मानव जातिको उत्पत्तिसँगै हरेक युगका मानिसहरूले ‘इतिहास’ रच्ने काम गरे। तीमध्ये कतिपय इतिहास लिखतमा आएनन्, कतिपयचाहिँ आए। अधिकांशत: शासकहरूकै इतिहास लेखिए र समाजको पिँधमा थिचिएर बसेका वर्गहरूका इतिहास भने लेखिएनन् खासै। उनीहरूका संघर्ष-गाथा लिपिबद्ध भएनन् कतै।
एक्काइसौं शताब्दीको सुरुवात यसरी भयो, समाजमा वर्षौंदेखि दबिएर रहेका वर्गहरू विमर्शको केन्द्रमा आए। दलित, महिला, जनजाति, आदिवासीहरूले सदीयौंदेखि झेलेका पीडा अभिव्यक्त गर्ने मञ्चहरू पाउन थाले। सामाजिक हक, न्याय र अधिकारको पक्षमा आफूलाई उभ्याउन सक्षम देखिए उनीहरू। साहित्य लेखनमा पनि तिनै वर्गका जीवन-संघर्षका अनेक आयाम अभिव्यक्त हुन थाले। यो सुखद् पक्ष रह्यो।
कथासर्जक केशवराज ज्ञवालीको सद्य प्रकाशित कथाकृति ‘अर्को भोर’ मा पनि तिनै वर्गका विगत र वर्तमानका सजीव तस्बिर नियाल्न सकिन्छन्। अचेल अमेरिकामा रहेका कथासर्जक ज्ञवालीले समाजका अनेक वर्गलाई आफ्नो लेखन-धरातलमा उभ्याउनुका साथै लेखनमा नेपाली र अमेरिकी समाजबीचको तुलनात्मक अध्ययनसमेत गरेका छन्।
जातीय र नश्लीय आधारमा संसारमा भइरहेका तमाम विभेदलाई सतहमा ल्याउने उनको कथा हो- ‘तीन बराबर पाँच’। जातीय र नश्लीय चेतना एवं क्रिया व्याप्त रहेको समाजमा कथित तल्लो जातका मानिस न्याय, समानता, स्वतन्त्रताजस्ता पक्षबाट सदैव वञ्चित रहँदै आएका छन्। चाहे नेपाली समाजका दलितहरूले भोग्दै आएको पीडाको आयामलाई केलाउँदा होस् वा अमेरिकी समाजमा काला जातिहरूले वर्षौंदेखि सहँदै आएको अपमानको गहिराइ नाप्दा होस्। कथांशअनुरुप पश्चिम नेपाल बाजुराका एक बालकले जातीय विभेदले निम्त्याएको गहन पीडासँग साक्षात्कार गर्नुपर्यो। कथित उच्च जातका युवासँग आफ्नी दिदीको उठबस भएपछि बुबाले भोग्नुपरेको सामाजिक अपमान र दिदीले आत्महत्या गर्नुपर्ने परिस्थिति मात्र जन्मिँदैन, वर्षौंदेखिको थातथलो छाडेर नेपालगञ्जमा विस्थापित हुन पुग्छन्, सपरिवार नै।
पछिल्लो चरण तिनै युवा रोजगारको सिलसिलामा अमेरिका पुग्छन्। उनले अमेरिकाको जुन ठाउँमा काम गर्छन्, त्यो ठाउँमा हरेक दिन काला जातिका एक मानिस आउँछन् र ‘३ बराबर ५’ लेखेर जान्छन्। ती अपरिचित मानिसले लेखेका अंकबारे अनभिज्ञ हुन्छन् उनी। तर ती मानिसको लेखाइबारे आफूमा उत्पन्न जिज्ञासालाई मेटाउन चाहन्छन् उनी। काला जाति भएकै आधारमा प्रहरीद्वारा निर्दयतापूर्वक हत्या गरिएका आफ्ना सत्र वर्षिय छोराको पीडा झेलिरहेका ती मानिसले भन्छन्, ‘म इतिहासको शिक्षक हुँ। अमेरिकाको इतिहास’ एकछिन रोकियो र आँसु पुछ्यो। सन् १७८७ मा जनगणना गर्दा ठूलो विवाद भयो। कालालाई गन्ने कि नगन्ने भनेर। राजनीतिज्ञहरू जम्मा भए र सहमतिमा पुगे। कालाहरूलाई पूरै मान्छेको रुपमा गन्न मिल्दैन। पाँच जना कालाहरूलाई, तीन जना गोरा मान्छे बराबर गन्न मिल्छ। यसरी कानुनी रुपमै कालाहरूलाई पूरै मान्छे मान्न इन्कार गरियो।’ उसले मतिर हेर्यो।’
संसारको जुनसुकै कुनामा बस्ने भए पनि जातीय वा नश्लीय विभेदले मानव जातिमा थोपर्ने पीडाको तह एउटै हुँदो रहेछ। कथा-व्यथा एउटै हुँदा रहेछन्। यो कथाको सार यही नै हो।
मुख्य एजेन्डाबाट पर भाग्दैनन्, कथासर्जक। जसको दृष्टान्त हो- ‘रामकथा’। पूर्वीय समाजका पौराणिक पात्र थिए- राम र सीता। मिथकले भन्दछ- रामले चौध वर्ष वनवासमा बिताएका थिए र त्यही क्रममा सीताले अथाह दु:ख झेलेकी थिइन्। आदिकालीन सीताले जस्तै कथा र व्यथा भोग्ने सीताहरू वर्तमान समयमा पनि नेपाली समाजमै प्रशस्तै छन्। वैदेशिक रोजगारीमा गएका आफ्ना पति चौध वर्षयता बेखवर रहँदा एउटी महिलाले झेल्नुपरेको पृष्ठभूमिमा यो कथा लेखिएको छ।
विगतको द्वन्द्वकालीन समयमा नेपाली समाज पूरै छिन्नभिन्न हुन पुग्यो। आतंक र त्रासका उल्झनमा फसेका ग्रामीण भेगका अनेक मानिस आफ्नो थातथलोमा बस्ने वातावरण पूरै बिथोलियो। पलायनको मार्ग अपनाए, अधिकांशले। तिनै आतंकको लोहोरोमा पिसिएका राम वैदेशिक रोजगारीका लागि कतार पुग्छन्। दस वर्षसम्म सीताको सम्पर्कमा रहे पनि त्यसयता भने उनी सम्पर्कविहीन छन्। पेसाले पत्रकार रहेका बालसखा मनुबाबु गाउँ जाँदा सीताले उनलाई आग्रह गर्दै भन्छिन्, ‘मेरो राम कतारमा छ, उसको कुनै अत्तोपत्तो छैन, तिमी पनि पत्रकारिताका लागि कतार जान लागेका रहेछौ। मेरो रामलाई खोजिदेऊ है।’
वैदेशिक रोजगारका दुवै पाटा छन्- अँध्यारा र उज्याला। बर्सेनि भित्रिने विप्रेषणले नेपाली अर्थतन्त्रलाई चलायमान तुल्याउन अनगिन्ती भूमिका खेल्दै आएको छ। यस्तो उज्यालो पाटो हुँदाहुँदै पनि यो कथाले भने मूलत: वैदेशिक रोजगारको अँध्यारो पाटोलाई उधिन्न अग्रसरता लिएको छ।
वेश्यावृत्ति गरिबी र अभावको उच्चतम रुप हो। कुनै महिलाले वेश्यावृत्तिलाई रहरको रुपमा अपनाउँदैनन्। जीवन निर्वाहका सरल बाटाहरू थुनिएपछि वेश्यावृत्तिजस्तो आफ्नै शरीर बेच्ने पेसाप्रति आकृष्ट हुन बाध्य हुन्छन्, महिलाहरू। ‘मास्क’ शहरमा वेश्यावृत्ति अपनाएर बसेकी एउटी निम्छरी महिलाको कथा हो।
२०७६ सालको मध्यान्तरपछि सिंगो विश्वलाई नै कोभिड-१९ को कहरले नराम्ररी गाँज्यो। चीनको एउटा प्रान्तबाट सुरु भएको महामारीले नेपाललाई पनि नगाँजी राख्न सकेन। सोही वर्षको चैतको दोस्रो हप्तादेखि हामीकहाँ पनि लकडाउन सुरु भयो। लकडाउनपछि मानिसहरूको दैनिक क्रियाकलापमा पूरै फेरबदल आयो। दिनहुँ श्रम गरेर बाँच्नेहरूलाई लकडाउन घातक सावित हुन थाल्यो। धेरैका चुलो बल्न छाडे। वेश्यावृत्ति अपनाएकी ती महिलाले लकडाउनमा झेल्नुपरेको अभावलाई केन्द्रविन्दुमा राखेर लेखिएको यो कथाले एकातिर शहरमा श्रम गरेर बाँच्नेहरूको दयनीय अवस्था उजागर गर्दछ भने अर्कोतिर वेश्यावृत्तिलाई हेर्ने नजर पनि स्पष्ट हुन्छ। मूलत: यसमा महानगरीय जीवनका उत्पीडित वर्गको कथा वाचन गरिएको छ।
नेपाली समाजमा एउटा त्रासले घनीभूत आकार लिइरहेको छ, केही दशकयता। त्यो त्रास हो- सन्तानहरूको विदेश पलायन। ‘रुख र चराहरू’ प्रतीकात्मक रुपमा रुख छाडेर उड्ने चराहरूप्रति लक्षित छ। अर्थात् विदेश पलायन हुनेहरूप्रति। मूलत: उच्च र मध्यम वर्ग यो त्रासबाट धेरैभन्दा धेरै घेरिएका छन्। दसकौंयता व्याप्त यो त्रास झन् फैलिँदो छ।
हुन त, नयाँ पुस्ताले शैक्षिकलगायत अरू अवसरका निम्ति बाह्य भूगोल चयन गर्नुलाई अन्यथा ठान्न मिल्दैन। किनकि हरेक नयाँ पुस्ताले नयाँ क्षितिज पर्गेलिरहेका हुन्छन्। नयाँ नयाँ क्षितिजलाई पार गर्ने र विचरण गर्ने मानवीय स्वभाव नै हो। तर यति हुँदाहुँदै पनि रुखलाई बिर्सने बचेराहरू बढ्दै छन् हामीकहाँ र रुखहरूले उदासीको जिन्दगी बाँच्नु परिरहेका छन्। यी शब्दहरू हेरौं, ‘ठूलो वर्षात भयो, रुख उभिइरह्यो जहाँको तहीँ, ओत दिइरह्यो। ठूलो असिनाले चुट्यो रुखलाई। आफ्नो बचेराको गुँड जोगाइरह्यो। आफ्ना जराहरू परपरसम्म फैलायो। ठूला चट्टानहरू फोर्यो। फुल्यो, फल्यो सबै बचेराको खुसी। एकदिन बचेरो गुँडबाट निस्क्यो र भुर्र उड्यो। अलि पर पुगेर फर्केर आयो।’
कवि शैलेन्द्र साकारले केही वर्ष अमेरिकामा बिताए। अमेरिकी समाजलाई निकटबाट बुझे पनि। उनले अमेरिकामाथि केही कविता पनि लेखेका छन्। डायस्पोरिक साहित्यको अवस्थाबारे उनले यो पंक्तिकारलाई भनेका थिए, ‘केही मानिस देश बाहिर छन् तर उनीहरूले देशभित्रकै कुरा साहित्यमा लेखिरहेका छन्। केही मानिस भने देश बाहिर जहाँ-जहाँ बसेका छन्, त्यही समाजका कथा लेखिरहेका छन्।’
डायस्पोरिक लेखनको सन्दर्भ उप्काउँदा कथासर्जक ज्ञवालीको कथा भने दोबाटोमा उभिएका देखिन्छन्। उनले केही डायस्पोरिक साहित्य लेखेका छन्, केही देशभित्रकै कथा। आफू बाँचेको र हुर्किएको परिवेशको कथा। ‘लय’ भने पूर्णत: डायस्पोरिक स्वाद दिने कथामा दरिन पुगेको छ। अमेरिकी-स्वप्न सँगाल्दै अमेरिका पुगेका युवा-युवतीबीचको सम्बन्ध र उनीहरूमा व्याप्त महत्वाकांक्षालाई केन्द्रमा राखेर लेखिएको यो कथाले नेपाली र अमेरिकी समाज र संस्कृतिबीच लेखाजोखा गरेको छ।
परम्परागत रुपमा बाँचेको समाज र पछिल्लो समय निर्मित समाजबीच आ-आफ्नै सांस्कृतिक भिन्नता हुन्छन्। यी दुई समाजबीच तादाम्य मिल्दैन, तत्कालै। समय लाग्छ। यो कथाले सांस्कृतिक अन्तरको रहस्य त खोलेका छन् नै, त्यसभन्दा बढी विदेसिने नेपालीहरूमा बढ्दै गएको महत्वाकांक्षाको पनि सजीव र संग्लो चित्रण छ।
सुखद् भविष्यको परिकल्पना कोर्दै नेपाललगायत तेस्रो विश्वका मानिसहरू अमेरिका जान लालायित रहँदै आएका छन्। कोही अनेक दु:ख, कष्ट झेल्दै भारत, टर्की, निकारागुवा, एल साल्भाडोर, ग्वाटेमाला र मेक्सिको हुँदै दलालहरूको सहारा लिएर अमेरिका पुग्छन्। कोही अनेक तरिका अपनाएर पुग्छन्, अमेरिका। विगतमा कोही-कोही त नेपालको अस्थिर राजनीति र द्वन्द्वको बहाना बनाएर पनि अमेरिका पुगे।
‘खत’ मा गैरकानूनी रुपमा अमेरिका पुगेका र ग्रिनकार्डको प्रक्रियामा जुटेका एउटा युवाको कथा छ। तर, नेपालमा आमाको मृत्यु भएपछि शोकले विक्षिप्त बनेका ती युवा ग्रिनकार्डको मोहमा नलागी नेपाल फर्किन आतुर हुन्छन्। आमाको मृत्युले निराशाको सँघारमा उभिएका एउटा युवाभित्रको मनोवैज्ञानिक छट्पटीलाई उघिन्न यो कथा अग्रसर देखिएको छ।
‘सुगन्ध’ भने भागी विवाहपछि आफ्नै संसारमा रमेका युगलको वियोगान्त कथा हो। मृत्युका दिनहरू गनिरहेकी एउटी महिलाले जीवनको अन्तिम क्षणहरूमा झेलेको मनोदशा यो कथामा अंकित छन्। दाम्पत्य जीवनको रम्यतासँगै गहन जीवनबोधको स्केच उतार्नसमेत सक्षम देखिएको छ, यो कथा। पत्नी-वियोगका दिनहरू गनेर बसेका उसका पति भन्छन्, ‘प्यारी, मैले आज कैयौं पटक मेरो नाम यो बालुवामा लेखेँ तर हरेक पटक कठोर लहरहरूले त्यसलाई मेटाइरहे। जीवन यस्तै समयको लहरहरू बिचको भोगाइ रै’छ।’ कृतिका चौधै कथा आ-आफ्नो धरातलमा जमेका छन्।
कथासर्जक ज्ञवालीको लेखन विशेषता केमा देखिन्छ भने उनी व्यक्तिका निजी अपेक्षा, आकांक्षा, समस्या, आशा र नैराश्यतालाई पहिचान गर्दै, त्यसलाई टिपनटापन पार्दै कथातत्वले मिहीन रुपमा सिँगारपटार गरेर सुन्दर सिर्जना जन्माउने प्रयत्न गर्दछन्। सभ्यता र संस्कृतिबीचको द्वन्द्व, दलित र नारीले झेल्नुपरेका पीडाका आयामका साथै सघन जीवनबोध उनका कथामा रेखांकित छन्। अत: उनको कथावस्तुको परिपक्वता समृद्ध शिल्प र भाषागत पक्षहरूमा फेला पार्न सकिन्छन्।
पुस्तक : अर्को भोर
विधा : कथा
कथाकार : केशवराज ज्ञवाली
प्रकाशक : शिखा बुक्स, काठमाडौं
पृष्ठ : १९८
मूल्य : ३२५।-
-विवश वस्ती
Facebook Comment
Comment