फूल स्याहार्दै राइफल बोक्ने हात

कलिलैमा लडाकु बने। बन्दुक समाए। लडाइँ लडे। त्यो इतिहास भयो। एक धमिलो याद। तर स्मृतिमा ताजै छ, आफूले देखेको सपना। अझैं सपना युद्ध लडेको देख्छन्। यथार्थमा फूल स्याहारिरहेछन् कमरेड मुनाल उर्फ टकबहादुर घर्तीमगर।

फूल स्याहार्दै राइफल बोक्ने हात

काठमाडौं। जाजरकोटको सालघारी हुँदै आधा घण्टा ओरालिए रिम्नामा सानी भेरी भेट्न हतारिएको ठूली भेरी डल्लीमा भेटिन्छ। झण्डै घण्टा उकालिए पुगिन्छ लालीगुराँस, रयाज सिउरेको नेटाखाली।

२०५४ मा जाजरकोट सदरमुकाम खलंगाबाट झण्डै २२ किलोमिटर उत्तरपूर्वमा भेरीमाथि उभिएको डाँडागाउँ ‘किलो सेरा टु’ले काँपेको थियो। जुन गाउँको एउटा घरमा ठिटौले आँखा कक्षा ९ को किताब राखेको झोला र तेक्वान्दो खेल्दा लगाउने लुगामा अडियो। जुन आँखा छिमेकी गाउँ लहको लालीगुराँस बोटमा उक्लन लगाएर गोली हानी मारिएका आफ्नै कक्षाका रामबहादुर चन्दको सम्झनाले झन हतासियो। चन्दलाई जसरी मार्ला कि भनेर त्यो आँखा चनाखिँदै निक्लियो। बाहिरिन हतार आँखा आँगननेर घाममा जिउ सेकाइरहेका लालुपाते र सयपत्रीमा गएर टक्क अल्झियो, जसरी ऐंसेलु काँडामा कुनै युवतीको पछ्यौरी अल्झिन्छ। सिस्नेबाट ओर्लेको घाम डाँडागाउँ झरेको डेढ घण्टा मात्रै भएको थियो, ती आँखा फूलबाट जबर्जस्त उठेर बतासे तालमा उकालिए।

उकालिएका ती आँखा टालेगाउँ भौटामा माओवादी जिल्ला भेलामा भाग लिनपुगे। जहाँ कमरेड गणेशविक्रम शाहीले कलिला ठिटालाई हेर्दै भने, “तपाईं त मुनालजस्तै हुनुहुन्छ। यो नाम युनिक पनि हुन्छ, अरुकासँग नाम जुध्दैन पनि। तपाईंको नाम मुनाल राखम् है कमरेड ?”

१६ पुग्दै गरेका टकबहादुर घर्तीमगर अनि बने, कमरेड मुनाल।

“आमालाई फूल मन पर्थ्यो। लालुपाते फुलेर आँगन नै लाल हुन्थ्यो। सयपत्री फुलेर सप्तरंगी हुन्थ्यो। जाँदा होस् या फर्कंदा आमाले फूलको माला लगाइदिने संस्कार नै बसाल्नुभएको थियो,” यही ४ कात्तिकमा गोदावरी ग्वालिन्दहमा आफूले फुलाएका बिभिन्न जातका फुलमाझ कमरेड मुनालले घर छाडेको ५ कात्तिक २०५४ को बिहानतिर फर्केर भावुकिदै भने।

कर्मनासा खोलाको एउटा मूल ग्वालिन्दहछेवैमा उभिएका प्लाष्टिक घरभित्र कति फूल फुल्न साइत गर्दैथिए भने कति फुलिसकेका थिए। जसमध्ये गोदावरी फूलमा पानी हाल्दै उनले आफूले लडेका लडाइँ लेखो लाए, “सय जति लडाइँ लडिएछ। पार्टीले बन्दुक बिसाएपछि म घाइते पनि राजधानी पसेँ। हिजो बम, बारुद र बन्दुकसँग लुकामारी खेलेको म, आमाले बसाएको फूलको संस्कार सँगालेर तानेर होला, कोमल फूलहरूसँग लडिबडी गर्छु।”

