काठमाडौं । इरान र इजरायलबीच युद्ध चर्किएपछि इजरायलमा रहेका नेपालीहरूको सुरक्षाबारे चासो उठिरहेका बेला परराष्ट्रमन्त्री आरजु राणा देउवाले सोमबार काठमाडौंस्थित इजरायली राजदूतसँग जानकारी लिएकी छिन् ।
परराष्ट्रमन्त्री राणाको सचिवालयका अनुसार उनले नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बाससँग इजरायलमा रहेका नेपालीहरूको अवस्थाबारेमा जानकारी लिँदै उनीहरूलाई पर्न सक्ने आवश्यक सहायता र सुरक्षित अवस्थाका लागि आग्रह गरेकी छिन् । त्यस अवसरमा राजदूत बासले हाल त्यहाँस्थित नेपालीहरू सुरक्षित रहेका जानकारी गराउनुभएको थियो ।
आइतबार मात्र परराष्ट्र मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेर इजरायल र इरानमा रहेका नेपालीहरु सुरक्षित रहेको जानकारी गराएको थियो । पछिल्ला केही दिन इरान र इजरायलबीच विकसित घटनाक्रमका सन्दर्भमा मन्त्री डा राणाले तेल अभिभ र दोहास्थित नेपाली राजदूतहरूलाई टेलिफोन सम्पर्क गरी त्यहाँ स्थित नेपाली नागरिकको सुरक्षामा ध्यान दिन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
इजरायलमा साढे पाँच हजार नेपाली रहेका छन् । उता इरानमा १२ जना नेपाली रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
Facebook Comment
Comment