काठमाडौं। लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो कम्पनी नाम परिवर्तन गरेको छ। कम्पनीको व्यावसायिक स्वतन्त्रतामाथि प्रश्न उठेपछि उसले नाम परिवर्तन गरेको हो।
फेसबुक इन्क नामलाई कम्पनीले मेटा बनाएको बिहीबार विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ। फेसबुकले नाम परिवर्तन गर्दै मोबाइल इन्टरनेटको विकल्पको रुपमा एक विशाल मेटाभर्सको अवधारणामा काम गरिरहेको बताएको छ।
नयाँ नाम सार्वजनिक गर्दै फेसबुकका सीईओ मार्क जुकरबर्गले नयाँ नामले कम्पनीले मेटाभर्समा लगानी बढाएको र यसले फेसबुकलाई थप परिस्कृत र प्रयोगकर्तामैत्री बनाउने दाबी गरे।
कम्पनी फेसबुक इन्कबाट मेटा बने पनि सामाजिक सञ्जाल एप्सको नाम भने फेसबुक नै रहने पनि सीईओ जुकरबर्गले घोषणा गरेका छन्। मेटाभर्स तीन दशकअघि डास्टोपियन उपन्यास ‘स्नो क्र्यास’मा प्रयोग गरिएको शब्द हो, जो अहिले सिलिकन भ्यालीमा चर्चित छ।
यसअघि, फेसबुकको व्यवसायिक स्वतन्त्रतासम्बन्धी धेरै प्रश्न उठ्न थालेपछि कम्पनीले नाम परिवर्तन गर्दै अर्को नाममा कम्पनीलाई सञ्चालन गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका थिए।
सीईओ जुकरबर्गले फेसबुक ‘मेटाभर्स’ हुन सक्ने संकेत पहिल्यै दिएका थिए। मेटाभर्सले प्राविधिक दुनियाँलाई जनाउँछ। जसमा विभिन्न उपकरणहरुको सहयोगमा मानिसहरूले भर्चुअल संवाद गर्न सक्छन्।
फेसबुकको नाम परिवर्तन गरिए पनि त्यसले कम्पनीको व्यापारलाई भने खासै असर गर्ने छैन। कम्पनीलाई अब फेसबुकको व्यापार कम महत्वको हुनेछ। फेसबुकले प्रयोगकर्ताको गोपनियतामा ध्यान नदिएको भन्दै आलोचना भइरहँदा कम्पनीको अन्य व्यापारमा नै असर पुगेको थियो।
फेसबुककी एक पूर्वकर्मचारीले केही समयअघि अमेरिकी सिनेटको वित्तीय उपसमितिमा भएको सुनुवाइका क्रममा कम्पनीको लक्ष्यले ‘बालबच्चा, शेयर बजार र प्रजातन्त्र’ माथि नै असर पुर्याएको आरोप लगाएकी थिइन्।
फेसबुक कम्पनीबाट अलग भएसँगै कम्पनीको आलोचक बनेकी ३७ वर्षीया फ्रान्सिस हुगेनले फेसबुकविरुद्ध यस्तो आरोप लगाएकी हुन्। उनले अमेरिकाको क्यापिटल हिलमा भएको सुनुवाइका क्रममा आफ्नो पूर्वकम्पनीको आलोचना गरेकी हुन्।
यद्यपि फेसबुकले भने आफ्नो पूर्वकर्मचारीले आफूलाई थाहा नै नभएको विषयमा बोलेको बताएको थियो। समाजिक सञ्जाल फेसबुकको विश्वभर आलोचना भई त्यसको नियमनका विषयमा प्रश्न उठिरहेका बेला पूर्वकर्मचारी हुगेनले यस्तो आरोप लगाएकी थिइन्।
फेसबुक अहिले विश्वकै लोकप्रिय समाजिक सञ्जाल हो। प्रतिमहीना २ दशमलव ७ बिलियन सक्रिय प्रयोकर्ताले सञ्जालको प्रयोग गर्ने कम्पनीको दाबी छ। यस्तै सयौँ मिलियन मानिसले कम्पनीको अन्य एपहरु इन्स्टाग्राम र ह्वाट्सएपलगायत प्रयोग गर्ने कम्पनी बताउँछ।
Facebook Comment
Comment