जनकपुरधाम। देशकै सबैभन्दा बढी (२०) स्थानीय तह रहेको सर्लाही जिल्लाबाट स्थानीय तहको निर्वाचनमा १४ महिलाले अध्यक्ष वा प्रमुख पदमा उम्मेदवारी दिएका छन्।
सर्लाहीमा विभिन्न राजनीतिक दलबाट आठ र ६ स्वतन्त्र गरी १४ महिलाले अध्यक्ष वा प्रमुख पदमा उम्मेदवारी दिएका हुन्।
नेकपा (एमाले)बाट तीन तथा नेपाली कांग्रेस, नेकपा (माओवादी) केन्द्र, जनमत पार्टी, राप्रपा, राष्ट्रिय सद्भावना पार्टी र नेपाल सद्भावना पार्टीबाट एक–एक महिला पालिकाको अध्यक्ष वा प्रमुख पदमा उम्मेदवार बनेका छन्।
एमालेले बरहथवा नगरपालिकाको प्रमुख पदमा कल्पना कटुवाललाई उम्मेदवार बनाएको छ। यसअघि २०७४ को निर्वाचनमा पनि सो पालिकाको प्रमुख पदमा एमालले कटुवाललाई नै अघि सारेको थियो।
कटुवालले त्यसबेला चार हजार ८०७ मत ल्याएर तेस्रो स्थान प्राप्त गरेकी थिइन्। त्यतिबेला माओवादी केन्द्रबाट नगर प्रमुखका उम्मेदवार देवानन्द महतोले सात हजार ३०८ र कांग्रेसका निरञ्जनप्रसाद दासले पाँच हजार २७ मत प्राप्त गरेका थिए। यस पटक कटुवालले निवर्तमान नगर प्रमुख माओवादी केन्द्रका महतो र कांग्रेसका विगु चौधरीसँग प्रतिस्पर्धा गर्दैछिन्।
त्यसैगरी एमालेले चन्द्रनगर गाउँपालिकाको अध्यक्षमा संगीतादेवी महतो नुनिया र ब्रह्मपुरी गाउँपालिकाको अध्यक्षमा रीता कुमारीलाई उम्मेदवार बनाएको छ।
चन्द्रनगर गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा महिलालाई नै उम्मेदवार बनाएको छ। एमालेले चन्द्रनगर गाउँपालिका उपाध्यक्षमा दलित समूहबाट राजन्ती पासवानलाई उम्मेदवार बनाएको छ।
पहिलो पटक चन्द्रनगर गाउँपालिकामा अध्यक्षको उम्मेदवारी दिएकी संगीताले लोसपाबाट उठेका निवर्तमान अध्यक्ष महेन्द्र महतो सुडी, कांग्रेसका राजकुमार महतो, माओवादी केन्द्रका लोकेन्द्र मुखिया, जसपाका सुधीरकुमार यादव, जनमत पार्टीका किशोरी महतो सुडी लगायतसँग प्रतिस्पर्धा गर्दै छिन्।
त्यस्तै एमालेबाट ब्रह्मपुरी गाउँपालिकाको अध्यक्षमा रीता कुमारीले उम्मेदवारी दिएकी छिन्। उनले लोसपाबाट उठेका निवर्तमान अध्यक्ष विनोदकुमार साह, कांग्रेसका रामपदारथ साह, जसपाका वीरेन्द्रकुमार राय, माओवादी केन्द्रका कृष्णा राय, जनमत पार्टीका शैलेन्द्र कुशवाहा, बहुजन एकता पार्टी नेपालका देवेन्द्र रामलगायतसँग प्रतिस्पर्धा गर्दै छिन्।
त्यस्तै माओवादी केन्द्रले गोडैता नगरपालिकाको प्रमुखमा अनिता देवीलाई उम्मेदवार बनाएको छ। उनले २०७४ सालको निर्वाचनमा पनि सोही पदमा दुई हजार ३९७ मत ल्याएकी थिइन्।
त्यहाँ तत्कालीन राजपाबाट निवर्तमान नगर प्रमुख देवेन्द्रकुमार यादवले तीन हजार ९०२ तथा कांग्रेसका उपेन्द्रप्रसाद कुशवाहाले तीन हजार ६७४ मत प्राप्त गरेका थिए। उनले यो पटक पनि यसअघिका निर्वाचित नगर प्रमुख लोसपाका यादव, कांग्रेसका कुशवाहा लगायतसँग नै प्रतिस्पर्धा गर्दै छिन्।
त्यसैगरी कौडेना गाउँपालिकामा जनमत पार्टीबाट सावित्री धिताल तथा राष्ट्रिय सद्भावना पार्टीबाट ५१ वर्षीया अर्चनादेवी गिरीले अध्यक्षमा उम्मेदवारी दिएका छन्।
उनीहरूले निवर्तमान अध्यक्ष लोसपाका रामप्रसाद राय यादव, कांग्रेसका रुपेशकुमार, जसपाका राज नन्दनप्रसाद, माओवादी केन्द्रका महादेव साह, एमालेका श्यामप्रसाद चौधरी कलवार लगायतसँग प्रतिस्पर्धा गर्दैछन्।
त्यसैगरी हरिवन नगरपालिकामा नेपाल सद्भावना पार्टीबाट ५५ वर्षीया बचवीदेवी साह तेली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ६५ वर्षीया राधाकुमारी बरालले हरिपुर नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएकी छन्।
हरिवनकी तेलीले निवर्तमान नगर प्रमुख एमालेका गणेश प्रसाद प्रसाईं कांग्रेसका रामप्रसाद मैनाली, माओवादी केन्द्रका रमेश बुढाथोकी (कमल), नेकपा एकीकृत समाजवादीका सुरेन्द्र लामा लगायतसँग प्रतिस्पर्धा गर्दैछिन् भने हरिपुरकी बरालले निवर्तमान मेयर एकीकृत समाजवादीका जमिरुद्दिन मंसुर, कांग्रेसका गोपाल पँजियार, एमालेका यादव सरकार, माओवादी केन्द्रका सुनिल बुढाथोकी, लोसपाका रामचन्द्र साह, जनमतका राजेन्द्ररायलगायत उम्मेदवारसँग प्रतिस्पर्धा गरिरहेका छन्।
त्यस्तै बागमती नगरपालिकाको प्रमुख पदमा ४३ वर्षीया धनकुमारी खड्का पौडेलले स्वतन्त्र उम्मेदवारी दिएकी छन्। जिल्लामा उनीसहित ६ महिलाले पालिका प्रमुखको रुपमा उम्मेदवारी दिएका हुन्।
पालिका प्रमुखमा ६ स्वतन्त्र सहित १४ जना तथा उपप्रमुखमा भने २० जना स्वतन्त्रसहित १४१ जना महिलाले उम्मेदवारी दिएका मुख्य निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले जनाएको छ।
सर्लाहीमा कूल चार लाख ७४ हजार ४३९ मतदाता छन्। तीमध्ये दुई लाख ५७ हजार १३८ पुरुष तथा दुई लाख १७ हजार २९२ महिला र नौ जना तेस्रो लिङ्गी मतदाता रहेका जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ।
Facebook Comment
Comment