प्रदेश २ मा खोप भण्डारण गृहको स्थापना

प्रदेश २ मा खोप भण्डारण गृहको स्थापना

जनकपुरधाम। प्रदेश २ मा खोप भण्डारण गृहको स्थापना गरिएको छ। खोप भण्डारण गृहको स्थापना भएपछि प्रदेश २ मा खोप भण्डारणको अभावले प्रदेशवासीले भोग्दै आएको समस्याको अन्त्य भएको छ।

प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डा.प्रमोद यादवको अनुसार नेपाल सरकारको आर्थिक सहयोग तथा कोभ्याक्स सुविधा अन्तर्गत युनिसेफले मेसिनरी सहयोगमा जनकपुरधाममा खोप भण्डारण गृहको स्थापना गरिएको छ।

पहिलो चरणमा दुई वटा युनिटको निर्माण भएको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डा. यादवले जानकारी दिए। उनले यस भण्डारण गृहमा ४० हजार लिटरको दुई दुई वटा युनिटको निर्माण गरेर सञ्चालनमा ल्याएको र यस अन्तर्गत अहिले लाखौँ डोज खोप भण्डारण गरेर राख्न मिल्ने बताए।

डा. यादवले प्रदेश २ मा खोप भण्डारणको अभावका कारणले प्रदेश १ को विराटनगर तथा प्रदेश ३ को हेटौँडाबाट खोप मगाएर काम गर्दा समस्या आइरहेको बेलामा प्रदेश २ को राजधानी जनकपुरधाममा नै खोप भण्डारण गृह सञ्चालनमा आएपछि खोपको अभाव नहुने बताए।

यसअघि, खोपको समयमा आपूर्ति नभएका कारणले जनस्वास्थ्यमा नकारात्मक असर पर्ने गरेको थियो।

निकट भविष्यमा नै थप दुई वटा युनिट निर्माण गरेपछि खोप भण्डारण गृहको क्षमतामा वृद्धि हुने भएको छ।

युनिट थप भएपछि क्षमतामा निक्कै वृद्धि भएर अन्य प्रदेशहरूमा पनि पठाउन सकिनेछ।

खोपका लागि उचित तापक्रम नभएको खण्डमा खोपको प्रभाव कम भएर कतिपय अवस्थामा खोप काम नगर्ने अवस्था आउने भएकाले खोप भण्डारण गृहको निर्माण निक्कै महत्त्वपूर्ण भएको बाल रोग विशेषज्ञ समेत रहनु भएका डा. यादवले जानकारी दिए।

नियमित रुपमा बालबालिकाका लागि प्रदान गर्ने दादुरा रुवेला, बी सी जी, डिपीटी, हेप वि हिव, पोलियो, एफ आई पि भि, विसिभि, रोटा जस्ता खोप सहित एन्टी स्नेक भेनम सहितका खोपहरूको भण्डारणका लागि निक्कै उपयोगी भएको प्रदेश २ को स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाले जानकारी दिए।

झाले प्रदेशको मध्य भागमा भण्डार गृह भएकाले आपूर्तिमा सहजता हुने बताए।

अहिले नव निर्मित प्रदेश खोप भण्डारण गृहमा कोरोना विरुद्धको मोडर्ना खोपका ४ लाख ४७ हजार डोज भण्डारण गरेर राखिएको छ।

खोप भण्डारण गृहको निर्माण भएपछि पालिकाको वडासम्म सञ्चालन हुने नियमित खोप कार्यक्रमलाई ठुलो मद्दत पुग्ने भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved