जनयुद्धकालमा भेरीमा बगेको एउटा प्रेम

“पुलछेवैको घरमा आमालाई दिनू भनेर एउटी साथीको हातमा झोला सुम्पिइन्। त्यसपछि पुलमा पुगिन्। पुलबाट ‘मेरो राजा’ भन्दै गार पसिन्।”

जनयुद्धकालमा भेरीमा बगेको एउटा प्रेम

यो प्रेमकथा हो। युद्धकालमा रोपिएको एउटा प्रेमको कथा। त्यस्तो प्रेमकथा, जुन प्रेम माओवादी सशस्त्र संघर्ष उक्लिंदै गर्दा भेरीमा बग्यो। यो वियोगान्त कथा भेरी नदीको झोलुंगे पुलपारि सामान ओसार्ने भरियाले यसरी सुनाएथे, जसरी गाउँघरमा सुनाइन्छ लोककथा।

भेरीमा बगेको कथासँगै यो आमाकथा पनि हो। ती आमाको कथा जसले १० वर्ष लामो माओवादी ‘जनयुद्ध’मा छोराछोरी गुमाए। ती आमाको कथा जो सशस्त्र संघर्षकालमा सरकारी वा माओवादी सेनामा लागेका छोराछोरी होऊन् या सर्वसाधारण छोराछोरीका चिन्तैले सिन्का भए।

सशस्त्र संघर्षको बेला यस्ता कति प्रेम राप्तीमा बगे होलान् ? कति बगे होलान्  महाकालीमा ? कति बगे होलान् सेतीमा ? कति बगे होलान् गण्डकी र कर्णालीमा ? कति आमा होलान् छोराछोरीकाे ‘चिन्ताको भेरी’मा बगेका ?

कसैले राखेको होला यी कथाका लेखाजोखा ?

भेरी पुलमा भरिया  

चैत अन्त्यको एक मध्याह्न। जाजरकोट खगेनकोटतिरको झोलुंगे पुलको गोडानेर भरिया भेला भए। यसरी कि, जसरी पहाडका गाउँतिर चैतमा मौरीको भेर फाटेर रूखको हाँगामा बस्छ। हेर्दाहेर्दै ठूलीभेरीको झोलुंगे पुलमा भरिया भीड पातलियो। तिनै भरिया जसले रुकुम आठबीसकोट रारीजिउलाबाट जाजरकोट खगेनकोटतिर सामान लान्थे।

भरियाले अर्नी(खाजा) झिके। बाँडचुड गर्दै खान थाले। सिङारु लोकलयमा बग्दै ठूली भेरी रिम्नामा सानीभेरी भेट्न उसैगरी भागिरहेको थियो। भेरीसँगै भरिया आँखा र तिनका मन पनि बग्थे। पहाडले नछेकुन्जेल बगेर फरक्क फर्कन्थे।

अर्नी खाँदै भरिया भेरी किनारका सुखदुख बिसाउन थाले। स्मृतिको बाटो गरेर  सशस्त्र संघर्षकालीन अप्ठेरा याममा फर्के। यसरी फर्कनुका धेरै कारणमध्ये एक थियो, यही पुलको रुकुम रारीजिउलातिरको फर्केको गोडानेर बसेको पुलिसचौकी हानेर त माओवादीले सशस्त्र संघर्ष थालेको थियो, १ फागुन २०५२ मा। बाँकी दुई पुलिसचौकी थिए, होलेरी (रोल्पा) र सिन्धुलीगढी (सिन्धुली)।

माओवादी जनमिलिसियाको जाँचबिना हिँडडुल सम्भव थिएन। मुसीकोटबाट फर्कंदा घारीखोलामा माओवादीले समायो। प्रतिक्रियावादी सरकारको शरणमा किन गएको भनेर माओवादीले कुटपिट गर्‍यो। राहतका लागि ल्याएको कागत पनि च्यात्यो।

भेरी नदी र त्यसको वारिपारिका बस्तीका युद्धकालीन कथा सुनाउँदा सुनाउँदै एक ठाउँ पुगेर भरिया टक्क अडिए। भेरीको सुसाइसँग स्वर मिसाउँदै भरिया बगालेले गाउन थाले, ‘गार (खोला/नदी)मा बगेकी लबर्नी (प्रेमिका) !’

तिनले नयाँ शब्द बनाएका थिए, मायाबाट मायालुजस्तै लभबाट लबर्नी। थाहा भयो, कसैकी प्रेमिका भेरीमा बगिन्।

“त्यसबेलाको कुरा हो,” ‘जनयुद्ध’ उकालिन थालेको उही याममा फर्के उनी। उनै मासका समय सम्झे।

माओवादी फैलिएपछि अन्य ठाउँका पुलिसचौकीजसरी रारीजिउलाको पनि सदरमुकाम मुसिकोट लाग्ने भयो। जो कुरा एक कान दोकान हुँदै एउटी युवतीकहाँ पनि पुग्यो। त्यसपछि पुलिसलाई भेटिन्। जो पुलिसमात्र थिएनन्, उनका प्रेमी पनि थिए।

भरियाले पुलिसचौकी उठ्नुभन्दा केही दिनअघि पुलिस र स्थानीय युवतीको वार्तालाप सुनाए-

प्रेमिका– राजा ! तिमी जहाँ जान्छौ मलाई नि लग।

प्रेमी– म हेली (हेलिकप्टर)मा जान्छु, तिमी हिँडेर आऊ।

प्रेमिका– म एक्लै ?

प्रेमी– अँ, एक्लै।

एक्लै हिँडेर कहाँ जाऊन् ! जाने ठाउँ र हिँड्ने बाटो दुवै अनचिनार थिए।

प्रेमिका– एक्लै कसरी जान सक्छु ?

प्रेमी– म हेलीमा उडेर जान्छु। तिमी हिँडेर बिस्तारै आऊ। र

प्रेमिका– तिमी उडेर जाने, के म बगेर जाम् ?

प्रेमी– …

प्रेमिका– त्यसो भए म गार जान्छु।

प्रेमी– …

पुलिस प्रेमीको जवाफ चित्तबुझ्दो थिएन।

पुलिसचौकीचौकी उठ्ने दिन। हेलिकप्टर पुलिस लिन आयो। रारीजिउला पुलिसचौकीका पुलिस हेलिकप्कटरमा उड्न थाले।

ती युवतीले हिँडेर जाने बाटो होइन, बगेर जाने भेरीमात्र देखिन्।

“पुलछेवैको घरमा आमालाई दिनू भनेर एउटी साथीको हातमा झोला सुम्पिइन्। त्यसपछि पुलमा पुगिन्। पुलबाट ‘मेरो राजा’ भन्दै गार पसिन्।”

भरियाले भेरीमा बगेको त्यो प्रेमकथा सुनाउँदा पनि ठूलीभेरी उसैगरी सुसाउँदै बगिरहेको थियो। कथाको बिट मार्दै भरिया बगाले स्वर भेरीसँगै फेरि सुसायो, “लबर(प्रेमी) उरे(उडे) पिलेनमा, लबर्नी पसिन् गारमा।”

‘जनयुद्ध’मा शहीद प्रेम र प्रेम कहानी सुनाउँदा भरियाका अनुहारमा यस्ता सयौं कथा तलमाथि गर्दैथिए। ती कथा द्वन्द्वकालीन प्रेम, खुसी, सपना, जीवन, रहर, वियोग, यातना र मृत्युका थिए।

भेरीसँग यस्ता कथा कति होलान् ? मानिसका आँसु, प्रेम, वियोग, खुसी भारीले थिचिए पनि भेरीले आफ्नो कर्म छाडेको थिएन। नदीको कर्म नै बग्नु थियो। सुसाउनु थियो।

भन्न त जानभानले यसो पनि भनेका छन्, “लडाइँमा सबथोक जायज हुन्छ।”

भरियाले सुनाउँदाखेरि भेरीमा बगेको त्यो प्रेमकथाले झण्डै १५ वर्ष नाघिसकेको थियो। जुन कथा भरियाले सुनाएथे, २८ चैत २०७३मा।

भरियाले अर्नी खाँदै सशस्त्र संघर्षकालीन कथा जति थप्दैथिए उति नै भुरेटाकुरे राजावाल(आठबीसकोट, खगेनकोट, गोतामकोट, बाफीकोट, जहारीकोट, जाजरकोट, मुसिकोट, रुकुमकोट)तिरका सर्वसाधारणका आङमा लागेको लोकतन्त्र र गणतन्त्र घाम हेर्ने आतुरी आकाशिँदै थियो। आठबीसकोट र खगेनकोटका ती भरियाले भेरी पुलबाट सामान बोकेर भेरीपारि खगेनकोटतिर लान्थे। जुन सामान झोलुंगे पुलपारिबाट भेरी किनारैकिनार तल्लुबग्र पुग्थ्यो। फेरि त्यसैगरी भेरीको पुल तरे गोतामकोट हुँदै डोल्पा।

सामान ओसारेको रकम भरियाले दामासाही गर्थे। ती कति विद्यार्थी थिए त कति घरबारे। कति घरबारेका पति कालापार गएका थिए। भरिया महिला कति राजा खलकीय ठकुरी थिए त कति क्षेत्री र दलित। तीमध्ये धेरैजसो १५ देखि ३० बर्षका थिए। भरिया बगालमा सिर्फ एकजना पुरुष थिए। ती दलित थिए।

त्यसदिन त्यहाँ ४४ जना भरिया थिए।

०००

भरियाले सुनाउँदैगर्दा आँखाभरि द्वन्द्वकालीन प्रेमकहानीका लहर चल्यो। ती युद्धको तुसारोमा कति फुलेका थिए त कति मुर्झाएका। तीमध्ये धेरैजसो माओवादी ‘जनसेना’का थिए। त्यसपछि भने कति चिनियाँ त कति भियतनामी त कति रुसी। फरक भूगोल र परिवेश भए पनि सार एउटै थियो, प्रेम। प्रेम अंकुराउन र फुल्न कुनै पनि युद्धले रोक्न सक्तैन। भलै कति भत्केका थिए।

ठीक त्यसैबेला भेरी पुल तरेर पारिजातकृत ‘शिरीषको फूल’का सुवेदार सुयोगवीर पनि पुगे। बर्मेली युवतीको प्रेमको बदला बुटले कुल्चने सुयोगवीरको आवाज झर्‍यो, ‘भैसी गोठाल्नी नजिकैबाट गइरहेछ आफूलाई सिंगो गुलाफमा फुलाएर। म सुसेल्दै साउती गर्छु।’

बर्मेली युवती मार्टिन्चीले सुयोगवीरलाई सोधिन्, ‘भोलि बिहे गर्ने कि पर्सि ? हाम्रो छोराछोरी भए के गर्ने ?’

जन्मे त मारेर फाल्दिन्छु भन्ने कुरालाई मनमै थामेर सुयोगवीरले भने, ‘म घर फर्कन्नँ। तिमीलाई बिहे गरेर तिमीसँगै अदुवा र खोसार्नी बारी गोडेर जीवन बिताइदिउँला। अब लडाइँ थामिन्छ, हामी कति सुखी हुनेछौँ।’

चित्त बुझ्दैन। झुटो सान्त्वनाजस्तो लाग्यो। सुयोगवीरको कमिज कलरमा झुण्डेर रुन थालिन्। भनिन्, ‘आज त म छोड्दिनँ तिम्लाई। मैले असाध्यै नराम्रो सपना देखेको छु। गोर्खे दाइ, मलाई मारेको पाप लाग्ला, नजाऊ।’

मार्टिन्चीको आँसु रोकिदैन। सुयोगवीरलाई रिस उठ्यो। सम्झाए। त्यसपछि ? सुयोगवीरले भने, ‘रोएर जीवन बित्ने हो र ?

जमाएर लात हान्छु र भाग्छु ब्यारेकतिर (शिरिषको फूल, सत्रौं संस्करण, पेज ४२)।’

के ती युवतीका प्रेमी पुलिस सुयोगवीर नै थिए ? त्यसैले आत्महत्या गरिन् ! कि उनी थिए, ‘दिलजले’को अजय देवगन ? शंकाले लंका हान्दै प्रश्नको जुलुस लाग्यो, ‘त्यतिबेला कसले सुनाइदियो होला, ‘ग्लुमी सण्डे’ ? कसले हेर्न लगायो होला, ‘रोमान्टिक लभ’वाला हलिउड, बलिउड र कलिउडका फिल्म ?’

त्यसपछि भने भरिया एकअर्कालाई सोध्न थाले, “तिनले किन पर्खने धैर्य गुमाइन् ? पर्खेको भए मिलन पो हुन्थ्यो कि ? किन मानिस अलिकति खुसी थपिदा तीन हात बित्ता माथि उफ्रन्छ र घट्दा तीन हात तल ओर्लन्छ ?”

दुई वर्षपछि (४ असार २०७६) फेरि रारीजिउला पुग्दा भरिया उसैगरी सामान ओसार्दै थिए। खेतैखेतको जिउला रारीजिउला बजार बन्न पहिलेजत्तिकै हतारमा थियो। रारीजिउले कवि प्रभातविक्रम शाह (मणि शाह)लाई पछ्याउँदै रारीजिउला अस्पतालदेखि पूर्व (यस्तै दुई सय मिटर) एउटा कच्ची घरको पहिलो तलामा पुगेँ। जसको एउटा कोठामा काठको सामान्य सानो आकारको खाट थियो। खाटलाई भर्खरै घामले चियाउँदै थियो। खाटछेवैमा उभिएकी थिइन्, अनुहारमा तेर्सा मुजा र कतै च्याउ उम्रे पनि गोरो अनुहारकी बूढी आमा। पातलो जिउ तर बुढ्यौलीले दोब्रिन थालेको थियो। रातो, नीलो मधुरो बुट्टावाल सारी लगाएकी थिइन्। दुईचार सरा कपाल अनुहारमा झरे पनि बाँकी कपालचाहिँ कपालैभित्र गुटुमुटिएको थियो।

बस्न इशारा गर्दै नमस्कार फर्काइन्, दायाँ हातको कटौरो बनाउँदै, ठकुरी दर्शन। बूढी आमा थिइन्, पुतला शाह।

कारगिलमा कान्छो

खाटछेवैमा बसेर पुतलाले कान्छो छोरो सम्झिइन्। त्यो पनि बिहे प्रसंग झिकेर।

एकदिन कान्छो छोरोले कान्छी बुहारी ल्याए। तर, भगाएर।

त्यसबेला उनको परिवार रारीजिउला झरेको थिएन। कोतमै थियो। कोत भनेको आठबीसकोट। बहादुर शाहले कब्जा गरेपछि राजखलक सरेको ठाउँ नै कोत थियो।

छोरी खोज्दै आइपुगे। बुहारीलाई लुकाउन त पर्‍यो। हावा गतिमा छोराबुहारी लुकेको कोठाको ढोकामा ताल्चा लगाइन्। यति हतार भयो, उनको हात नै मर्कियो।

त्यसैबेला मर्केपछि अहिले पनि उनले पिठो मुछ्न सक्तिनन्।

“बिहे शुभेन,” कान्छी बुहारी भित्राएपछि कसरी घरमा अशुभ भित्रियो भनेर पुतलाले भूमिका बाँधिन्, “मेरो छोरो कतिपालि सेतापार गयो, कतिपालि कालापार। अरुबेला केही नहुने तर तेलाई ल्याएपछि मर्ने हुने हो त ? सम्धीसम्धिनी पनि मरे।”

कान्छा छोरा हस्ते थिए भने नाति युवराज। युवराजसँग चिनजान गराएपछि भनिन्, “यखो बाउछोराको देखभेट नै भएन। अघिल्लो दिन बाउ कारगिल हिँड्यो, पछिल्लो दिन यो जन्म्यो।”

छोरा जन्मेको खबर पाएपछि हस्तेले भोज खुवाएको समाचार पनि सुनाइन्। त्यसपछि भने हस्ते मारिएको घटना।

उनले यति भन्दा खाटबाट घाम बाहिरिइसकेको थियो। तर, रारीजिउलाको चैते गर्मी छाडेर।

“पाँच छ दिना मेरा टाउको बिपट्टा चिलाउँछ, फाल्नु परो भनो गरे। भान्जले किन फाल्ने भने गरे। नाइ भिनाजु बिपट्टा चिलाउँछ भनो गरे,” यति भनेर पुतला थामिइन्। पुत्रपुत्री सम्झना र गर्मीले निकालेको पसिना पुछिन्। छोराको अनुहार आँखामा आयो क्यार ! भनिन्, “खाम्चो कालो भयाउ गरे। औला पिरो हुन्छ, मलाई त माइतिउ गाल लाइगिछ भनो गरे। क्यान माइतिउ गाल्लाग्दो भन्या गरे। उइ पाँच दिनाउ काल भयो गरे।”

अन्य रातमा जस्तै हस्ते र अन्य भरियाका काँध र पिठ्यु भारतीय सेनाका रासन र गोलीगठ्ठाले सजिए। त्यसपछि ? कारगिलको उकालो उकालिए। उकालिँदै गर्दा पाकिस्तानी गोली चल्यो। हस्ते र हस्तेका गाउँलेलाई गोली लाग्यो। हस्तेको भुँडी छेडेर गोली बाहिरियो भने साथीको गोडा छेडेर।

“सातै भएको उसको सातेको एउटा खुट्टा भाँचियो। अहिले पर रारीबजारनु लखरलखर गर्छ त”, छोरा यादले भिजेको आँखा चिमचिम गर्दै पुतला बोली ओर्ल्यो, “मेरो छोराको पनि गोडामा गोली लागेर बचेको भए पनि कति हुँदो हो भन्छु।”

छोरोको घाइते साथी देखेर पुतलालाई छोरा तिर्खा झन् बल्झन्छ।

कसैले भन्यो, राहत पाइन्छ। के गर्नुपर्छ ? भने, “सदरमुकाम मुसिकोट गएर कागतपत्र बनाउनुपर्छ।”

नभन्दै मुसिकोट पुगे। कागतपत्र लिएर फर्कंदा माओवादीले समात्यो। त्यसबेला माओवादी जनसरकार थियो। मुसिकोटको सरकारलाई अवैध भन्दै प्रक्रियावादी राज्यसत्ता भन्थ्यो। त्यसबेला माओवादीले गौडागौडामा चेकपोष्ट राखेको थियो। माओवादी जनमिलिसियाको जाँचबिना हिँडडुल सम्भव थिएन। मुसीकोटबाट फर्कंदा घारीखोलामा माओवादीले समायो। प्रतिक्रियावादी सरकारको शरणमा किन गएको भनेर माओवादीले कुटपिट गर्‍यो। राहतको लागि ल्याएको कागत पनि च्यात्यो।

त्यसपछि ?

कारगीलमा मारिएका कान्छो छोरा हस्तेको राहत मिलेन।

समय बित्यो।

एकदिन बुहारी पोइल हिँडिन्, माओवादी कमरेडसँग।

कान्छी छोरी भेरीमा

फुर्फुर उड्ने रंगीन पुतलीजस्ती थिइन्, पुतलापुत्री। स्कुल जान्थिन्। कडा थिइन्। जिद्दी थिइन्। हक्की थिइन्।

“जिस्क्याए कि माबैनी धराउने। नाम्रालाई नाम्रै र ननाम्रालाई नराम्री थिई। बाझ्नेसित स्कुलमा पनि पछारा खेलेर फर्कन्थी,” छोरी स्वभाव सम्झिँदै पुतलाले भनिन्, “कोही कक्कर खान आउँदा हुन् र डरले ! डराएर आउँदैनथे।”

नेपालको शासक संस्कृतिको सौन्दर्य मानक अनुसारकै सुन्दरी थिइन्। ज, गोरो अनुहार, लामो कपाल, आदि।

हजुरको बारीमा ‘फूल फुलेको रहेछ आयौँ’ भन्दै चारैखुवाबाट कुटुम्बहरुका लर्को लाग्यो।

“देख्याभरि लिन पाया हुँनो हो भन्ने गरी सप्रेकी थिई। को ठाउँका आइनान् अनि ! चौरजहारी, बारेकोट, दार्मा, झिनचौर चारैखुवाका माग्न आए,” पुतलाले छोरी माग्ने कुटुम्बहरुका लामको लेखो लाइन्।

त्यसपछि वरपर हेरिन्। असारको एक रातमा फर्किइन्। जुन रात भर्खरै ढल्दैथियो।

कुनै युवती बेस्सरी रोएको चित्कार सुनिन्। त्यसपछि ? पुतलाले पतिलाई उठाउँदै भनिन्, “कहाँ को रोयो हँ यसरी ? को बालख रुन्छ। उठ्नै त।”

पतिले भने, “अस्पतालमा कोही बिरामी रोयो होला।”

रारीजिउला अस्पताल त उनको घरबाट नजिकै थियो।

रुवाइले मन अस्थिर भयो। जुरुक्क उठिन्। छोरी र नातिनी सुतेको ढोकानेर उभिएर सुनिन्। जति सुनिन् उति नजिक लाग्यो। फेरि कान थापिन्। भित्र पो रोएजस्तो लाग्यो। त्यसपछि ? ढोकानेर उभिएर कान थापिन्।

“भिर्तै रछ रुने। ठूली, ए ठूली, ढोका उघार् त, खुटी उघार त,” पुतलाले बोलाइन्।

नातिनीले भित्रैबाट भनिन्, “मैबा(ठकुरीले फुपूलाई मैबा भन्छन्) रुन्छन्, त्यै भइकन म नि रुन्छु।”

पुतलाले भनिन्, “होइन क्या भयो, खुटी उघार।”

नातिनीले ढोका खोलिन्।

पुतला दम्पती छोरी र नातिनी सुतेको कोठाभित्र पसे।

“के भयो अनि किन रुन्छौ ?”

आमा आश्चर्य प्रश्न झर्‍यो।

“लत्ता छार्‍या जोगी आउँछ। घरी खुट्टामा बस्छ, घरी टाउकोमा। चाँरो हर् भन्छ। मलाई तान्छ। ऊ आइगो। टाउकोमाथि बसिगो,” छोरीले रुँदै भनिन्।

सबले हेरे। तर केही देखिएन। फेरि भन्न थालिन्, “गोडामा बस्यो। आयो जोगी।”

नदेखेरै पुतलाले मुड्कीले हानिन्।

“म त देख्दिनँ। हेर्छु। भन्छे, हात तान्छ, चाँरो हर् भन्छ। काँती बस्या छ भनेर मुड्कीले हान्छु,” त्यस रात सम्झिँदै पुतलाले भनिन्।

के गर्ने के गर्नेकै बीचमा धामी खोजमा निक्ले। धामी आए। अछेताले हाने। देउता कारे। छोरी त काँप्न थालिन्।

त्यस रात पुतला पनि छोरीकै कोठामा सुतिन्।

फुकफाक गरेपछि छोरी रुन छाडिन्। बिरामी पनि भइनन्।

समय बित्यो।

छोरी २० वर्ष पुगिन्। गाउँघरको हिसाबले त बिहे उमेर घर्क्यो। उही असारको कुरा सुनाउन थालिन्। त्यसबेला छोरापट्टि (साइला र जेठा) कालापार थिए। गाईभैंसी खापेमा थिए।

रारीजिउला तल भेरीकिनारमा हो भने खापे माथि धुरी। रारीजिउलाबाट सर्लक्कै उकालो। रारीजिउलाबाट बिहानै उकालिए बल्ल बेलुकी पुगिने।

खापेमा बुहारी सुत्केरी भइन्।

अँ, त्यो बिहान दालभात पकाइन्। आफूले खाइन्। नुहाउन गएकी छोरी फर्केपछि पुतलाले भनिन्, “मैले दालभात पकाया’छु। मैले खाइसकेँ। तैले खा।”

खापे हिँड्नुअघिको त्यस बिहानपख फर्कंदै पुतलाले भनिन्, “ह्याँती घरति छरिफाले। भैंसा दुने कोइ नै यति भनिफाल्गेर हामी खापे गैगिम्। छोरीको साते(साथी) नातिनी थिइन्।”

त्यस रात पुतला कोतमा बास बसिन्। भोलिपल्ट खापे पुगिन्।

चौथो दिन पुतलाकहाँ खबर पुग्यो, “तिम्री छोरी पोइल गई।”

भनिन्, “त्यसबेला गार पसी भन्देनन्।”

“केले गरायो। केही नभया। भया भया ता त्यै’का पठ पस्यो कि भन्दाहौँ बाबू, केही नभया अनि,” पुतलाले यति भनेपछि सन्नाटा छायो, “ह्याँती घरतिर छरिफाले। तलनु उसै थियो। बाउरे लाएर गरे भनेर भैंसा दुने कोइ नाइ भनेर हामी दुईजना खापे गइगिम्। बाउरे लाएर छरिच। आजजस्तो छरिच भोलिपल्ट त गार परिगिछ।”

‘मुवा(आमा)लाई दिनू’ भनेर झोला छाडेकी थिइन्, भेरीको झोलुंगे पुलनेर रहेको झिनचौरेको घरमा।

पुतलाले सम्झँदै भनिन्, “म त गएपछि मरिजान्छु। मुवा आएपछि हात पार्दिया भनी गरे। अघि बिपत्ता गरी रोई गरे। त्यो रुङाले बड्डाले भन्थे। त्यै बेला के समाउन पर्दैन ? के साँच्ची गार पसिजाले र भन्ने गरे।”

पुलिसचौकी छेवैमा हेलिकप्टर बस्यो। पुलिस ओसार्‍यो। पुलिसचौकी खाली भयो।

त्यसदिन भेरी वारिपारि मानिस भेला भएका थिए।

“झोला फाल्गई आफू त उँधो गइगिछ। त्यसपछि चाँर्चारो ढोका लाइकन गरे, भिर्त तान्न लाइगिछ। हामी भए त कुक्काकोलो गर्दाहौँ नि। वरिपारि मान्छे यस्तै गरे(धेरै मानिस थिए भन्दै), पुला ढिकपाइ,” कसरी छोरी भेरीमा हामफालिन् भनेर पुतलाले सुनाइन्।

आफूले छोरीका सामान नपाएको गुनासो पनि गरिन्, “एउटा क्लिपमात्र दिइथी। देख्दै देखिनँ भनी।”

पुतला आमाका तर्क थिए– झोलामा छोरीका गहनासहितका पैसा र सामान पनि हुँदो हो।

छोरी मेहनती थिइन्। सीपवाली थिइन्। छोरी सीप सुनाइन्, “झोला बुन्ने, लेस बुन्ने, रुमाल बुन्ने, रक्सी पार्ने …।”

“थोरा भैंसी दियाँथेँ, बेचिकन त्यैले राखेकी हो। दुदुनटा तिलहरी थिए। एउटा सानो थियो एउटा ठूलो। सुनौ(सुनको) औंठी। कानबाली थियो। सुना(सुनको) क्लिप थियो। पानी हाले पनि नबिग्रने हातनु घरी(घडी) थियो। कान्छाले कारगिलबाट ल्याइदेको चाँदीको पाउजू थियो,” पुतलाले छोरीका गरगहना र सामानबारे एकएकगरी बताइन्।

छोरी बग्नुको कारण जान्ने आमामनमा एउटा घित्करो बाँकी थियो। जो यस्तो थियो, “कष्टे न कल्पे। पछि त अन्न पनि खाल्ने। हातखुट्टा मोटैमोटा थिए। त्यहीबेला धामीझाँक्री गरी यताउता गद्र्या भए केही हुन्थ्यो कि भन्ने लाग्छ के अहिले।”

यति भनेर उनले लामो सास फेरिन्। सन्नाटा छायो। त्यसपछि छोरी सम्झनाले आमा अनुहार पानी पर्नुअघिकाको साउने आकाश भयो। आँखा भिज्नुअघि नै भिजेको बोली ओल्र्यो, “के गर्ने हो र ? सम्झ्या बेला त के हुन्छ के हुन्छ। मान्छेको जात मर्न सकिने रहेनछ।”

भेरीमा हामफाल्नुअघि के भनेकी थिइन् ? के सन्देश थियो ? आमा र प्रेमीलाई के भन्दिनू भनेकी थिइन् ? आमा मन जान्न यसै चहचह गर्‍यो। कुनै दिन पुलिस प्रेमी आमाकहाँ पुगे होला ? प्रेमको पोयो आमासामु पनि फुकाए कि ? अहँ, पुतलाकहाँ कोही पुगेको थिएन।

“मान्छे मरिसकेपछि के भन्थ्या, पुलिसाँ जान पाइनँ भनी गार पसी। जो भने भैगो मरेपछि,” पुलिससित कुराकानी गरेको वा घरमा आएको सम्झन कोसिस गर्दै पुतलाले भनिन्।

आत्महत्यामाथि छोरीको प्रेम पुलिससित थियो भन्ने कुराले आमा मन फाटेको थियो। छोरीले पुलिसलाई प्रेम गरिन् भन्ने कुरा पुतलालाई विश्वास नै थिएन। उनले त पुलिसलाई घृणा गर्थिन्। एकदमै घृणा।

“पुलिसले ‘चुरोट खानुहुने हो आमा’ भन्थे। म खान नपाया त भैगेँ। ‘दिया किन खान्नाऔँ’ भुन्न्या,” पुतलाले छोरीको पुलिसप्रति कति घृणा थियो भनेर घटना सुनाउँदै भनिन्, “पुलिस त कुकुर हुन्छ। अलिकति हात दिए ढोकाति आउँछ भन्दै मेरो खाप्चोमा थुक्थी। यस्तो भन्नेले पुलिसलाई मन पराएको हुँदो हो त ?”

त्यसपछि ? पुतला चुप लागिन्। अनुहारका मुजा हल्लिए। ती हल्लिदै तलमाथि गरेजस्तो देखियो। मन हुँडुलिएर आँखाबाट झर्न खोजे। जबर्जस्त रोक्न कोसिस गरिन्। त्यसपछि आमा आपतकालीन बोली झर्‍यो, “केही पत्ता छैन। को पुलिस हो ? केही था पान्नँ। हाम्रो घर आया पनि था पाइनँ। ह्याँ त कोही पनि साते थिएनन्। भर्खर कोतबाट आया। चिनाजानी पनि नाम्रो नाइ।”

आमा बोलीसँगै आँखामा रोल्पा बुढागाउँका बीपी महर उभिए।

सशस्त्र संघर्षकालकै एक दिन। महर आफ्नै गाउँमा रक्सीले मातेका थिए। चुरोटको धुँवा उडाइरहेका थिए। ठीक त्यसैबेला काँधमा राइफल बोकेकी जनमुक्ति सेना पुगिन्।

त्यसबेला यसरी मातेकालाई भेटे कि माओवादीले भाटे कारबाही गर्थ्यो। तर, त्यस दिन ठीक उल्टो भयो। मातेका महरले ती कमरेडलाई प्रेम प्रस्ताव राखे। प्रस्ताव सदर भयो। बिहे भयो।

सर्बसाधारण बुढागाउँले महर।

त्यसपछि ? प्रेमीप्रेमिकाले दोहोर्‍याइरहने एउटा वाक्य कानमा गुञ्ज्यो, ‘तिम्लाई माया गर्छु। तर धोका त दिन्नौ नि ?!’

कानमा गुञ्जिरहेकै बेला आँखामा फेरि सुवेदार सुयोगवीर उभिए। सुयोगवीरले भने, ‘मेरी मायालु भनेर नजिक पुगेर पाखुरा समाउँछु। …निलिदिन्छु उसको कुमारीत्व।’

छोरी भेट्न भेरीमा

एउटी जवान छोरीको आत्महत्याले आमालाई परेको आहत मापन केले गर्नु ? कसरी निको पार्नु ? जो असम्भव थियो। छोरी यादले रातदिन सतायो। एकदिन पुतलालाई भेरीमा बगेकी छोरीको यादले तान्दै रारीजिउलाबाट दक्षिणपूर्व लग्यो। पुगिन्, च्यानबगर(चिहानबगर)। (जो अहिले चाइनाबगर भएको छ।) घरछेउबाट बगेको ठूलीभेरी च्यानबगरमै त सानीभेरीसँग भेट हुन्छ। दुई भेरी भेट भएको जाजरकोटतिरको भाग रिम्ना हो भने रुकुमतिरको च्यानबगर। दुई भेरीको भेटपछि पुतलापुत्रीलाई च्यानबगरमै छाडेर भेरी बगेको थियो। उनको घर रारीजिउलाबाट च्यानबगर करिब १५ किलोमिटरको दुरी थियो।

छोरी तिर्खाले अशान्त आमा आँखा च्यानबगरमा पुगेपछि भने शान्त भए। तर भेरीका छालसँग बाजी लाग्दै आमा मनमा प्रश्नैप्रश्नका छाल उठे, “यति तलसम्म ल्याएर किन भेरीले यही छाडी हिँड्यो होला ? कुन छालले बगरमा छोरीलाई छाड्यो होला ?”

छोरीलाई लिएर आएको पानी बाटो लागे पनि बगर त त्यही थियो। एउटा बगर, आमाछेवैमा ढलेको। बगरलाई सबै थाहा छ जसरी आमा जिज्ञासु आँखाले हेरे। टेक्दा आउने बगरको आवाज छोरीलाई यसरी बगरमा बिसाएथ्यो भनेर पुरानो समाचार सुनाएजस्तो लाग्यो। घरीघरी त उनलाई नै बगरले आँखा तरेर हेरेजस्तो लाग्यो।

भेरी किनारमा उभिँदा छाल गोडा माथिमाथि उकालियो। भेरीको छाल आउँदै अनि भिजाउँदै गयो। पुतला चुपचाप भिजिरहिन्। भेरी छालले निथ्रुक्क भिजाउँदा उनलाई त छोरी ममताले भिजाएजस्तो लाग्यो। छोरी छालले चुमेजस्तो लाग्यो। छोरी लादिएर गोडामा लुटपुटिएजस्तो लाग्यो। यस्तो कि, सुसाउँदै वरवरसम्म आउँदा ‘मुवा’ भनेर बोलाएजस्तो पनि लाग्यो। भेरीको छाल उठ्दै/बस्दै परपर पुगेर फेरि आउँदै छोएर जाँदा छोरी सानो छँदा छोरीसँगै खेलेजस्तो लाग्यो।

छालसँग हुत्तिदै पुतला आँखा बगर छेवैमा त उभिएको कटेरोमा अडियो। त्यै त थियो, गोरे पुनको होटल। ढुंगाको बर्को ओढेको सामान्य कटेरो। चौरजहारी–मुसिकोट आउजाउ गर्ने सायदै हुँदाहुन्, पुनको होटलमा खाना नखाएका र ओत नलागेका। महंगीले आकाश छुँदासमेत १२ रुपैयाँ खुराक (मासु/माछा र भात) खुवाएथे। भेरी किनारमा धर्मशालाजस्तो होटलवाल पुनपुत्र वीरवहादुर उर्फ कमरेड रक्तिम पूर्वी नेपालमा मारिएथे। उनी माओवादीको जनमुक्ति सेना, बटालियन कमाण्डर थिए।

रुकुम सानीभेरी गाउँपालिका अध्यक्ष नरवहादुर पुन (कमरेड तारा)ले गोरे पुनको होटलगिरि सम्झदैथिए, “शुरूदेखि अन्तसम्म नै १२ रुपैयाँ खुराकमै खाना र माछा/मासु खुवाउनुभयो। २०/३० बर्ष होटल चलाउनुभयो। होटल चलाउन नसक्नेगरी बूढो भएपछि छाडेको यस्तै आठ/नौ बर्ष भयो होला। अहिले त भेरी किनारमा कटेरोजस्तो त्यो होटल एक्लै उभिएको छ।”

पुतलालाई थाहा छैन, कतिखेरसम्म च्यानबगरमा उभिइन् अनि घर फर्किइन्।

छोरी याद झन बढ्यो। आमामन झन बिथोलियो। यति अत्तालिइन् कि, एक दिन आफै छोरीलाई पछ्याउँदै भेरीमा पुगिन्।

“मर्न भनी गार पस्न पनि गया हुँ। दुई झवालाबाट तानिकन ल्याया हुन्। छोरापट्टिले भने, ‘त्यत्ति रहेछ नि, उई छोरीमात्र ! हामी छोरा रहेनछौँ नि ? तिमी मर्ने भयौ, हामीलाई त्यसै छार्ने भयौ भने,” छोरी सम्झनाको बल्छीमा बल्झिएको आमा स्वर झर्‍यो, “बाँकी छोरा छन् भन्ने पनि देक्खिने रहेनछ। दिनमा झसक्कै सम्झे रुनै पर्ने …। कि स्यानै मर्‍या भए बिर्सने हुने रहेछ। अरु केही देखिन्न।”

पुतलालाई भेरीबाट तानेर फर्काउने थिइन्, नातिनी। बूढापाका भन्छन् नि, “सावाँभन्दा पनि ब्याजको माया लाग्छ।”

“म नै रहिनँ भने नातिनीको के हाल होला,” पुतलाले सुनाइन्, “बाबुले अर्की ल्याएको छ। मा(आमा) लोटिकन(लडेर) मरेको हो। फुपू(मरेकी छोरी)सित बस्थी। म पनि मरे कहाँ जाले भनेर मर्न सकिनँ।”

नातिनी हुर्किइन्। १० कक्षासम्म पढाइन्। गहना पनि बनाइदिइन्।

नातिनीको पखेटा लाग्यो। एक दिन भुर्र उडिन्।

“गइगी, मेरो पठ किन बस्थी,” अस्पतालमा काम गर्ने नातिनी ज्वाइँसँग दाङ झरेकी नातिनी सम्झेर बूढेसकाले सुस्क सुस्केरा भेरीको सुसाइमै मिसाइन्, “के गर्ने हो र, मर्न कि सक्किने रहेनछ, बाबू। सम्झने हो भने त के छ के छैन !”

त्यसबेला पुतलापुत्री त्यसबेला भर्खरै कोतबाट जिउला झरेकी थिइन्। रारीजिउलामा को थियो र, उनको प्रेमबारे सुनीजान्ने र देखीजान्ने।

को थिए ती पुलिस प्रेमी ? भएको के थियो ? उनले किन हामफालिन् भेरीमा ? के भनेकी थिइन् जाने बेला ? ती पुलिस प्रेमी सुयोगवीरजस्ता थिए कि साँच्ची प्रेमी ? तिनले साँच्ची प्रेम गरेका थिए कि थिएनन् ? भेरीभन्दा पनि गहिरो रहस्य यसै गहिरिएको थियो।

०००

रारीजिउलाबाट तीन दिन पैदल हिँडेपछि पुगिने सल्यान गलाँत थियो, पुतलाको माइत। १५ वर्षको उमेरमा बिहे गरेकी थिइन्। पुतला पुगिन्, ८०।

चार छोरा एक छोरीमध्ये अब बाँकी थिए, तीन छोरा। नातिनतिना थिए।

भेरीमा बगेकी छोरी सम्झाउने चिजजति भेरीमा बगाइसकेथे। जस्तोः रुमाल अनि लेसमा आफ्नो नाम लेखेकी थिइन्, ‘गीता शाह।’

गीताले बुनेका ऊनका लुगा। कोठा र कोठाका भित्तामा टाँसिएका फोटो।

“देखेर रुन्छे भनेर सबै गारमा बगाइदिए,” पुतलाले घरको भित्तामा नजर फाल्दै भनिन्।

उसैगरी बगिरहेथ्यो, भेरी। भेरीभन्दा पनि छोरी यादमा पुतला सुसाइरहेकी थिइन्। थाहा छैन, कहिले बन्द हुन्छ, यो सुसाइ !

कवि प्रभातविक्रम शाहले बिदा माग्दा पनि आमा आँखाले उसैगरी छोरी खोजिरहेथ्यो, भेरीभन्दा पनि सुसाउँदै। पुतलाजस्तै कति आमा होलान्, सन्तानका यादमा यसरी सुसाइरहेका भेरी, रापती, कर्णाली, कोसी, गण्डकी किनारमा ?  बिदावारी भएर हिँडे पनि छोरी यादमा झरेको आमामन कानमा सुसाइरह्यो, “केले गार लग्यो, केले भिर लग्यो। त्यही जोगीले लग्यो कि ? चाँरो जाम भन्थ्यो गरे। काल आइगो छ, हामीले थाहा पाइनौँ। सम्झ्या बेला छाती चार चिरा हुन्छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved