कुशे औँसीको दिन म बाबा सम्झिरहेछु

अस्पतालमा छटपटाइरहँदा मैले बाबालाई पानी समेत दिन सकिनँ । त्यही पछुतोले पनि मन्दिर पुग्छु । तर तपाईंको भागमा पछुतो नपरोस् ।

कुशे औँसीको दिन म बाबा सम्झिरहेछु

काठमाडौं। ‘८ नम्बर बेडको मान्छे को हुनुहुन्छ ?’
रातको करिब ११ बजिहेको थियो, आईसीयूबाट अत्तालिएको आवाज कुरुवा बस्ने ठाउँसम्म सुनिने गरी आयो। त्यहीँ बसिरहेको मेरो कानमा त्यो आवाज बज्रसरी बज्रियो।

चिकित्सा विज्ञानले अब मेरो बाबालाई बचाउन सक्दैन भन्नेमा ढुक्क भइसकेको भए पनि उहाँलाई बिदाई गर्न तयार भइसकेकी थिइनँ। कुनै दैवी शक्तिले उहाँलाई साथ दिनेछ र सधैँजस्तै तन्दुरुस्त भएर हामीसामु आउनुहुनेछ। यस्तै कामना गरिरहेकी थिएँ म।

०७२ को चैत महीना थियो। होलीको रङहरुले काठमाडौं रंगिदै थियो। म पनि त्यसैमा रमाइरहेथेँ। एक्कासी मम्मीको फोन आयो- “बाबालाई सञ्चो भएन, फेरि प्रेसर बढेर नेपालगन्ज मेडिकल कलेजमा ल्याएका छौँ।”

त्यो पहिलोपटक थिएन त्यसरी अस्पताल लगिएको। सरकारी जागिरे बाबा कतिपटक कार्यालय जाँदा-आउँदा बाटोमै ढलेर अस्पताल लगिएको थियो। दुई-तीन पटक त उहाँलाई उपचारकै लागि भारतसम्म पुर्‍याइएको थियो।

शुरुमा त मम्मीले सामान्य अवस्था छ नै भन्नभुएको थियो। तीन, चार दिन हुँदासम्म पनि उहाँले ‘ठीक छ’ मात्र भन्नुभयो। म भने काठमाडौंमा छटपटिँदै थिएँ। अति भएपछि पाचौँ दिनमा म नेपालगञ्ज पुगेँ। अस्पताल पुग्दा बाबा अर्धचेत अवस्थामा हुनुहुन्थ्यो। धन्न मलाई चिन्नुभयो। लरबरिएको आवाजले सोध्नुभयो- “परीक्षा आउँदै छ, किन आएको ?”

बाबालाई देखेर म भावुक भएँ।
एक हप्तापछि अस्पतालले मिर्गौला र कलेजोमा समस्या छ भन्दै ‘त्रिवि शिक्षण अस्पताल, काठमाडौं’ पठायो। मम्मी र मामाले बाबालाई काठमाडौं लैजानुहुने भयो। ८ कक्षाको परीक्षा दिँदै गरेको भाइ र म घरै बस्यौं। त्यसको चार दिनपछि म पनि काठमाडौं गएँ। अस्पताल पुग्दा बाबा आईसीयूमा हुनुहुन्थ्यो। तोकिएको समयमा मात्र भेट्न पाइन्थ्यो।

बाबा आईसीयूमा। करिडोरमा हामी। अन्योल भरिएको समय। र, मात्र छटपटी।
अस्पताल जसको लागि पनि जहिल्यै अप्रिय हुन्छ, हुँदोरहेछ।
उपचारको समय लम्बिँदै जाँदा अस्पतालले एकपछि अर्को अप्रिय सूचना दिइरह्यो- दुवै मिर्गौलाले काम गर्न छोडिसकेको छ, बाँच्ने सम्भावना कम छ आदि।

हरेकपटक बाबालाई भेट्न आईसीयूमा जाँदा लाग्नथाल्यो, अब एक्लिँदै छु।
उता छोरा सञ्चो भएर फर्किने आशामा बसेका सेतै कपाल फुलेका हजुरबुबा र हजुरआमाले फोन गर्नुहुन्थ्यो। अनेकन् योजना सुनाउनुहुन्थ्यो। छोरा आएपछि यस्तो गर्ने, उस्तो गर्ने। सबैजना बाबा फर्किने बाटो हेरिरहेका थिए। बाबा भने कहिल्यै नफर्किने यात्रामा हिँडिसक्नुभएको थियो।
१८ चैत २०७२ को रात नर्सको आवाजसँगै चिसिएको मन अहिलेसम्म ओसिलै छ।

नर्सले मम्मी र मलाई बोलाएर भनिन्- “हजुरहरुको बिरामीलाई जति बेला जे पनि हुनसक्छ, अक्सिजन लेभल एकदमै कम भइसकेको छ।”
खोइ कहाँबाट आयो फ्याट्ट भन्न पुगिछु- “मसँग जति अक्सिजन छ म दिन्छु, म बचाउँछु मेरो बाबालाई।”

तर समय हाम्रो हातबाट फुत्किसकेको थियो। केही बेरमा नर्सले मम्मीको हातमा एउटा कागज थमाउँदै सहि गर्न लगाइन्। बाबाको मृत्युमा अस्पतालको कुनै हात हुनेछैन भन्ने खालको थियो क्यारे। मम्मीले एउटा हत्केलाले आँसु पुछ्दै, अर्को हातले बाबाको मृत्युको साक्षी मोहर लगाउनुभयो।

अब धेरै समय छैन भन्दै नर्सले भेट्नु भन्दै पठाएपछि मम्मी बाबालाई भेट्न जानुभयो। त्यसपछि म जाँदा उहाँ बोल्न सक्ने अवस्थामा हुनुहुन्थेन। केवल बाबाको आँखाबाट आँसुमात्रै झरे। मेरा आँखा पनि कहाँ ओभानो थियो र !

मृत्युसँगको १७ घण्टा लामो महायुद्धपछि अन्ततः बाबाले हार्नुभयो। १९ चैत २०७२ दिउँसो ३ बजे उहाँका आँखा सधैँका लागि बन्द भए।
सपनामा पनि सोच्न नसक्ने घटना यथार्थ बनिसकेको थियो।

बाबा त गइसक्नुभएको थियो, हामीलाई छोडेर। सुदूर अनन्तको यात्रामा। हामीलाई भने अझै गर्नुथियो उहाँको पार्थीव शरीरसँग १०/१२ घण्टा लामो कष्टदायी यात्रा।

जीवनसाथीको शव लिएर त्यो लामो यात्रा मम्मीले कसरी पूरा गर्नुभयो? न मैले कहिल्यै सोध्न सकेँ, न उहाँले कहिल्यै बताउनु नै भयो। परिस्थितिले मानिसलाई जब्बर बनाउँछ क्यारे।

४ जना जति भएर एम्बुलेन्समा बाबालाई लिएर बर्दियासम्मको यात्रा त तय गरियो तर मलाई घर पुग्ने मन थिएन। जतिजति घर नजिक पुग्दै गइन्थ्यो त्यति-त्यति मुटुको गति बढ्थ्यो। एम्बुलेन्सको अन्तिम सिटमा रामनामी पहेँलो कपडाले ढाकिएको बाबाको पार्थीव शरीर थियो। र अगाडि हामी सबैको निशब्द, लाचार र विवश ज्यान।

मन त थियो नि, बाबासँगै यात्रा गरिरहुँ। कतै नरोकियोस् यो एम्बुलेन्स। तर हामी त गन्तव्यसहितको यात्रामा थियौँ, बाबा पो गन्तव्यपार भइसक्नुभएको थियो।

थाहा छैन कसरी-कसरी घर पुगियो।
थाहा छैन कसरी-कसरी उहाँलाई आर्यघाटसम्म पुर्‍यायौँ।
थाहा छैन कसरी-कसरी भाई र म भएर उहाँको शान्त शरीरलाई दागबत्ती दियौँ।

मात्र यत्ति थाहा छ, त्यस दिनदेखि हाम्रो जीवनको इन्द्रेणीबाट एउटा रङ हरायो। हामी फिक्का-फिक्का बाँच्न थाल्यौँ।
आज कुशे औँसी। बाबाको मुख हेर्ने दिन। सामाजिक सञ्जालमा सबैले आफ्ना बाबाको तस्वीर राख्नेछन्। म भने बाबाको तस्वीर हेरेर उदास हुनेछु।

र, जानेछु गोकर्णेश्वर महादेव मन्दिर। सुनेको छु, पिता नहुनेले नेपालका यस्ता धेरै मन्दिर पुगेर पितालाई सम्झिएर खाना दिए स्वर्गमा बाबाले खाएसरह हुन्छ रे। मलाई विश्वास गरिदिन मनलाग्छ।

अस्पतालमा छटपटाइरहँदा मैले बाबालाई पानी समेत दिन सकिनँ। त्यही पछुतोले पनि मन्दिर पुग्छु।
तपाईंसँग त तपाईंको बाबा हुनुहुन्छ नि है ? उहाँको ओठमा पनि सन्तानको खुशी र सफलताको प्यास अवश्य छ। त्यो ओठमा सुखको लाली दल्न सक्दो प्रयत्न गर्नुस् ल। तपाईंको भागमा पछुतो नपरोस्।

तपाईंलाई नेपाल भ्यूज कस्तो लागिरहेको छ ? तपाईंले हामीलाई फेसबुक, युट्युब, ट्विटर, टिकटक मार्फत् सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।

One thought on “कुशे औँसीको दिन म बाबा सम्झिरहेछु

  1. समृदा बहिनी को सार्है मन छुने लेख। आज म पनी उदास छु। आफ्नो कर्म दिने बुवा र जन्म दिने बुवा दुवै लाई संझेर। वुबा गुमाउनुको पिडा मलाई जत्तिको कस्लाई थाहा होला र। जस्तो सुकै परिस्थितिलाई पनि सामना गर्नु पर्ने रहेछ।सायद यहि जीवन हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved