यःसिंको हनुमान ढोका यात्रा (फोटो फिचर)

यःसिंलाई असोज २ गते हनुमानढोकामा ठड्याएर इन्द्रध्वजोत्थान गरिन्छ।

यःसिंको हनुमान ढोका यात्रा (फोटो फिचर)

काठमाडौं। येयाँ पुन्हि (इन्द्रजात्रा)मा हनुमानढोकामा ठड्याउन यस वर्ष छानिएको यःसिंलाई मंगलबार स्थानीयले तानेर भोटाहिटीबाट हनुमानढोका पुर्‍याएका छन्। उक्त यःसिंलाई असोज २ गते हनुमानढोकामा ठड्याएर इन्द्रध्वजोत्थान गरिन्छ।

यःसिंलाई २३ भदौ बुधबार भाद्र शुक्ल द्वितियाको दिनमा भक्तपुरको चित्तपोलबाट विधिपूर्वक मानन्धर समुदायसँगै गुरुजु पल्टन गएर शुभसाइतमा काटिएको थियो। बिहीबार राति यःसिंलाई भोटाहिटी पुर्‍याएसँगै गुरुजुको पल्टनले सलामी दिएको थियो। २९ भदौ मंगलबार अर्थात आज यःसिंलाई नगर प्रवेश गराइने साइत जुरेको थियो।

किंवदन्ती अनुसार स्वर्गलोकका राजा इन्द्र आमा बसुन्धरादेवीको व्रतका निम्ति आवश्यक पारिजातको फूल र कर्कलो चोर्न मानव रूप धारण गरी काठमाडौं आउँछन्। बगैंचाको मालीलाई सोध्दै नसोधी चोर्न लाग्दा स्थानीयले तन्त्रशक्तिको प्रयोग गरी इन्द्रलाई बीच सडकमा बाँधेर ढालेपछिको दृश्यसहितको मूर्ति प्रदर्शन गरिएको लोककथन छ।

काठमाडौंको इन्द्रचोक, किलागल र नरदेवीमा पनि बाँधिएका इन्द्रको मूर्तिलाई त्यसरी नै अग्लो डबलीमा प्रदर्शन गर्ने गरिन्छ।

यसरी आफ्नो खातिर काठमाडौंबासीले बन्धनमा पारेका छोरा इन्द्रलाई त्यस बन्धनबाट मुक्त गराउन उनकी आमा स्वयं काठमाडौं आएर छोराको बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई फर्काएर लग्छिन्। यस मौसममा लाग्ने त्यही विशेष कुहिरोका कारण धानबाली समयमै हुर्किएर पाक्छ भन्ने किंवदन्ती छ।

यो समयलाई काठमाडौंमा येयाँ पुन्हिको रूपमा मनाइन्छ। यो वर्ष ३ असोजमा येयाँ पुन्हि परेको छ। सोही दिन ‘क्वः नेया’ (तल्लो टोलमा) जीवित देवी कुमारी र जीवित देउताहरू गणेश र भैरवको रथ यात्रा गरिन्छ। साथै ४ असोजमा यी देवदेवीलाई थःनेया (माथिल्लो टोल)मा रथ यात्रा गराइन्छ।

८ असोजमा नानिचा यात्रापछि हनुमानढोकामा ठड्याइएको यःसिं ढालेर टेकु दोभानमा लगेर सेलाएपछि इन्द्रजात्रा सम्पन्न हुन्छ। गतवर्ष कोरोना महामारीका कारण येयाँ पुन्हिको रथयात्रा भएको थिएन।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved