महामारीमा चाडपर्व

बढ्यो कोरोना संक्रमण फैलने जोखिम

शहरबाट गाउँ जानेहरूले कोरोना संक्रमण थप फैलाउन सक्ने जनस्वास्थ्यविद्हरू बताउँछन्। शहरभन्दा गाउँमा केही कम संक्रमण रहे पनि चाडपर्व गाउँमा संक्रमण फैलाउने जोखिम बढ्ने उनीहरू बताउँछन्।

बढ्यो कोरोना संक्रमण फैलने जोखिम

काठमाडौं। चाडपर्व नजिकिएसँगै स्वदेश फर्कने नेपालीहरूको संख्या बढिरहेको छ। चाडपर्व नजिकिँदै गर्दा स्वास्थ्य विज्ञहरूले कोभिड संक्रमणबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गर्दै आइरहेका छन्। सरकारले कोभिड संक्रमण नफैलियोस् भन्नका लागि सीमा नाकाहरूमा खोप लगाउने तयारी गरेको छ।

यसरी आउने-जाने क्रमले एक ठाउँमा भएको संक्रमण अर्को ठाउँमा सजिलै पुग्न सक्ने सम्भावना बढी देखिएको स्वास्थ्य विज्ञ बताउँछन्। छिमेकी मुलुक भारत गएकाहरू नेपाल भित्रिने क्रम बढिरहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले बताए।

प्रवक्ता कुँवरका अनुसार सबैतिर निषेधाज्ञा खुलिसकेको छ। नाकाहरू पनि सबै खुलिसकेकाले भारतबाट नेपाल आउनेको संख्या दैनिक बढ्दै गइरहेको छ।

प्रवक्त कुँवर भन्छन्, ‘‘कोरोना महामारी कम भइसकेको छ। स्वाथ्यका मापदण्ड पालना र एन्टीजेन परीक्षण गर्दै सीमानाकाबाट नेपाल पठाइरहेका छौँ। तर संक्रमणसँग मिल्दा जुल्दा केही लक्षणहरू देखिएको छ भने क्वारेन्टाइनमा राख्ने गरेका छौँ।”

भित्रिएका सबैलाई क्वारेन्टाइनमा राख्ने निर्देशन नपाएकाले लक्षण देखिएका केहीलाई मात्र क्वारेन्टाइनमा राख्ने गरेको एसएसपी कुँवरले बताए। चाडपर्व विशेष भनेर सीमानाकाबाट नेपाल भित्रनेहरूलाई के गर्ने के नगर्ने भनेर नयाँ निर्देशन केही नदिएकाले पुरानै मापदण्डअनुसार चलिरहेको उनले बताए।

चाडपर्वलाई विशेष लक्षित गर्दै संक्रमण नफैलियोस भनेर गाउँ-गाउँमा कोभिड परीक्षणका लागि एन्टिजेन बुथ राख्ने तयारीमा लागेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले बताए।

डा.पौडेल भन्छन्, ‘‘आजसम्म प्रवेश सीमानाकाबाट नेपाल भित्रने एक लाख मानिसको एन्टिजेन र ६ लाख बढीको स्क्रिनिङ गरिसेकिएको छ। तर अब चाडपर्व नजिकिएसँगै सीमानाकामा भीडभाड बढिरहेकाले परीक्षणको दायरा बढाउन लागिरहेका छौँ।”

भारतबाट आएकाहरू जसले खोप लगाएका छैनन्, उनीहरूलाई खोप लगाएरमात्र नेपाल भित्र्याउने तयारी गरिएको समेत उनले जानकारी दिए। तर कति जनालाई खोप दिइने भन्ने बारे कुनै निर्णय भइनसकेको उनले बताए।

त्यस्तै, सीमानाकामा परीक्षण गर्न छुटेकाहरूलाई समुदायमै गएर भए पनि परीक्षण गरिने प्रवक्ता पौडेलको भनाइ छ। खास गरेर सरकारले संक्रमण नफैलियोस भन्नका लागि परीक्षणको दायरा बढाउनमा बढी केन्द्रित भएको उनले जानकारी दिए।

शहरको संक्रमण गाउँ पस्ने जाेखिम

अन्य समयमा विभिन्न कारण गाउँबाट शहर पसेका व्यक्ति पनि चाडपर्व नजिकिएसँगै गाउँ फर्कन्छन्। तर, ०७६ माघदेखि नेपालमा भित्रिएको कोभिड संक्रमणका कारण गतवर्ष र यो वर्ष पहिलेको जसरी चाडपर्व सहज तरीकाले मनाउने वातावरण भइसकेको छैन।

तर पनि शहरबाट गाउँ जानेहरूले कोरोना संक्रमण थप फैलाउन सक्ने जनस्वास्थ्यविद्हरू बताउँछन्। शहरभन्दा गाउँमा केही कम संक्रमण रहेको अवस्थामा चाडपर्व गाउँमा पनि संक्रमण फैलाउने जोखिम बढेको उनीहरूको भनाइ छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका प्रमुख डा.शेरबहादुर पुन भन्छन्, ‘‘गाँउको तुलनामा शहरमा बस्ने धेरैले कोभिडविरुद्ध खोप लगाइसकेका छन्। अब चाडपर्व मनाउन गाउँ जानेको संख्या बढ्दै छ। यसरी जाँदा बीचमै संक्रमित भएकाहरूले गाउँमा सजिलै संक्रमण फैलाउन सक्छन्।”

खोप लगाएका व्यक्तिहरू पनि संक्रमित हुन सक्छन् तर उनीहरूमा गम्भीर खालका लक्षणहरू नदेखिने पुन बताउँछन्। अहिलेको परिस्थितिमा गाउँमा रहेका जो खोपको पहुँचमा पुग्न सकिरहेका छैनन्, त्यस्ता व्यक्ति नै संक्रमणको उच्च जोखिम र गम्भीर संक्रमित हुने सम्भावना रहेको उनले बताए।

डा.पुन भन्छन्, ‘‘कतिपयलाई कोभिडको जोखिम हटिसक्यो भन्ने लाग्न सक्छ। तर हामी अहिले स्थिर अवस्थामा छौँ। जोखिमै हट्यो भन्नका लागि यो भन्दा पनि कम संक्रमित हुनु पर्ने हुन्छ।”

यसरी गाउँ जानेहरूबाट संक्रमण नफैलियोस भन्नका लागि स्थानीय सरकारले नै केही निश्चित मापदण्ड तोक्नु पर्ने कुरामा उनले जोड दिए।

तपाईंलाई नेपाल भ्यूज कस्तो लागिरहेको छ ? तपाईंले हामीलाई फेसबुक, युट्युब, ट्विटर, टिकटक मार्फत् सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved