छोरा नजन्माएको भन्दै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ

नेपालभ्युज

छोरा नजन्माएको भन्दै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ

जनकपुरधाम। आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा धनुषामा एकजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाले सबैला नगरपालिका ३ का ३५ वर्षीय लालबाबु साफीलाई पक्राउ गरेको हो।

छोरा जन्माउन नसकेको भन्दै साफीले श्रीमती अजमेरीको घाँटी थिची हत्या गरेको आरोप माइती पक्षको छ। १३ वर्षअघि अजमेरीसँग प्रेम विवाह गरेका साफीले छोरा जन्माउन नसकेको भन्दै घरेलु हिँसा गर्दै आएको मृतकका बुवा मोहम्मद आलमले बताए। उनले भने, ‘‘साफीकी बहिनी बहिनी नुरजहा खातुन र दाइ मञ्जुर साफीले दाइजोका विषयमा पनि निरन्तर मानसिक तनाव दिँदै आएका थिए।”

साफीले गएको ८ कात्तिकमा रक्सी खाएर आई घरमा सुतिरहेकी अजमेरीको घाँटी थिची हत्या गरेको आरोप बुवा आलमको छ।

मृतकको शरीरभरी निलडाम देखिएको र घाँटीमा समेत चोट देखिएको उनले बताए।

किटानी जाहेरी दिए पनि प्रहरीले अनुसन्धानमा तदारुकता नदेखाएको मृतककी आमा गुलशन खातुनले बताइन्।

यता, ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजेश सिग्देलले भने घटना भएलगतै मृतकका श्रीमान् लालबाबु साफीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताए।

घटनामा संलग्न अन्य आरोपीको खोजबिन गरिरहेको बताउँदै उनले भने, ‘‘चाडपर्वको कारण घटनाको अनुसन्धान केही ढिला भएको हो तर अब अनुसन्धानको प्रकृया अगाडि बढेको छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved