सिन्धुली। बीपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका-८ करकरेमा भएको सवारी दुर्घटना एक जनाको मृत्यु भएको छ। कुखुरा बोक्ने बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा तेजेन्द्र बुढामगरको घटनास्थलमा नै मृत्यु भएको हो।
मोटरसाइकल चालक बागलुङ जिल्ला साविक दलिन गाविस–९ निवासी बुढामगर पर्सा प्रहरी कार्यालयमा कार्यरत प्रहरी भएको खुलेको प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए।
बर्दिबासबाट सिन्धुलीतर्फ आउँदै गरेको ना३६प ५७९ नम्बरको मोटरसाइकललाई बर्दिबासतर्फ जाँदै गरेको बा२च ९२२६ नम्बरको बोलेरोले ठक्कर दिएको उनले जानकारी दिए।
मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु भएपछि आक्रोशित स्थानीयले बोलेरोमा आगजनी गरी राजमार्ग अवरुद्ध गरेका छन्। आज साँझ दुर्घटना भएको र आक्रोशित स्थानीयले बोलेरोमा आगजनी गरेका कारण राजमार्ग अवरुद्ध भएको हो। तीन घण्टादेखि राजमार्ग खुलाउने प्रयास प्रहरीले गरे पनि राजमार्ग सञ्चालन हुन सकेको छैन।
Facebook Comment
Comment