डाँडागाउँ, जाजरकोट।

झल्को डाँडागाउँको

२०४६ पछि कांग्रेस र कम्युनिष्ट एकसाथ डाँडागाउँ पसे। उनको परिवारले कम्युनिष्ट (त्यसबेलाको संयुक्त जनमोर्चा नेपाल) रोज्यो।

डाँडागाउँ कुनै बेलाको खगेनकोट राज्यमा पर्थ्यो। खगेनकोट छेउछाउमै थिए, जाजरकोट, आठबीसकोट, गोतामकोट, जहारीकोट, बाफीकोट, मुसीकोट, रुकुमकोटजस्ता भुरेटाकुरे राज्य। गोर्खा राज्यको बिस्तारपछि राजकाज खोसिए पुराना राजाका चकचकी भने जारी रह्यो। तिनै राजखलक नै पछि मुक्खे भए। जिम्मल भए। भए प्रधानपञ्च। भए सांसद। तिनका शोषण कहीँ नसक्नु थियो। एक पाथी अन्न दिएको भरमा लैनो भैसी लुटे। नयाँ बेहुलीले बिहे गरेको पाँच दिन तिनैका घरमा बिताएपछि मात्र दुलहाको घर जाने चलन चलाए।

“दुलही धेरै सुन्दरी रहिछन् भने पाँच दिन तन्काएर धेरै दिन लम्ब्याउँथे भनेर बूढापाका सुनाउँछन्,” कमरेड मुनालले सुनाए।

ती वरपर गर्दा घोडा बनेर लानुपर्थ्यो। घोडा बन्न दुईजना चाहिन्थ्यो, एकजना किलो बन्थे भने अर्को एकजना घोडा। मुक्खे बनेका बाबुसाब घोडा बनेका मानिसको पिँठ्युमा घोडामा चढेजसरी सवार हुन्थे।

“पछि साँच्चीको घोडाको चलन आयो। तैपनि गाउँलेले घोडाको पुच्छर समाएर सवारी चलाउनुपर्थ्यो रे। दलित समुदायले स्वागत र बिदाइमा बाजा बजाउनुपर्थ्यो रे,” कुनैबेला डाँडागाउँमा रहेको शोषण मुनालले सुनाए।

गाउँमा सप्रेका गाई, गोरु, बोका, भैंसी, राँगा, अन्नपात राजखलकीय मुक्खेकै घरमा हाजिर गराउनुपर्थ्यो। घरमा रक्सी पारे पहिलोपाने तिनकै घरमा लाने नियम थियो।

“गाउँलेले अन्न लग्दा सानो पाथीबाट दिन्थे भने फिर्ता गर्दा ठूलो पाथीबाट लिन्थे। मानापाथीमै विभेद गर्नेले अरु के बाँकी राखेका थिए होलान् ?”, उनले सुनाए।

“हिजो बम, बारुद र बन्दुकसँग लुकामारी खेलेको म, आमाले बसाएको फूलको संस्कार सँगालेर तानेर होला, कोमल फूलहरूसँग लडिबडी गर्छु।”

त्यही गाउँछेउमा त्यस्तो दिन पनि आयो, उनै राजखलकीय मुक्खेलाई माओवादीले कारबाही गर्‍यो। बारेकोट गोठगाउँका दीपवहादुर सिंहको अन्नभण्डारको कोदो र तोरी खोसेर माओवादीले जनतालाई बाँड्यो। सिंहबाट खोसेर जनताका लालपुर्जा जनतालाई बाँड्यो।

यो थियो, १ फागुन २०५२ मा माओवादीले सशस्त्र संघर्ष थालनी गरेलगत्तैको कुरा।

मगर बाहुल्य डाँडागाउँ। दलितका साथै थोरैमात्रामा क्षेत्री र बाहुन बस्ती। तल ओर्ले भेरीको माछा खान पाइने त माथि उक्ले वनका मृग। त्यस्तो गाउँको एउटा किसान मगर परिवारमा जन्मे, मुनाल। उनका चार दाजु थिए भने एक दिदी।

“छाक टार्न धौ हुने परिवार हो। असार र साउनमा त छिटो मकै पकाउनुपर्ने कि बेसाहा गर्ने हो,” मुनालले गोडमेल गर्दै आफ्नो परिवारको कहानी कहे, “बा एकदमै सोझा थिए। हलो जुवालीबाहेक अन्य धन्धा थाहा थिएन। घरको सबभन्दा कान्छो मान्छे म थिएँ।’

माओवादी सशस्त्र संघर्ष शुरु भएपछि उनकी दिदी पुष्पा भूमिगत भइन्। उनी बालसंगठन हुँदै अखिल क्रान्तिकारी भए। साइँला दाजु मन्सुर त स्थानीय कलाकार नै थिए।

“दिदी जनयुद्धमा लागेपछि हाम्रो परिवार पुलिसको आँखी भयो,” पुराना दिनमा हराउन पुगे मुनाल।

माओवादी तह लगाउन सरकारले शुरु गरेको ‘किलो सेरा टु अपरेसन’ रोल्पा, रुकुमहुँदै जाजरकोट पुग्यो।

त्यतिबेला माओवादीको पश्चिम नेपालका आधार क्षेत्र जाजरकोट पनि मानिन्थ्यो। २०४९ को स्थानीय चुनावमा त्यसबेलाको संयुक्त जनमोर्चा नेपालले सदरमुकामका दुई गाविस जितेको थियो। त्यसमध्ये एक थियो, जाजरकोट सदरमुकाम भएको खलंगा गाविस। अर्को गाविस भने रोल्पा सदरमुकाम रहेको लिबाङ।

किलो सेरा टु अपरेसनको क्रममा पुलिसले उनको घरमा पटकपटक छापा मार्‍यो। कुटपिट गर्‍यो। सरसामान फाल्यो। गाली बेइज्जतका के कुरा !

“रातमा त परिवारका सबै सदस्य जंगलमा सुत्थ्यौँ। घरमा त कुकुरमात्र रहन्थ्यो। उज्यालो भएपछि यताउति हेर्दै घर फर्कन्थ्यौँ,” सन्त्रासमय दिन ती दिन सम्झिए मुनालले।

युद्धकालमा मुनाल।

एकदिनको कुरा। उनका दाजुलाई पुलिसले समात्यो। खोरेखालीहुँदै लगिरहेको बेला उनी भागेर बाँच्न सफल भए। तर, लगत्तै सागबारीस्थित गोठबाट ७० बर्षीय उनका बा लोता घर्तीमगरलाई पुलिसले मार्‍यो। आफ्ना बा मारिँदा मुनाल भूमिगत भएको पाँच दिनमात्र भएको थियो।

“खुकुरीले काँक्रा चिरेजसरी बाबालाई चर्को यातना दिएर मारेछ। मुखमा आगोले झोसेछ। यो घटनाले मलाई झन् आक्रोशित बनायो,” माओवादीमै लाग्नुका थप कारण पनि खुलाउँदै मुनालले भने।

कमरेड मुनाल नबन्दै उनले छापामार, गुरिल्लाबारे लोककथाजसरी सुनेका थिए। पेरु, रुस, भियतनाम र चीनका ती गुरिल्ला एकदिन नेपालमा पनि आउँछन्– उनले सुनेका थिए, कथा सुनेसरी। गुरिल्ला कस्ता हुँदाहुन् ? उनले तिनका भाँतीभाँतीका अनुहार कल्पन्थे पनि।

“पछि त आफै गुरिल्ला बन्नुपर्ने भयो,” मुनाल विगततिर फर्केर समीक्षा गरे, “घंघारुको लाठी, नांगो खुकुरी भिरेर शुरु भएको सामान्य विद्रोह, विभेदमा परेको मजदूर, महिलाले गरेको विद्रोहले राजतन्त्र फाल्यो।”

उनकी दिदी पुष्पाजस्तै उनी पनि माओवादी भए। उनीहरूकै नाउँमा पुलिसले उनको बालाई पुलिसले मार्‍यो। २०५६ को अन्त्यतिर उनले घरको श्रीसम्पत्ति पार्टीकरण गरे। सर्वहारा भए।

लडाइँमा फूल

जन्म, बिहे, मृत्युजस्ता जीवनका सबै महत्त्वपूर्ण घटनामा फूलको उपस्थिति हुन्छ। स्वागतमा पनि,  बिदाइमा पनि फूल प्रयोग गरिन्छ। स्मरणीय, फूलले माओवादी सशस्त्र संघर्षमा पनि भाग लियो। लोकबाजासँगै प्रयोग भयो। रातो टीकासँगै सामेल भयो। लडाइँमा पनि फूलले भाग लियो। बन्दुकका गीतको तालमा पनि फुल उनिएर लडाकुका गलामा झुल्यो। लडाइँमा जाँदा होस् या फर्कंदा माओवादी लडाकुको गला मौसम अनुसारका फूलमालाले सजिए। लडाइँमा जाँदा होस् या फर्कंदा, माओवादी लडाकुले प्रायः लालीगुराँस, सयपत्री, लालुपाते फूलका माला लगाए।

युद्धकालमा माओवादी लडाकुलाई फूलमालाले स्वागत गर्दै स्थानीय।

“जनमुक्ति सेनालाई जनताले माला लगाइदिन्थे। हामीले तिनलाई सम्मान गर्न रोलकल गरी स्यालुट गर्थ्यौं,” मुनालले लडाइँकालीन माला सम्झे, “लडाइँ जितेका मोर्चा होऊन् या सहयोद्धा गुमाएका, सहयोद्धा घाइतेलाई स्टेचरमा बोकेर जाँदा रातो टीका र फूलको माला लगाउँदा घाउमा मलम लगाएजस्तो हुन्थ्यो।”

सशस्त्र संघर्षमा सामेल भएपछि पहिलोपालि माला लगाएको सम्झिए। तीनबैनीलेकबाट झरेर रुकुम चुनबाङमा लालीगुराँसको माला लगाएको स्मरण गरे। उनले माला लगाएको गाउँ थियो, चुनबाङको मस्तगाउँ। जुन गाउँमा शहीद मस्तपत्नी मनकुमारी बुढाले माला लगाइदिइकी थिइन्। चुनबाङको लाखरखोलाको नाम शहीद मस्तवहादुर बिष्टको नाउँबाट मस्तगाउँ राखिएको थियो।

“शहीदपत्नीले लालीगुराँसको माला लगाइदिएर सम्मान गर्दा गहभरि आँसु भएको थियो। त्यसबेला म सेक्सन कमाण्डर थिएँ। २०५७ आसपासको कुरा हो, जुनबेला चुनबाङबाट पुलिसचौकी भर्खर भागेको थियो,” गोदावरी फूल हातमा लिएर विगत सम्झिए मुनालले, “जाजरकोटबाट रोल्पा रुकुम पुगेर स्वागत पाउँदा ठूलो मनोवैज्ञानिक बल मिलेको थियो।”

यसरी सम्मान गरेका फूलका माला साँचीराखौंजस्तो लाग्थ्यो रे। सकेसम्म झोलामा सुरक्षित गर्थे रे। सुनाए उनले, “शहीद परिवारको हातबाट लगाएका माला साँच्न मन लाग्थ्यो। त्यसबेला फोटो खिच्ने चलन थिएन। फोटो कतै दुश्मनको हातपरे, परिवार नै सखाप हुने हो कि भन्ने डर थियो। सुरक्षाको लागि नामसमेत हामीले त फरक राख्थ्यौँ। त्यसैले फूलका मालालाई पनि सम्झनामात्र बचाउन सकियो। कसले कसरी स्वागत गरे ? फूलका संस्मरण पनि लेख्यौँ। तर ती संस्मरणलाई पनि बचाउन सकिएन, कति दुश्मनका हात परे कति जले कति कुहिएर हराए। अहिले त तिनका तिथिमिति पनि भुलियो।”

“एकपाली थबाङ जान मन छ। हाम्रो राजधानी। हामीलाई फुलको माला लगाएर बिदा गरेका र स्वागत गरेका शहीद परिवारलाई लहरै लागेर भेट्न मन छ।”

सानो शक्तिबाट शुरु भएको थियो, माओवादी सशस्त्र संघर्ष। त्यसैले माओवादी छापामार शैलीमै हिँड्यो। आक्रमण गर्‍यो। जसलाई माओवादी फौजी भाषामा भन्यो, ‘हिट एण्ड रन’ (हान र भाग)। त्यही शैलीले माओवादीको शक्ति बढ्यो। रोल्पा, रुकुम, जाजरकोटजस्ता ठाउँलाई ‘आधार इलाका’ बनायो। त्यसपछि चलायमान युद्ध थाल्यो। मोर्चाबन्दी युद्ध लड्न थाल्यो। त्यसपछि त माओवादी  रातिराति लुकीछिपी होइन, दिनमै खुलेआम हिँड्न थाल्यो। त्यसपछि त थियो, माओवादी लडाकुका गला मौसम अनुसारका फूलका मालाले सजिन थालेको।

बेनी आक्रमणबाट फर्केपछि जाजरकोट माझकोटमा फूलको मालाले स्वागत गरेको भुल्दैनन् मुनाल। माओवादी कलाकारले लडाकुलाई बाजा बजाउँदै गाएर स्वागत गर्थे भने जनता, कार्यकर्ताले माला लगाएर स्वागत र विदाइ।

“घर जाँदा जहिले पनि आमा (भद्रकली) ले फूलको माला लगाएर स्वागत र बिदा गर्नुहुन्थ्यो। फूल नफुल्ने सिजनमा हो भने हरियो पातको माला बनाएर आमाले बिदा गर्ने आमाको संस्कार थियो”, मुनालले आफ्नो आँगनमा फुल्ने लालुपाते र सयपत्री सम्झँदै भने।

युद्धकालमा कला प्रस्तुत गर्दै स्थानीय पोशाकमा सजिएका माओवादी कलाकार।

लडाइँः एक धमिलो स्मृति

समय कति छिटो चिप्लिएछ। अहिले त आफैँले लडेका कति लडाइँ समेत बिर्सन थालेछन् उनले। औंला भाँचेर आफू लडेका लडाइँ गने, ९७ पुर्‍याए।

धेरै लडाइँ विस्मृतिको रहमा हराए पनि उनले पहिलो लडाइँ भने बिर्सेका रैनछन्। त्यो थियो, छिमेकी लहँ गाउँको पुलिसचौकी आक्रमण।

“त्यसबेला खुकुरी दलको जगजगी थियो। दलका मानिसले गाउँका चेलीबेटीलाई बलात्कार गरे। गाउँलेका खसी, बोका, भाले, दुध, दही लुटे। तिनले त अण्डा कोरल्न बसेका माउ पनि बाँकी राखेनन्। खुकुरी दलका बाहेक पुलिसचौकीमा करिब तीन दर्जन पुलिस थिए”, सुनाए उनले।

लहँ पुलिसचौकी हान्न माओवादी लडाकुले जाजरकोटकै बडालेकमा तालिम गर्‍यो। लडाइँको राजनीतिक कमिसार वर्षमान पुन ‘अनन्त’ थिए भने कमाण्डर नन्दकिशोर पुन ‘पासाङ’।

“लहँ लडाइँमा भाग लिएपछि १० वर्षको अवधिमा भएका सबैजसो लडाइँमा भाग लिएँ,” सम्झन कोशिश गर्दै मुनालले नाम लिए, “डोल्पा, जुम्ला, गणेशपुरहुँदै गण्डक मोर्चामा गएर सुनवल, पाल्पा र कास्की पोखरासम्मका लडाइँ पनि लडियो।”

रुकुमकोट, प्युठान, दाङ सदरमुकाम घोराही, म्याग्दी सदरमुकाम बेनी आक्रमणमा उनी घाइते पनि भए।

“गोली नै लागेर म अंगभंग भएको त होइन, घाइते भएको बमको छर्राले हो। अहिले पनि जिउमा छर्रा छन्,” रुकुमकोट आक्रमणमा बमको छर्रा टाउकोमा लागेर रत्ताम्यै भएको मुनालले स्मरण गरे, “म्याग्दीको सेनासँगको मोर्चामा मुख्य कमाण्डो टीममा थिएँ। मसँग ‘एके फोर्टिसेभेन’ थियो। सल्लाघारी भएर जानुपर्ने थियो। जाँदाजाँदै गोडामा लाग्यो।”

प्रमुख जिल्ला अधिकारीसहितलाई अपहरण गरेको बेनी लडाइँमा उनी कम्पनी कमाण्डर थिए।

माओवादीको सबभन्दा सानो युनिट सेक्सन थियो (एउटा सेक्सनमा ९ देखि ११ जना)। तीन सेक्सनको एक प्लाटुन, तीन प्लाटुनको एक कम्पनी, तीन कम्पनीको एक बटालियन, तीन बटालियनको एक ब्रिगेड र तीन ब्रिगेडको एक डिभिजन। माओवादीका सात डिभिजन थिए। माओवादी जनमुक्ति सेनाको सर्वोच्च कमाण्डर थिए, पुष्पकमल दाहाल प्रचण्ड। चार डेपुटी कमाण्डरहरू वर्षमान पुन ‘अनन्त’, नन्दकिशोर पुन ‘पासाङ’, जनार्दन शर्मा ‘प्रभाकर’ र चक्रपाणि खनाल ‘बलदेव’ थिए।

मुनाल भने कृष्णसेन इच्छुक ब्रिगेडको संस्थापक बिग्रेड कमाण्डर थिए।

१ असोज २०५८ मा मुनालले रोल्पा जुमारांसीकी ‘कमरेड प्रभा’ (पार्वती बुढामगर)सँग जुमारांसीमै ‘जनवादी बिहे’ गरे। प्रभा पुलिसले मारेका रुकुम चुनबाङका कमरेड कुलमान(श्यामवहादुर पुन)की साली थिइन्।

प्रभासँग जनवादी बिहे गर्दै र गरेपछि मुनाल (तल)।

“मलाई रोल्पाजस्तो माओवादीको राजधानीबाट बिहे गर्न पाउनु आदर्श र गर्वको कुरा लाग्थ्यो। जो अहिले पनि लाग्छ। उहाँको पनि शहीद परिवार र म पनि शहीद परिवार भएकाले झन् नजिक बनायो,” मुनालले बिहे प्रसंग झिके।

त्यसबेला प्रभा मोडल जिल्ला(रोल्पा र रुकुमका सबभन्दा माओवादी प्रभावित गाविसहरूलाई मिलाएर बनाएको जिल्ला)को महिला संघको उपाध्यक्ष थिइन्।

गलामा सयपत्री माला लगाउँदै उनीहरूले बन्दुक साटासाट गरेर जनवादी बिहे गरेका थिए।

फूल आनन्द

के छ फूलमा, जो गीतमा पनि बस्यो। कवितामा पनि बस्यो। फूल किन गीत र कविता भएर पनि फुल्यो ? किन कवितामा फूल ? गीतमा फूल ? अंग्रेजी, अरबी, हिन्दी, नेपाली सबै भाषाका साहित्यमा फूल नै किन बस्यो ? कोमलताको प्रतीकमा होस् या जीवन बुझाउने सवालमा, किन फूल नै उभियो ?

यसले भन्यो, मानिस र फूलको सम्बन्ध। सम्बन्धमात्र होइन, गहिरो सम्बन्ध। नजिकको नाता। रगतकोजस्तो साइनो।

भनिएको छ, मानिसले खेती थालेको आठ÷नौ हजार बर्ष भयो। खेती थाल्नुअघि पनि फूल हुँदो हो। यद्यपि मानव समाज विकास क्रमसँगै फूल मानिसको स्वागत र बिदाइमा सामेल हुन थाल्यो। पढ्न पाइन्छ, आजको मानव सभ्यता विकास भएको मानिने इरान, इराकतिर ढुंगामा फूलको आकृति कुँदिएको भेटिएको छ।

जे होस्, मानिस र फूलको सम्बन्ध जति पुरानो छ, त्यति नै गाढा छ। तर, के बन्दुकको आँखा भएको मानिसको फूलको आँखा हुन्छ ? के बन्दुकको भाषा बोल्नेले फूलको भाका गाउला ?

तपाईंलाई खसकस नै लाग्ला, ‘बन्दुक बोकेको हातले फूल फुलाउँदाको अनुभूति सुन्न। बन्दुकको भाषा छाडेर फूलको भाषा बोल्दाको फरक बुझ्न।’

सोध्न मन लाग्ला, ‘पत्थरको जवाफ फूलले दिँदो रहेछ त ?’ यो पनि सोध्न मन होला, ‘बन्दुकको कडा भाषा बोलेको कमरेड कसरी फूलको कोमल भाषा बोल्न सिकियो ? बमको धमकावाल गीतमा झुमेको कमरेड के रमेको छ त फूलमा झुल्ने मौरी र चराको गुनगुनमा ?’

यौवनमा बन्दुक समाएका कमरेड मुनाल वयस्कमा ग्वालिन्दह फूलबारीमा कसरी पुगे होलान् ? बन्दुक बोकेको हातले कसरी फुलाउँदो हो फूल ? छैन त अचम्म ! कहाँ बन्दुकसँग खेलेको कमरेड फूलसँग फुल्दै छ ? कहाँ बन्दुकको भाषा बोलेको कमरेड फुल भाका गाउँदैछ ? प्रश्नको चाङ नै लागेको छ, ‘फूलबारीमा कमरेडको दिल केले बसाल्यो ?’

जवाफ दिनुअघि भूमिका बाँधे मुनालले, “जुन सपना देखेर लागेका थियौँ। त्यो त पूरा भएन। तर पनि जिन्दगीभर बन्दुक बोकेर पनि नहुने।”

उनको जस्तै सपना बोकेका कति शहीद भए। कति घायल भए। कति टुहरा। उनले सोधे, “सपनामा तगारो लाग्यो। के गर्ने त ?”

शान्तिप्रक्रियापछि उनले धेरै व्यवसाय हेरे। तिनका सुखदुख नियाले। बमबारुदसँग खेलेका उनलाई ती तमाम तनावबाट मुक्त गर्ने पनि र व्यवसाय पनि चाहिएको थियो। आत्तिएर उनी कहिलेकसो पार्कतिर गए। पार्कमा फुलेका फूल देख्दा ती हजार तनाव पनि एकछिन भुले। आनन्द लाग्यो। रंगीचंगी फूलमा मन भुल्यो।

“२०७२ को भुइँचालोपछि तनावपूर्ण, खेतीकिसानी र आनन्दको ठाउँ खोज्दैजाँदा जंगल आसपासको यो ठाउँमा थालेँ,” मुनालले फूल रोज्नुको कारण खुलाए, “बामबारुदसित खेल्दै तनावपूर्ण पृष्ठभूमिबाट आएको मलाई मानसिक शान्ति पनि चाहिएको थियो। उतारचढावपूर्ण मन बाँध्नु पनि थियो। पैसा कमाउने त यस्तै हो, फूलसँग लडिबडी गर्छु भनेर फूल रोजेँ। अभावपूर्ण नेपालको सन्दर्भमा युनिक पनि नौलो पनि के होला भनेर छान्दैजाँदा फूलमै फुलेँ।”

गोदावरीस्थित आफ्नै फूलबारीमा रमाउँदै मुनाल-प्रभा दम्पति।

कहावत नै छ, बन्दुकले आतंक फैलाउँछ। उसो त फूलले पनि आतंक फैलाउँछ। फूलले कहाँ आनन्दमात्र दिन्छ र ? फूलको पनि आतंक हुन्छ भनेर ध्रुवचन्द्र गौतमले त ‘फुलको आतंक’ नामक उपन्यास नै लेखे। यद्यपि कमरेड मुनाल फूलको आनन्द नै लिए। सपना भत्केको पीडामा फूलको मलम लगाउने कोसिस गरे। फूलजस्तै दुई सन्तानका पढालेख पनि फूलले नै गरे। उनको चारजनाको परिवारमात्र होइन, थप पाँच–सातजनाले पनि यिनै फूलबाट सास फेरे।

कति फुलेका त कति फुल्न थालेका फूलमा आँखा बसाल्दै कमरेड मुनालले भने, “विगतमा धेरै तनावपूर्ण जीवन र उतारचढाव व्यहोरियो। बमबारुदसँग खेलियो। हिजो बमबारुद र बन्दुकसँग खेलेको हातमा फूल फुल्दा, तिनै फुलमा चराचुरंगी, पुतलीसँग खेल्दा आनन्द आउँछ। भत्केका सपनाको घाउ दुखेको बेला फूलसँग खेल्दा रिलिफ हुन्छ।”

फूलबारीमै उनले एउटा प्रसंग सुनाए। उही युद्धकै प्रसंग। तर, सपनामा जारी युद्ध। भलै उनका सुप्रिम कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनै जमानामै बन्दुक बिसाइसके। कमरेड मुनालको सपनामा भने लडाइँ जारी थियो। बन्दुक छाडेर फूलसँग खेल्दा पनि सपनामा बन्दुकले छाडेको थिएन।

“कहिलेकाहीँ त रातभर सपनामा लडेर बिहान लखतरान हुन्छु। उठेर कमरेड(पत्नी)लाई भन्छु, ‘रातभर लडियो। कागतीपानी खाम् है।’ हिजो हामीले बन्दुकले लडेको लडाइँ र लडाइँ लड्ने प्राविधिक कुरामात्र थिएन। त्यो त सपना पनि थियो। त्यो सपना पुरा नभएर होला, सपनामा लडाइँ जारी भएको”, सपनामा जारी लडाइँको प्रसंग कमरेड मुनालले सुनाए।

सपना देखेको भोलिपल्ट साथीहरूसँग फोनमा वा सामाजिक सञ्जालमा कुरा हुन्छ रे ‘आज त फलानो मोर्चा लडियो नि कमरेड।’

घित्करो*

सुनाउँछन्, लडाइँताको सपना देखेका तिनै डाँडाकाडा र भीरपाखामा एकपालि जान मन छ। ती ठाउँ कस्ता भए होलान् ? तिनका सपना पनि आफ्नोजस्तै त भत्केनन् ? एकपालि पुगेर हेर्न मन छ। तिनीहरूसँगै एकपालि हाँस्न मन छ। तिनीहरूसँगै रुन मन छ। सहयोद्धाका सम्झनामा धितमरुन्जेल रुन मन छ।

“हामीलाई त ती ठाउँका स्मरण र फोटो राख्ने अवसर पनि मिलेन। महान् शहीदका फोटो पनि बचाउन सकेनौं,” मुनालले आफ्नो घित्करोजसरी सुनाए, “एकपालि थबाङ जान मन छ। हाम्रो राजधानी। हामीलाई फुलको माला लगाएर बिदा गरेका र स्वागत गरेका शहीद परिवारलाई लहरै लागेर भेट्न मन छ।”

युद्धकालमै फूलसँग भुल्दै।

लडाइँताका ‘सेल्टर’ लिएका ठाउँका सम्झनाले उनको छातीको देब्रे कुना भरिएको रैछ, बिसाए हैन बिसाउने प्रयास गरे। स्मृति कहाँ अन्नको भारीसरी पोखिन्छ र ?

“जाजरकोट फर्साको अनकन्टार जंगलमा कमरेड विशाल (रामकुमार गौतम) र म सुतेका थियौँ। कमरेड घुर्न थाले। उनको घुराइ र बाघको आवाज मिलेछ क्यार। बाघ आएर छोएछ। लाग्यो, पुलिस आयो,” जान मन लागेको एउटा सेल्टर फर्सा पनि थप्दै भने, “कस्तो होला त्यो ठाउँ ? एकपालि जान मन छ।”

खोई केके फेरियो। केके फेरिएन। हिसाब हुनै बाँकी छ। तर देशमा गणतन्त्र आयो। उनकै सुप्रिम कमाण्डर गणतन्त्र नेपालको पहिलो कार्यकारी प्रमुख पनि भए। सामान्य मानिसको जीवनमा लाग्यो त गणतन्त्रको घाम ?

“घाइते, शहीद, बेपत्ता र सर्बसाधारणका अवस्थाले मलाई चिमोट्छ। बिगत सम्झेर रुन मन लाग्छ,” डेढ बिगाहाजति जग्गा भाडामा लिएर फुलाएका गोदावरी फूल चहार्दै मौरीले गाएको गुनगुनमा आफ्नो विगत धुन भरेर कमरेड मुनालले लामो सास फेरे।

*घित्करो- अपूरो इच्छा, घिडघिड। भेरी-कर्णाली-राप्ती भेगमा घित्करो भनिन्छ।

(सबै तस्वीर टकबहादुर घर्तीमगर ‘मुनाल’ले उपलब्ध गराएका हुन्।)

तपाईंलाई नेपाल भ्यूज कस्तो लागिरहेको छ ? तपाईंले हामीलाई फेसबुक, युट्युब, ट्विटर, टिकटक मार्फत् सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved