पर्वतमा जीप र बस ठोक्किँदा जीप चालकको मृत्यु, १३ घाइते

नेपालभ्युज

पर्वतमा जीप र बस ठोक्किँदा जीप चालकको मृत्यु, १३ घाइते
सांकेतिक तस्वीर

पर्वत। पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित परादीमा जीप र बस ठोक्किएर भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जीपचालक बागलुङको काठेखोला गाउँपालिका–७ का ३१ वर्षीय लालबहादुर थापा मगर रहेका छन्। दुर्घटनामा परी १३ जना घाइते भएका छन्।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। उनीहरुलाई थप उपचारका लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। अन्य १० जनाको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ।

बागलुङबाट पोखराका लागि छुटेको ग १ ज ७२५६ नम्बरको टाटासुमो र पोखराबाट कुश्माका लागि छुटेको ग१ख ५२१८ नम्बरको बस ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए। जीप सडकबाट हुत्तिएर सडक बाहिरको नालीको भागमा पुगेको छ।

केही घाइतेलाई जीपभित्रै च्यापिएको अवस्थामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेका थिए। अहिले उपचार चलिरहेका कारण सबै घाइतेको पहिचान खुलिनसकेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए। ट्राफिक प्रहरी नारायण श्रेष्ठका अनुसार बस गलत दिशाबाट गुडेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved