ब्रेक–सूमा सुन तस्करी प्रकरण : अमला रोकालाई २ लाख धरौटी

नेपालभ्युज

ब्रेक–सूमा सुन तस्करी प्रकरण : अमला रोकालाई २ लाख धरौटी

काठमाडौं । ब्रेक–सूमा राखेर भएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणकी मुख्य अभियुक्त अमला रोकासँग काठमाडौं जिल्ला अदालतले २ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

न्यायाधीश बलराम लम्सालको इजलासले सोमबार उनीविरुद्ध धरौटी मागेको अदालतका सूचना अधिकारी दीपक श्रेष्ठले जानकारी दिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले रोकालाई गत शुक्रबार टोखाबाट पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो । आइतबार बकपत्र गराइएको तर बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

गएको २ साउन २०८० मा राजस्व अनुसन्धान विभागले ब्रेक–सूमा लुकाएर ल्याइएको ६० किलो ७१६ ग्राम सुन बरामद गरेको थियो ।

धरौटी रकम जम्मा गरेपछि रोकालाई प्रहरीले भने पुनः पक्राउ गरेको छ ।

सम्पत्ति शुद्धीकरण मुद्दामा पनि उनीविरुद्ध अनुसन्धान गर्नुपर्ने भएकाले पुनः पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

प्रहरीका अनुसार रोकाका श्रीमान् तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ यो तस्करी गिरोहका मुख्य व्यक्ति हुन् । उनीसहित भोला साह र जीवन चलाउने अझै फरार छन् ।

पहिलो चरणमा २९ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो भने दोस्रो चरणमा ६० जना प्रतिवादी बनाइएको छ । ब्रेक-सूबाहेक अन्य इलेक्ट्रोनिक सामानमा पनि २ हजार ८३१.८९ किलो सुन तस्करी भएको सीआईबीको अनुसन्धानले देखाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved