कैलालीमा कैदीको मृत्यु प्रकरण : नेपाल प्रहरीका सई पक्राउ

नेपालभ्युज

कैलालीमा कैदीको मृत्यु प्रकरण : नेपाल प्रहरीका सई पक्राउ
फाइल तस्वीर

काठमाडौं । कैलाली कारागारका कैदीको मृत्यु भएको घटनामा नेपाल प्रहरीका एकजना प्रहरी नायब निरीक्षक (सई)लाई पक्राउ गरिएको छ ।

सई हरजित नाथलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजकुमार सिंहले नेपालभ्युजलाई जानकारी दिए ।

डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिशसिंह पालीको मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत सई नाथविरुद्ध जोहरी परेपछि अनुसन्धानका लागि उनलाई पक्राउ गर्नुपरेको उनले बताए ।

‘पक्राउ गरेर उहाँ (सई नाथ)लाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उहाँमाथि अनुसन्धान भइरहेको छ,’ डीएसपी सिंहले भने ।

सई नाथ मृतक पाली प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दाका वादीसमेत हुन् । नाथले नै हालेकाे मुद्दामा आधारमा पालीलाई कैलाली जिल्ला अदालतले २०८० सालको फागुनमा १० दिन कैद र दुई लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।

मृतककी श्रीमती जानकी साउदले नाथकै योजनामा कारागारभित्र कुटपिट गरि श्रीमानको हत्या गरिएको आरोप लगाउदै बुधबार कारागार प्रमुख वसन्तबहादुर खत्रीसहितका पाँच जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । तर कैलाली प्रहरीले उनलाई जाहेरी सच्याएर ल्याउन भनेपछि बिहीबार भने नाथविरुद्ध मात्र जाहेरी दिएको बताइएको छ ।

पाली गत जेठ २ गते राति कारागारकाे बाथरुमनजिकै अचेत अवस्थामा भेटिएका थिए । तत्काल सेती प्रादेशिक अस्पताल लगिएकोमा सोही राति उनको मृत्यु भएको थियो ।

मृतक पालीका शरीरमा चोटपटक समेत देखिएका कारण परिवारले उनको योजनाबद्ध हत्या गरेको आशंकासहित उजुरी दिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved