माइतीघरमा आन्दोलनरत आब्दाका छोरामाथि बाँकेमा कुटपिट

छोरामाथि आक्रमण भएपछि आब्दा शुक्रबार मात्रै दुईपटक माइतीघरमै बेहोश भएकी छिन्।

माइतीघरमा आन्दोलनरत आब्दाका छोरामाथि बाँकेमा कुटपिट
बेपत्तापछि हत्या गरिएकी निर्मला कुर्मीका लागि न्याय माग्दै अभियन्ता रुवी र उनका साथीहरूले माइतीघरमा गरिएको धर्ना

काठमाडौं। न्यायका लागि नेपालगञ्जदेखि काठमाडौंसम्म पैदलयात्रा गरी आएकी आब्दा दर्जीका छोरामाथि बाँकेमा कुटपिट भएको छ।

आज बिहान बाँकेको एक मस्जिदमा नमाज पढ्न जाने क्रममा अज्ञात समूहले आब्दाका छोरा मुन्सिर्फमाथि आक्रमण गरेको हो।

कसले किन आक्रमण गर्यो भन्ने नखुलेको प्रदर्शनमा सहभागी सकिना तेलीले बताइन्। ‘‘प्रदर्शन विचलित पार्ने षड्यन्त्र जस्ताे हामीलाई लागेकाे छ,” उनले भनिन्, ‘‘याे बीचमा प्रदर्शन राेक्न धेरै दबाब पनि आएका थिए।”

बाँकेका नकुन्नी धोबीको हत्या र बेपत्ता भनिएकी निर्मला कुर्मीको अवस्थाबारे अनुसन्धान गरी दोषीलाई कारबाहीको माग गर्दै रुबिसहित १६ जना न्यायका लागि काठमाडौं आएका थिए। १९ दिन बाँकेमा धर्ना दिए पनि प्रहरीले चुस्त अनुसन्धान नगरेको भन्दै २० दिन पैदल हिँडेर आएका उनीहरू माइतीघर मण्डलामा निरन्तर धर्नामा छन्।

आन्दोलनको नेतृत्व गरिरहेकी रुबि खानलाई प्रहरीले एक साता हिरासतमा लिई बिहीबार छाडेको छ। गएको शुक्रबार माइतीघरमा आन्दोलनरत १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएकोमा रुबिलाई बाँके पुर्याएर अरुलाई शनिबार छाडेको थियो।

सर्वोच्चको आदेशपछि रुबिलाई प्रहरीले एक सातापछि शुक्रबार छाडेकोमा उनी विगत आठ दिन देखि निरन्तर अनसनमा छिन्। उनको स्वास्थ्य अवस्था बिग्रिदै गएको प्रदर्शनमा सहभागी तेलीले बताइन्।

छोरामाथि आक्रमण भएपछि आब्दा शुक्रबार मात्रै दुईपटक माइतीघरमै बेहोश भएकी छिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved