रुस-युक्रेन युद्धविरामबारे ट्रम्पको प्रस्ताव पुटिनले गरे अस्विकार

नेपालभ्युज

रुस-युक्रेन युद्धविरामबारे ट्रम्पको प्रस्ताव पुटिनले गरे अस्विकार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामका लागि गरेको प्रस्ताव रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अस्वीकार गरेका छन् । ट्रम्पले रुस–युक्रेन युद्धमा सम्भावित युद्धविरामको विषयमा पुटिनसँग बिहीबार फोनमा कुराकानी गरे पनि युद्धविरामबारे कुनै प्रगति हुन नसकेको बताएका छन् ।

चुनावी अभियानका क्रममा आफ्नो दोस्रो कार्यकालको पहिलो २४ घण्टामै युद्ध अन्त्य गर्ने बारम्बार दाबी गर्दै आएका ट्रम्पले यस पटक भने वार्ताबाट कुनै सकारात्मक नतिजा ननिस्किएको स्वीकार गरेका हुन्। “हामीले फोनमा निकै लामो कुराकानी गर्‍यौँ । हामीले इरानलगायत धेरै कुरा गर्‍यौँ,” ट्रम्पले पत्रकाहरूसँग भने, “युक्रेनसँगको युद्धबारे पनि कुरा भयो । तर म यसबाट खुसी हुन सकिनँ ।”

पुटिनका सहयोगी युरी उशाकोभले वार्ताको जानकारी दिँदै दुई नेताबीच “स्पष्ट र सारगर्भित” कुराकानी भएको बताएका छन्। ट्रम्पले रुस-युक्रेन युद्धमा तत्काल युद्धविरामको सम्भावना उठाए पनि पुटिन सहमत नभएको उशाकोभले जानकारी दिए। पुटिनले रुसले द्वन्द्वमा “आफ्ना घोषित उद्देश्यहरू पूरा गर्ने” र वार्तामार्फत द्वन्द्वको राजनीतिक समाधान खोजिरहेको पनि बताए ।

यसअघि ट्रम्पले गत महिना इजरायल-इरान द्वन्द्वबारे पुटिनसँग कुरा गरेको ट्रुथ सोसल पोस्टमार्फत सार्वजनिक गरेका थिए। उनीहरूले मे महिनामा पनि युक्रेन-रुस युद्धबारे छलफल गरेका थिए। रुस र युक्रेनका प्रतिनिधिहरूबीच मे महिनामा इस्तानबुलमा प्रत्यक्ष वार्ता भए पनि त्यसबाट कुनै सफलता प्राप्त भएको थिएन।

युक्रेनमा मिसाइल र गोला बारुद ढुवानीमा अमेरिकाले गरेको अस्थायी रोकबारे पत्रकारहरूले सोधेको प्रश्नमा ट्रम्पले रोक लगाएको कुरा अस्वीकार गरे। एनबीसी न्यूज

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved