बाल्यकालीन दशैं

भात खान दशैं कुर्नुपर्थ्यो

भात खान दशैं कुर्नुपर्थ्यो

६३ वर्षअघि म्याग्दी जिल्लाको नाङी भन्ने गाउँमा जन्मेको हुँ म। त्यतिबेला हाम्रो ठाउँ नेपालको ज्यादै दुर्गममध्ये थियो। अहिलेको जस्तो बाटोघाटो र पूर्वाधार, बिजुली जस्ता सुविधा थिएनन् । म सानो हुँदा छोराछोरीलाई खासै विद्यालय पठाउने गरिँदैनथ्यो। पढ्न जानुपर्छ भन्ने कोही हुन्नथ्यो ।

हामी चाहिँ भेडाबाख्रा चराउने, घरकै काममा सघाउने र कहिलेकाहिँ स्कूल पनि जाने गर्थ्यौं। नियमित स्कूल नगए पनि अलिअलि पढ्न, लेख्न सिकेँ । नागीमा मैले पढ्दा कापी, कलमको सुविधा थिएन। शिक्षकले जे भने, जे सिकाए, त्यहि नै पढाई थियो।

मेरो बाबा कृष्ण पुन र आमा पूर्वी पुनको म जेठा छोरा हुँ। हामी ६ जना सन्तानमध्ये तीन दाजुभाई र तीन दिदीबहिनी छौं। नागीमा कक्षा आठसम्म पढेपछि मेरो पढाईकै लागि भनेर बुबा चितवन बसाइँ सर्नुभयो। त्यसपछि म चितवनमा हुर्किएँ, त्यतै कक्षा १२ सम्म पढेँ। १३ वर्षसम्म शिक्षक बनेँ।

त्यसपछि अमेरिका पढेर आएको पनि अहिले ३० वर्ष भइसक्यो। विभिन्न समयमा विभिन्न काम गर्दै अहिले राष्ट्रिय आविष्कार केन्द्रमार्फत विभिन्न वैज्ञानिक खोज अनुसन्धान गर्ने काम गरिरहेको छु ।

यो अवस्थाबाट मेरो बाल्यकाल चियाउँदा कता कता भावुक हुन्छु। अहिलेको पुस्ताले पत्याउनै नसक्ने अवस्था थियो त्यो । अधिकांश नेपालीका लागि अहिले पनि दालभातको जोहो दुखजिलो हुन्छ नै । हाम्रो समयमा भात खान दशैं नै कुर्नुपर्थ्यो ।

दशैं भन्नासाथ मानसपटलमा शुरूमा आउने नै भात हो। दशैंमा भात खान पाइन्थ्यो। लेकमा धानको खेती हुँदैनथ्यो । हामी लेकमा जन्मिएका, हुर्किएका हुनाले चाडबाडमा मात्रै भात खान पाइन्थ्यो । दशैं, तिहार, माघे संक्रान्ति, चैते दशैं जस्ता चाडमा मात्रै भात खान पाउथ्यौँ । दशैं आउँदा मासुभात खान पाइन्छ भनेर खुशी लाग्थ्यो।

उति बेला हाम्रो ठाउँमा अहिलेजस्तो दशैंमा नयाँ लुगा हाल्ने चलन पनि थिएन। टिको लगाएर पैसा दिन्छन् भन्ने पनि थाहा थिएन। दशैं र अन्य चाडबाड बाहेक हामी ढिँडो खान्थ्यौँ, तर त्यो पनि सँधै खान पुग्दैनथ्यो। पिठोको खोले, आलु खान्थ्यो। आलु फल्ने मौसममा तीन चार महीनासम्म आलु नै खाइन्थ्यो। अन्नबाली राम्रो भएन भने ढिँडो खान पनि पुग्दैनथ्यो। अन्न पर्याप्त नहुँदा पिठोलाई खोले बनाएर, साग सब्जी हालेर खाइन्थ्यो।

हामी सानो छँदा आमासँग मेरो मामाघर बाजेको (मावली हजुरबुवाको) घर जान्थ्यौ। हाम्रो घरबाट हिडेर जाँदा दुई घण्टा लाग्थ्यो। बाजेको घरमा पनि एक दुई छाक मिठो खान पाइन्थ्यो।

दशैंमा गाउँघरमा पिङ हाल्ने गरिन्थ्यो। गाउँका युवा मिलेर लिंगे पिङ खेल्थे। हामी साना केटाकेटीलाई त खासै पिङ खेल्न दिँदैनथे। जति बेला पनि ठूलाले खेल्ने भएकाले केटाकेटीको पालो नै आउँदैनथ्यो। चाडबाडका बेलामा भेडा, भैसी, खसी, कुखुराको मासु पाक्थ्यो।

दशैंमा सबैले आफ्नो संस्कार र परम्परा अनुसार पुजापाठ गर्छन्। हाम्रो ठाउँमा चाहिँ पितृ चढाउने भन्ने हुन्छ। पितृहरूलाई सम्झिने, चाडबाडमा बनाइएका खानेकुरा चढाउने गरिन्छ। अरू विशेष पुजापाठ भने हाम्रो ठाउँमा हुदैनथ्यो।

ठूलो भएपछि दशैंको रहर केटाकेटीको जस्तो नहुँदो रहेछ। व्यक्ति ठूलो भएपछि घर व्यवहार, पेशा, व्यवसायमा जोडिने भएकाले दशैं र अन्य चाडबाड साना केटाकेटीलाई ठूलो रहर हुन्छ। अहिले पनि म दशैंको मौका मिलाएर घर परिवार र आफन्तसँग भेटघाट गर्न जान्छु। तर, घर जाने मौका मिलिहाल्छ भन्ने पनि हुँदैन।

बाबा, आमाहरू चितवनमा हुनुहुन्थ्यो तर, अहिले उहाँहरू हुनुहुन्न। चितवनमा बहिनीहरू, भाईहरू छन्। मौका मिल्यो भने, समय मिल्यो भने दशैंमा घर चाहिँ गइन्छ, घेटघाटका लागि।

अहिले धेरैले दशैंको मौलिकता मेटिदै गएको चर्चा गर्छन्। मौलिकता केलाई भन्ने मुख्य कुरा हो। कुनै पनि संस्कार, रितीरिवाज सँधै एक नासको हुँदैन। विकासको क्रममा पुराना कुरा र अभ्यास बदलिँदै जान्छन्। डेढ दुई सय वर्षअघि जे जसरी चाडपर्व मनाइन्थ्यो अहिले बेग्लै तरिकाले मनाउन थालेका छन्।

चाडबाड मनाउने शैली पनि समाज अनुसार फरक हुन्छ। एक ठाउँको अभ्यास अरूका लागि नौलो हुन सक्छ। अबको सय, दुई सय वर्षपछि पक्कै पनि चाडपर्व मनाउने शैली अहिलेको जस्तो हुँदैन। रितीरिवाज, चालचलन, संस्कार समय अनुसार परिवर्तन हुँदै जान्छन्।

(राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनसँग टीका बन्धनले गरेको कुराकानीमा आधारित।)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved