जनकपुरमा ई–रिक्साको अत्यधिक चाप

नेपालभ्युज

जनकपुरमा ई–रिक्साको अत्यधिक चाप

जनकपुर। प्रदेश २ को राजधानी जनकपुरधाममा ईरिक्साको अत्यधिक चापका कारण पार्किङको समस्या बढ्दै गएको छ। जनकपुरधाम उपमहानगरपालिकाले ई रिक्सा व्यवस्थापन गर्न ध्यान नदिँदा नगर क्षेत्र नै अस्तव्यस्त बनेको हो।

नगरमा दर्ता नगरिएका रिक्सा पनि स‌ञ्चालन भइरहेको स्थानीयहरू बताउँछन्। नगरमा अत्यधिक ई रिक्सा गुड्ने गरेको कारण कतिपय ठाउँमा घण्टौँसम्म जाम लाग्ने गरेको छ। विशेष गरी रामाचन्द्र चोक र बस पार्क क्षेत्रमा सर्वसधारणहरुलाई निकै समस्या हुने गरेको छ। नगर क्षेत्रमा गुड्ने गरेको ई–रिक्साको कुनै भाडा समेत तोकिएको छैन।

जसकारण मनपरी भाडा लिने गरेको स्थानीयहरूको गुनासो छ। जनकपुरधाम उपमहानगरपालिकामा दर्ता भए पनि रिक्साका लागि रुट परमिट भने यातायात व्यवस्था कार्यालयले दिने गरेको छ। तर रुट परमिटको आधारमा कुनै पनि ई–रिक्सा सञ्चालनमा नआएको स्थानीयहरूको गुनासो छ।

जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रिताकुमारी मिश्रले आफूहरू ई रिक्सा पार्किङको व्यवस्थापनलगायतका कार्य गर्न लाग्दा कुनै न कुनै पर्व आउने गरेकै कारण समस्या पैदा भएको बताए। उनले छठ पर्वपछि पार्किङ र भाडालगायतको व्यवस्थापनको लागि सर्वपक्षीय छलफल गरेर अगाडि बढाउने बताए।

उपमेयर मिश्रले भने ‘‘हामी ट्राफिक त व्यवस्थापन गरिरहेका छौँ, तर हामी पार्किङको व्यवस्थापनलगायतका कार्य गर्न लाग्दा कुनै न कुनै पर्व आउने गरेको छ, जस कारण काम समयमै हुन सकेको छैन, अब चाँडै नै पार्किङ र भाडा लगायतको व्यवस्थापनको लागि सर्वपक्षीय छलफल गरेर अगाडि बढाउनेछौँ, अब बस्नै बैठकमा पार्किङका लागि जग्गा छुट्टाउने भनिएको छ, हामी चाँडै कहाँ पार्किङका लागि स्थल बनाउने भन्ने मै लागि परेका छौँ।’’

उपमेयर मिश्रले ट्राफिक व्यवस्थापन, पार्किङ, वन वेलगायतका विषयहरूको चाँडै टुङ्गो लगाउने बताए। पछिल्लो समय बिना कुनै मापदण्ड नगर क्षेत्रमा थपिँदै गएका ई रिक्साहरूका कारण जनकपुरको आवागमनसमेत असहज बन्दै गएको छ। चालकहरूले अत्यधिक गतिमा रिक्सा चलाउने र जुनसुकै ठाउँमा पनि रोकिदिने गर्दा नगर क्षेत्रमा अस्तव्यस्तता बढेको देख्न सकिन्छ। अहिलेसम्म यसको व्यवस्थापनको विषयमा सरोकारवाला निकाय नै मौन रहेको स्थानीयहरू बताउँछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved