बुझ्ने भएपछि दशैंमा दक्षिणा लिइनँ

अहिले गाउँँ जाँदा मलाई त्यस्तो लाग्दैन। म सानो छँदा दशैंमा मेरो गाउँँमा जे जे हुन्थ्यो, अहिले त्यस्तो हुँदैन।

बुझ्ने भएपछि दशैंमा दक्षिणा लिइनँ

स्याङ्जा जिल्लाको पुतलीबजार गाउँँ, ‘जहाँ म जन्मिएँ’, जहाँ मेरो बालापन बित्यो। जन्मथलोसँग जोडिएका अनेक किस्सा छन्, जसको स्मृति गर्दा ‘नोस्टाल्जिक’ हुन्छु।

दशैंंका सम्झनाले रोमाञ्चित नहुने को होला ? म सानो हुँदा पनि गाउँँमा दशैंं निकै रोमाञ्चक हुन्थ्यो। सम्झन्छु, दाइदिदीहरू खटिएर बाटाघाटा सफा गर्थे। सबै मिलेर गाउँँको सरसफाइ गर्ने एकप्रकारले लहर नै चल्थ्यो। वर्षायाम भर्खरै सकिएको हुन्थ्यो। बाटाघाटा वर्षा, भेलले बिगारेका हुन्थ्यो। त्यो सरसफाइ प्रायः दशैंंको छेको पारेर गरिन्थ्यो। गाउँँका बाटाघाटा सँगै घरहरूमा सरसफाइ चलेपछि लाग्थ्यो, दशैंं आयो।

दशैंको अर्को आकर्षण नया लुगा। शहर जाने, नया लुगा किन्ने चलन पनि थियो। मैले पनि हरेक दशैंमा नया लुगा पाउथे, बाबुआमाबाट।

गाउँँमा शहरबाट फर्किनेहरूको ताती हुन्थ्यो। रोजगारीका लागि थातथलो छोडेका मानिसहरू दशैं मनाउन घर फर्किरहेका हुन्थे। गाउँमा बेग्लै माहोल हुन्थ्यो।

हामी लट्टे पिङ हाल्नको लागि गाउँँमा भएका हरेक घरमा बाबियो उठाउँदै हिँड्थ्यौँ। बुढापाकाले लठ्ठो बाटिदिन्थे। पिङ खेल्नका लागि गाउँँका सबै केटाकेटी एकै ठाउँमा जम्मा हुन्थे। दशैंले एउटा नयाँ उल्लास नै लिएर आउँथ्यो।

तर, अहिले गाउँँ जाँदा मलाई त्यस्तो लाग्दैन। म सानो छँदा दशैंमा मेरो गाउँँमा जे जे हुन्थ्यो, अहिले त्यस्तो हुँदैन। गाउँमा पनि दशैं मनाउने कुरामा अब धेरै परिर्वतन आइसकेको अनुभुति मलाई हुन्छ।

घटस्थापनाको दिन जमरा राखेपछि दशैं लागेजस्तो हुन्थ्यो। फुलपाती शुरु भएपछि सेल लगायत विभिन्न रोटी पकाउने। आफन्तहरू बोलाएर सँगै खाना खाने। खसी काट्ने। पिङ खेल्ने। अनि दशैंको दिन टिका लगाउँने। यस्तै यस्तै हुन्थ्यो।

दशैंमा टीका लगाउँँदा दक्षिणा दिनुपर्ने आफन्तले दक्षिणा पनि दिन्थे। मलाई लाग्थ्यो टीका लगाएर आशीर्वाद दिएपछि पैसा किन दिनुपर्ने होला? जब म अलि बुझ्ने भएँ, मलाई दक्षिणा लिन मन लागेन। अनि त्यहीबेलादेखि मैले दक्षिणा लिन छोडिदिएँ। र, आजसम्म लिएको छैन। भविष्यमा पनि लिन्नँ।

टाढा टाढा भएका आफन्तहरूसँगको भेटघाट। त्यही भेटघाटले उनीहरूको सम्झना वर्षैभरि ताजा गराइराख्थ्यो। र, अर्को दशैं कहिले आउला र फेरि भेट होला भन्ने लाग्थ्यो।

एसएलएसीसम्म गाउँँमै पढेर म पोखरा हुँदै काठमाडौं आएँ। अहिले काम, व्यावसायिकताले काठमाडौंमै रोकिएको छु। यद्यपि दशैंले मलाई मेरो गाउँँ जन्मथलोतिर जान प्रेरित गर्छ। म जान्छु। तर बाल्यकालजस्तो दशैंको रमाइलो अब हुँदैन। बाल्यकालमा साथीभाइदेखि घरपरिवारसम्म मनाइएको दशैंको स्मृति आँखाअघि नाँच्न थाल्छ। तर, अहिले मानिस व्यक्तिवादी हुँदै गएको अनुभूति हुन्छ। दशैंले जुन सामाजिकता र एकता अनुभूत गर्थ्यो, अहिले त्यस्तो अनुभूत हुँदैन।

गाउँँबाट शहर पसेपछि हाम्रो पुस्तामा विगतजस्तो सामाजिकपनाको संस्कारमा कमी आएको जस्तो लाग्छ। जसका कारण अहिलेको पुस्ताले हामीले अनभूति गरेको दशैं त्यस रूपमा महशूस गर्न पाउने देख्दिनँ। विस्तारै अब गाउँँ गाउँँ नै नरहने वातावरण बन्न थालेको छ।

तर शहरीकरण प्रभावले गाउँँ समाजको संस्कृति मास्नु हुँदैन भन्नेमा सबै पक्ष सचेत हुनुपर्ने हो, त्यसमा कमी आइरहेका्े छ। हामीले आफ्नो मलैकिता गुमाउनु हुँदैन भन्ने मेरो मान्यता हो। यसमा पनि हामी चिन्तित होइन, चिन्तन गर्नुपर्ने अवस्था म देख्छु।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved