ओलीले भने ‘एमालेले अब कसैसँग एकीकरणको कुरै गर्दैन’

नेपालभ्युज

ओलीले भने ‘एमालेले अब कसैसँग एकीकरणको कुरै गर्दैन’

काठमाडौँ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अब कसैसँग एकता, एकीकरणको कुरा नहुने बताएका छन्। काठमाडौंमा आयोजित साइबर सर्कलको घोषणा सभामा सम्बोधन गर्दै ओलीले एमालेले एकता र एकीकरण गर्नुपर्ने पार्टी कुनै नभएको बताएका हुन्।

‘कोसँग एकता गर्ने माधव नेपालसँग ?,’ उनले भने, ‘माधव नेपालले झुक्याएर लगेका साथीहरू निद्राबाट ब्युँझनुस्, फर्किनुस्।’

यस्तै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समस्या मात्रै खडा गर्ने आरोप लगाएका छन्। ‘प्रचण्डले समस्या समाधान गर्ने होइन, समस्या खडा मात्रै गर्छन्,’ उनले भने, ‘हामीलाई बिगार्न खोज्या थ्यो, हामीलाई देखेपछि टाप। अहिले कांग्रेसलाई समातेको छ, म कांग्रेसलाई सुझाव दिन चाहन्छु प्रचण्डले भ्याइदिन्छन्।’

त्यस्तै उनले न्यायिक क्षेत्रमा भइरहेको विवादलाई ‘क्यान्सर’को संज्ञा दिँदै त्यसलाई जरैदेखि फ्याँक्नुपर्ने बताएका छन्। उनले भनेका छन्, ‘न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ। न्यायाधीश, बारले भनिरहेको छ। वरिष्ठ अधिवक्ता, कानून व्यवसायी, जनता छक्क परिरहेको छ।’

सामान्य रूपमा सर्वोच्च अदालतको विवाद साम्य नहुने बताउँदै उनले भने, ‘क्यान्सरको उपचार धामी बोलाएर दुबोको मुन्टा, कुखुराको अण्डा ल्याएर यसो यसो पारेर दुनामा लगेर मन्साउने ? त्यो विचरा अण्डा मन्साएर, अण्डा पर लगेर राखेर क्यान्सर निको हुन्छ ? अप्रेसनको आवश्यकता छ। किमोको आवश्यकता छ। बिमार त्यो तहको छ।’

त्यस्तै पाँच दलको कारण सर्वोच्चमा विवाद जारी रहेको आरोप लगाए। उनले भने, ‘मेरो नेतृत्वको सरकारतिर फ्याँकिएको ब्रह्मास्त्र फर्किएर भएको हो। अहिले देशमा आन्दोलन छैन। सर्वोच्च अदालतको आँगनमा मात्रै आन्दोलन छ। जनता छक्क परिरहेको छ। यो पाँच दलको कानूनी क्षेत्रको प्रकटीकरण मात्रै हो।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved