले नै उनी क्यानको रोजाईमा परेका हुन्।

“म आशावादी छु कि अबका दिनमा नेपाली क्रिकेटलाई अझ उचाईमा पुराउन सक्नेछु। जसका लागि सिनियर मात्र होइन जुनियर तहमा पनि हामीलाई धेरै प्रतिभावान् खेलाडीहरुको साथ रहनेछ,” पुनः नेपालको प्रशिक्षकको रुपमा नियुक्त भएपछि पुबुदुले यस्तो भनेका छन्।

खेलाडी र क्यानको विवादकै कारण अघिल्लो प्रशिक्षणकालमा राजीनामा दिन बाध्य भएका उनी हाल भने खेलाडी र क्यानको विवादमा मध्यस्तकर्ता बन्ने अपेक्षा गरिएको छ।

तर, त्यति सजिलो भने देखिदैंन।

अनुशासनको कारण देखाउँदै पूर्व कप्तान ज्ञानेन्द« मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीलाई क्यानले कारबाही गरिसक्यो।
वार्षिक सम्झौताका लागि क्यानले गरेको वर्गीकरण चित्त नबुझेपछि उनीहरुले मिडियामा बोलेका थिए।

यसपछि क्यानले दुईपटक उनीहरूसँग स्पष्टीकरण माग्यो। स्पष्टीकरण चित्त नबुझेपछि चार खेलाडीसँग २०२२ को पहिलो ६ महिनासम्म वार्षिक सम्झौता नगर्ने निर्णय क्यानले ग¥यो। ज्ञानेन्द्र कप्तान र दीपेन्द्र उपकप्तानको भूमिकाबाट हटे। यसपछि एकजुट भएका राष्ट्रिय टिमका खेलाडीहरूले क्यानले तय गरेको राष्ट्रिय टिम र यू–१९ टिमको अभ्यास खेल पनि खेलेनन्।

यस्तो अवस्थामा खेलाडीलाई एकत्रित बनाएर फेरि क्यानसँग मिलाएर टिमलाई अघि बढाउन पक्कै पनि पुबुदुलाई सहज हुनेछैन। कारबाहीमा परेका चार खेलाडीले पत्रकार सम्मेलनमार्फत क्यानले कारबाहीमा पुनर्विचार गर्नुपर्ने र वर्गीकरण सच्चाउनुपर्ने माग राखेका छन्।

अन्यथा, राष्ट्रिय टिमबाट सन्यास लिनेसम्मको निर्णयमा पुग्नसक्ने संकेत उनीहरुले गरेका छन्। यो विवादमा राष्ट्रिय टिमका धेरे खेलाडी अहिले कारबाहीमा परेका चार खेलाडीकै खेमामा छन्।

यसअघि नै खेलाडीहरुको समुहले क्यानसामु विभिन्न प्रश्नहरु तेर्साउँदै ११ बुँदे ज्ञापनपत्र बुझाएर आफ्नो माग राखेको थियो। सतहमा विवादको कारण सामान्यजस्तो देखिएपनि भित्री कारणहरू धेरै छन्।

एकातर्फ, विभिन्न राजनीतिक दल निकटका पदाधिकारीहरुले क्यानभित्र गुट बनाएर आफ्नो स्वार्थअनुरूप काम गर्दै आएका छन्। अर्कोतर्फ, राष्ट्रिय टिममा रहेका र बाहिरका खेलाडीहरू पनि गुटबन्दी गर्दै एकपछि अर्को माग तेर्साउन माहिर छन्।

यसरी, पदाधिकारी र खेलाडी नै विभिन्न शक्ति समुहमा बाँडिदा हाल केही खेलाडी र क्यानका पदाधिकारीमा शक्ति प्रदर्शन गर्ने होडबाजी चलिरहेको छ। दुबै पक्ष एकअर्कासँग अलिकति पनि झुकेर विवाद समाधानमा जान चाहेजस्तो देखिदैंन।

नेपालीमा एउटा उखान छ  : ‘‘ भीरबाट खस्न लागेको गोरूलाई राम राम भन्न सकिन्छ। काँध थाप्न सकिदैंन ।’’ वर्तमान समयमा नेपाली क्रिकेटको नियति यस्तै छ।  दुर्घटनामा परिन्छ भन्‍ने थाहा हुँदा- हुँदै पनि खेलाडी र क्यानको द्वन्द्वले नेपाली क्रिकेटलाई भीरमा पुगिसकेको छ।

एउटै आशा, पुबुदुले उद्धार गरिदिन्छन् कि भन्ने हो। तर, उनी पनि अन्त्यमा ‘‘राम राम’ भन्दै त फर्कदैंनन्, चिन्ता यसैमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved