हेटौंडा। बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकाको मेयरका लागि गठबन्धनबाट एकीकृत समाजवादी पार्टीबाट मीना कुमारी लामाले उम्मेदवारी दिने भएकी छन्। उनको प्रतिस्पर्धामा नेकपा एमालेबाट अनन्त पौडेलले उम्मेदवारी दिन लागेका छन्।
लामा अहिलेकी उपमेयर हुन्। उनी नेकपा एमालेबाट उपमेयरमा विजयी भएकी थिइन्। उनले त्यतिबेला २३ हजार ४ सय ३७ मत ल्याएकी थिइन्। २०७४ मा गठबन्धनबाट नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका बलराम बललाई उनले ६ हजार ४ सय २६ मतले पराजित गरेकी थिइन्।
अहिले अवस्था फरक छ। नेकपा एमाले विभाजन भएपछि एकीकृत समाजवादी रोजेकी लामाले मेयरको टिकट नै पाइन्। एकीकृत समाजवादीले संगठन संरचना अझै पनि बलियो बनिनसक्दै उसले हेटौंडाको मेयरको टिकट पायो।
नेकपा एमालेले पनि यो पटक ‘हेभिवेट’ उम्मेदवार उठाएको छ। अनन्त पौडेल दोश्रो संविधानसभा सदस्य हुन्। संविधान निर्माण भइसकेपछि राजनीतिबाट ओझेल परेका उनलाई एमालेले यो पटक उपमहानगर मेयरको टिकट थमाइदिएको छ।
केन्द्रीय नेतृत्वमा राम्रो पहुँच भएकै कारण उनले टिकट पाएको भन्ने आरोप उनलाई अझै छ। वर्तमान मेयर हरिबहादुर महतको दाबेदारी बलियो रहेको एमालेजनमा आकलन भए पनि पौडेलले टिकट पाए।
कांग्रेसको असन्तुष्टि
नेपाली कांग्रेसको एउटा पक्षलाई उम्मेदवारी मनोनयनको दिनसम्म पनि केन्द्रीय नेतृत्वले निर्णयमा पुनर्विचार गर्नेछ भन्ने विश्वास थियो। तर, गठबन्धनको तर्फबाट मेयरमा लामाले उम्मेदवारी दर्ता गराउने भएपछि त्यो समूह मौन छ। कांग्रेसको निकै ठूलो तप्का अझै पनि असन्तुष्ट नै छ।
कांग्रेसले शुरुदेखि नै हेटौंडाको मेयरको टिकटका लागि ‘लबिङ’ गरेको थियो। केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको गृहनगर भएको आधारमा पनि हेटौंडा कांग्रेसले पाउने अपेक्षा कांग्रेस कार्यकर्ताहरूले गरेका थिए।
तर, पार्टीभित्रको आन्तरिक विवादका कारण समाजवादीले टिकट पाएको बुझाइ कांग्रेसी कार्यकर्ताहरूको छ। “जिल्ला अधिवेशनबाटै संस्थापन पक्षमा स्पष्ट दुई धार देखियो। अहिले त्यसैको असर हेटौंडाको टिकटमा देखियो,” कांग्रेसको जिल्लास्तरीय एक नेताले भने, “यसले अन्ततः पार्टीलाई नै घात गर्छ। कार्यकर्ताको मन विभाजित भएको छ।”
नेपाली कांग्रेसबाट मेयरका आकांक्षी आनन्दराम पराजुलीले नै स्पष्ट रूपमा कांग्रेसीहरू असन्तुष्ट रहेको बताइसकेका छन्।
“अघिल्ला निर्वाचनहरूमा पनि अन्य पार्टीसँग गठबन्धन गर्दा हाम्रो संगठनमा धक्का पुगेको थियो,” नेपालभ्यूजसँगको कुराकानीमा पराजुलीले भने,”कार्यकर्ता र मतदाताको माग हेटौँडामा कांग्रेसलाई मेयर बनाउने भन्ने छ। तर, थोरै मत भएको पार्टीलाई मेयर दिइएको छ। आधारसमेत राम्रोसँग नबनिसकेको पार्टीलाई मेयर दिँदा कांग्रेसको मतदाता नेतृत्वसँग टाढिने हुन सक्छ। त्यसकारण कांग्रेसको संगठनमा यसले ठूलो असर पार्न सक्छ।”
पराजुलीले टिकट पाउनुपर्छ भन्नेमा नगर कमिटीको अधिकांशको मत सकारात्मक थियो।
अघिल्लो गठबन्धनको उल्टो नतिजा
२०७४ सालमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच भएको गठबन्धनले उल्टो नतिजा दिएको थियो। गठबन्धनबाट उम्मेदवार बनेका पराजुली ६१५ मतले पराजित भए। जबकि सात हजारभन्दा बढी मत बदर भएको थियो। बदर मत मतदाता शिक्षाको कमीले नभई गठबन्धन प्रतिको असन्तुष्टि रहेको बुझ्न सकिन्छ।
यो पटक पनि त्यस्तै अवस्था आउन सक्ने आकलन गरिएको छ। “अहिले कार्यकर्ताहरूलाई सम्झाएर लैजान एकदमै गाह्रो छ,” पराजुली नै स्विर्काछन्, “क्रियाशील सदस्यहरूले त सम्झिनुहोला तर आम जनता जसले नेपाली कांग्रेसलाई मत दिने योजना बनाउनुभएको थियो उहाँहरूलाई बुझाउन गाह्रो छ।”
हेटौंडाका लागि माओवादीबाट उपमेयरका उम्मेदवार बनेका बलराम बल अहिले एमाले प्रवेश गरिसकेका छन्। बलले त्यतिबेला मेयरका उम्मेदवार पराजुलीभन्दा निकै कम मात्रै मत ल्याएका थिए। बलले १७ हजार ११ मत ल्याएका थिए। जबकि पराजुलीले २२ हजार ५ सय ९ मत ल्याएका थिए। यसर्थ पनि गठबन्धनको नतिजा प्रत्युत्पादक हुन सक्ने सम्भावना देखिन्छ।
बलियो एमाले संगठन
एमाले मकवानपुरको जिल्ला अधिवशेनबाट पार्टीको आन्तरिक राजनीतिमा धेरै असर परे पनि मकवानपुरमा एमालेको संगठन बलियो मानिन्छ।
अघिल्लो पटक माओवादी र कांग्रेसबीच गठबन्धन हुँदा नै एमालेका उम्मेदवार हरिबहादुर महतले २३ हजार १२४ मत ल्याएका थिए। त्यतिबेला हेटौंडाको कूल मत ८३ हजार ५ सय ९७ रहेको थियो। अहिले मतदाता संख्या बढेर १ लाख ४ हजार ४ सय ७३ पुगेको छ।
एमाले जिल्ला अधिवेशनमा अध्यक्षमा एकालाल श्रेष्ठलाई सर्वसम्मत बनाउन पौडेलले खेलेको भूमिकाको सम्मान गर्दै उनलाई हेटौंडा उपमहानगरपालिकाको टिकट दिइएको हो। उनी शुरुदेखि नै केपी ओली पक्षका नेता हुन्।
जिल्लामा ओलीइतर पक्षका बद्री लम्सालले आफ्नो दाबी रहँदै जिल्ला अध्यक्ष घोषणा गरिएकोमा विरोध गरे पनि केही दिनमा त्यो विरोध सेलाएर गयो। जिल्लामा एमालेलाई एकीकृत बनाएर राख्ने केही नेताहरूमध्ये पौडेल पनि एक हुन्।
मतको अंकगणित
अघिल्लो पटकजस्तै मतदानमा असन्तुष्टि जाहेर भएन भने गठबन्धनले जित्ने लगभग निश्चित छ। कांग्रेसको संगठन पछिल्लो समय जिल्ला र नगरमा बढेको छ।
समाजवादी हालै मात्रै गठन भएको भए पनि सबै वडाहरूमा यसले संगठन विस्तार गरिसकेको छ। माओवादी केन्द्रले पनि समर्थन गर्ने भएपछि गणितीय रूपमा मेयरमा गठबन्धनले जित्ने पक्का जस्तै छ।
तर, कार्यकर्ताको असन्तुष्टि एमालेले ‘क्यास’ गर्ने सम्भावना पनि उत्तिकै छ। अहिले देखिएको असन्तुष्टिलाई एमालेले राम्रोसँग नियालिरहेको छ। यो असन्तुष्टि मतदानमा पोखियो भने एमालेको जित निश्चित छ।
जिल्लाको अन्य पालिकामा पनि गठबन्धन भएको छ। यद्यपि हेटौंडाको चासो अधिक छ। गठबन्धनलाई एमालेको चुनौती त्यति सहज भने देखिन्न।
यो पनि पढ्नुहोस्
Facebook Comment
Comment